Tuesday September 27, 2022

भूकम्प गएको ३ वर्षपछि २ लाख ७० हजार घर पुनर्निर्माण भए

१० भाद्र, २०७५ शीतलपाटीन्युज डटकम 7518



शीतलपाटीन्युज डटकम, काठमाडौं

२०७२ सालको महाभूकम्प गएको ३ वर्षपछि २ लाख ७० हजार घर पुनर्निर्माण भएका छन् । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको आँकडा अनुसार ५ लाख ४१ हजार ७ सय घर बनिरहेको अवस्थामा छन् । 

भूकम्पपछि अति प्रभावित १४ जिल्लामा ७ लाख ७ हजार ४ सय ४३ र कम प्रभावित १८ जिल्लामा १ लाख ४३ भूकम्प प्रभावित परिवार अनुदान पाउने सूचीमा परेका थिए । 

यस्तै घर आंशिक क्षति भएर मर्मतका लागि १ लाख अनुदान पाउने सूचीमा अति प्रभावित १४ जिल्लामा ४६ हजार ९ सय २९, कम प्रभावित १८ जिल्लामा ५ हजार १ सय २५ परेका थिए । 

यीमध्ये अति प्रभावित १४ जिल्लामा ६ लाख २७ हजार २ सय २ र कम प्रभावित १८ जिल्लामा ९१ हजार ३ सय २२ परिवारसँग अनुदान सम्झौता भएको थियो । 

प्राधिकरणले कूल ९ लाख ९६ हजार ५ सय ८२ घर सर्वेक्षण गरेको थियो । जसमध्ये कूल ८ लाख ७ हजार ४ सय ८६ अनुदान सूचीमा परेका थिए । 

३ किस्तामा अनुदान दिएको प्राधिकरणले पहिलो किस्ताबापत ७ लाख १४ हजार १ सय ९६ परिवारलाई वितरण गरेको छ । 

४ लाख ६९ हजार ४ सय ४८ परिवारलाई दोस्रो किस्ता भुक्तानी गरेको भने २ लाख ५८ हजार ५ सय ९९ परिवारलाई तेस्रो किस्ता वितरण गरेको छ । 

यो वर्षभित्र भूकम्प प्रभावितका सम्पूर्ण घर निर्माण गरिसक्ने लक्ष्य लिइएको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली बताए । उनले भने– ‘पुनर्निर्माणको सबैभन्दा बढी काम यो आर्थिक वर्षमा हुनेवाला छ । धेरै घरहरू निर्माणको क्रममा अघि बढिरहेको अवस्था छ । निर्माण सामग्रीको व्यवस्थापन, पैसा प्राप्त गर्न सक्ने अवस्था, कामदारहरू जुटाउनेलगायतको वातावरण बनाउने काममा लागिरहेको छु ।’

यस्तो छ सार्वजनिक भवनहरूको पुनर्निर्माणको अवस्था 
भूकम्पपछि १ हजार १ सय ९७ स्वास्थ्य संस्थामध्ये ५ सय ४४ पुनर्निर्माण गर्ने र ६ सय ५३ मर्मत गर्ने लक्ष्य लिइएकोमा १ सय ४५ को पुनर्निर्माण भइरहेको छ । योमध्ये ५१ भवन बन्दै गरेका छन् भने ९४ भवन मर्मत भइरहेको छ । यस्तै ६ सय ४३ भवनमध्ये ३ सय ३१२  पुनर्निर्माण भएको छ भने ३ सय ३१ को मर्मत सम्भार भएको छ । 

यता शैक्षिक संस्था पुनर्निर्माणतर्फ ७ हजार ५ सय ५३ भवन निर्माण गर्ने लक्ष्य लिइएकोमा ३ हजार ८ सय १६ भवन निमार्ण सम्पन्न भएको छ भने २ हजार ३ सय ६९ भवन निर्माण भइरहेको प्राधिकरणले जनाएको छ । 

यस्तै सरकारी भवन पुनर्निर्माणतर्फ भूकम्पले असर पारेका ४ सय १५ भवनमध्ये १ सय ६२ पुनर्निर्माण र २ सय ५७ मर्मतसम्भार गर्ने लक्ष्य लिइएकोमा १ सय २६ भवन निर्माण भइरहेको र १९  भवन मर्मतसम्भार भइरहेको छ । यस्तै १६ वटा भवन बनाइएको छ भने २ सय ३२ भवन मर्मत सम्भार गरिएको छ । 

