२८ माघ, २०७८
पोखरामा शुक्रबारबाट “प्रथम गण्डकी प्रदेश पारा खेलकुद प्रतियोगिता २०७८” सुरु भएको छ ।
दुई दिन सम्म चल्ने उक्त प्रतियोगिताको प्रदेश खेलकुद परिषदका सदस्य सचिव तेज बहादुर गुरुङले उद्घाटन गरेका छन् । प्रतियोगिता अन्तर्गत पहिलो दिन भएको पुरुषतर्फको दृष्टिविहिन टि–२० क्रिकेट प्रतियोगितामा गण्डकी रेड १६ रनले विजयी भएको छ ।
कास्की ब्लु विरुद्ध टस जितेर व्याटिङ रोजेको गण्डकी रेडले २० ओभरमा ६ विकेट गुमाउँदै १७३ रन बनाएको थियो । गण्डकी रेडका (वि–टु) सूर्य भट्टराईले नट आउट रहँदै ३७ रन बनाए भने (वि–वान) प्रमोद दाहालले ३७ र (वि–वान)का राम गुरुङले २० रनको योगदान दिएको अफिसियल रिजन प्रजुले जानकारी दिए ।
यता कास्की ब्लुका (वि–टु) प्रेमले १ विकेट हात पारे पनि अन्य पाँच खेलाडी भने रन आउट भएका थिए । १७४ रनको विशाल स्कोर पच्छायाउने क्रममा कास्की ब्लु भने ६.२ ओभरमा ५८ रन जोडेको थियो । तर वर्षाका कारण खेल स्थगित भए पछि डिएल मेथडमा गण्डकी रेड विजयी भएको हो । कास्की ब्लुका (वि–टु) दुर्गा पौडेलले १२ रन मात्रै जोड्न सके । गण्डकी रेडका सूर्य भट्टराईले २ र प्रमोद दाहालले १ विकेट हात पारे ।
प्रतियोगिता अन्तर्गत पारा खेलकुदका विभिन्न सात खेलहरु सञ्चालन हुने प्रदेश खेलकुद परिषदका सदस्य तथा प्रतियोगिताका संयोजक अमृत बरालले जनाएका छन् । जस अन्तर्गत बोसिया, बहिरा व्याडन्टिन महिला तथा पुरुष, वौद्धिक अपाङगताका लागि दौड प्रतियोगिता, अप्टिजम अपाङ्गताका लागि दौड, मनोसामाजिक अपाङ्गताका लागि म्यूजिक चियर, र शारिरिक अपाङ्गता भएका व्यक्तिहरुका लागि ह्विल चियर वास्केटबल हुनेछन् ।
सबै खेलहरु शनिवार पोखरा रंगशालामा सञ्चालन हुने संयोजक बरालले जानकारी दिए । प्रतियोगितामा कुल १ सय ३२ खेलाडी सहभागिता जनाएका छन् ।
गण्डकी प्रदेशमा पहिलो पटक आयोजना भएको पारा खेलकुदलाई व्यवस्थित बनाउन प्रदेश खेलकुद परिषदले वार्षिक रुपमा नै कार्यक्रमहरु तय गर्ने सदस्य सचिव गुरुङले जनाएका छन् । उनले भने–“यो सुरुवात हो मात्रै हो, हामीले पारा खेलकुदलाई व्यवस्थित बनाउन वार्षिक रुपमा नै अघि बढाउने छौं ।”