सांस्कृतिक सम्पदा पुनर्निर्माणतर्फ ७ सय ५३ वटा बनाउने लक्ष्य राखिएकोमा १ सय ८५ वटा सम्पन्न भएको छ भने ३ सय ९ सम्पदा निर्माण भइरहेको प्राधिकरणले जनाएको छ । 

यता सुरक्षा निकायका भवनतर्फ ३ सय ८३ पुनर्निर्माण गर्ने लक्ष्य लिइएकोमा ९३ भवन मात्र बनेका छन् । १ सय १२ भवन बनाउने काम भने चलिरहेको छ । यस्तै खानेपानी पूर्वाधारतर्फ ३ हजार २ सय १२ भौतिक संरचना निर्माण गर्ने लक्ष्य लिइएकोमा ७ सय ९१ संरचना निर्माण सम्पन्न भएको छ भने ६ सय ७० बन्दै गरेको प्राधिकरणको आँकडा छ । 

२ लाख ३७ हजार गुनासो दर्ता 
भूकम्प प्रभावितका कुनै गुनासो आए त्यसको सम्बोधन गर्न प्राधिकरणले सम्बन्धित स्थानीय तहलाई नै सम्बोधन गर्ने अधिकार दिएको छ । बुधबार बसेको प्राधिकरणको कार्यकारी समितिको बैठकले भूकम्प प्रभावितका गुनासा, समस्या सोही स्थानको स्थानीय तहलाई हेर्ने अधिकार दिएपछि छिटो समाधान हुने विश्वास लिइएको छ । 

प्राधिकरणले भूकम्प प्रभावितका भत्किएका घरको सर्वेक्षणका क्रममा छुट भएका वा समस्या भएका प्रभावितले प्राधिकरणमा २ लाख ३७ हजार ८५ गुनासो दर्ता गराएका थिए । अति प्रभावित १४ जिल्लाबाट २ लाख ५ हजार ५ सय ८४ र कम प्रभावित १८ जिल्लाबाट २८ हजार ६ सय ७ गुनासो दर्ता भएको थियो । यीमध्ये १४ जिल्लाका २ लाख ५ हजार ५ सय ८४ गुनासो फछ्र्यौट भएको प्राधिकरणले जनाएको छ ।
सर्वेक्षण छुट भएका मध्ये १ लाख २९ हजार ४ सय ८ घर पुनः सर्वेक्षण गरिएको र यसमध्ये ९१ हजार ९ सय १८ को सुनुवाइ सम्पन्न भएको प्राधिकरणले जनाएको छ । 

यस्तै जनशक्ति विकासतर्फ भौतिक संरचना निर्माणका लागि ३५ हजारलाई छोटो अवधिको तालिम र १६ हजार ६ सय ४९ लाई डकर्मी तालिम दिइएको प्राधिकरणले जनाएको छ । 

३ जिल्लामा ५ एकीकृत बस्ती
यसैबीच प्राधिकरणले सिन्धुपाल्चोक, रामेछाप र काभ्रेपलाञ्चोक गरी ३ जिल्लामा ५ वटा एकीकृत बस्ती विकासको प्रारम्भिक योजना स्वीकृत गरेको छ । 

प्रमुख कार्यकारी अधिकृतमा सुशील ज्ञवालीले पदबहाली गरेपछि पहिलो पटक बसेको कार्यकारी समितिको बैठकले सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका वडा नं २ खर्कडाँडामा  ४० घरधुरी, सिन्धुपाल्चोकमै मेलम्ची नगरपालिका वडा नं १२ नम्डोललिङ एकीकृत बस्तीमा ७० घरधुरी, सिन्धुपाल्चोककै भोटेकोशी गाउँपालिका वडा नं ५ त्याङथली एकीकृत नमुना बस्तीमा १० घरधुरी रहने प्राधिकरणले जनाएको छ । 

यस्तै रामेछापको मन्थली नगरपालिका वडा नं ८ माझी बस्ती गाइखुरा एकीकृत बस्तीमा २४ घरधुरी, काभ्रेपलाञ्चोकको मण्डन देउपुर नगरपालिका वडा नं १० स्थित तीनधारामा होमस्टेसहितको नमुना तामाङ बस्तीमा  ३७ घरधुरी निर्माण गर्ने जनाएको छ । 
 



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?