Wednesday September 28, 2022

ओलम्पियन गुरुङ : विश्वका नेपालीलाई खेलकुदमा जोड्ने सुत्रधार

१० फाल्गुन, २०७८ शितलपाटीन्यूज डटकम । 1412


ओलम्पियन गुरुङ : विश्वका नेपालीलाई खेलकुदमा जोड्ने सुत्रधार

केशव पाठक/ मिठो अनि नम्र बोली । न त कुनै घमण्ड छ न त धन सम्पतीको धाक । करिव तिन दशक पुग्न लाग्यो अमेरिका पुगेको । तर उनमा अझै पनि नेपाली हुनुको गौरव छचल्किन्छ । धम्पुसे गाउँको मुलको पानीको मिठो मुस्कान झल्किन्छ । उनीहुन् ओलम्पियन नारायण गुरुङ ।

३० वर्ष भयो ओलम्पिकको ऐरिनामा नेपाली झण्डा मुनी खेलेको । ५८ वर्षको आफ्नो उमेरमा पनि उत्तिकै ‘फ्रेस’ गफ । तेक्वान्दो खेल उनको जिनमा नै मिसिएको छ । आफ्नो यौवनको २१ वर्षको उमेरमा कराते हुँदै एक वर्ष लगतै तेक्वान्दो खेलमा छिरे । त्यस पछि उनलाई पछि फर्किएर हेर्नु परेन । एकहोरो तेक्वान्दोमा लागि रहे ।

सन २००३ देखि २००६ सम्म अमेरिकाको राष्ट्रिय टिमको प्रशिक्षक समेत हुने अवसर पाए । उनले अमेरिका जस्तो महाशक्ती राष्ट्रको प्रशिक्षक हुँदा पनि आफ्नो देश नै मुटुमा बोकेर तेक्वान्दोको गन्तव्यमा हिँडिरहे । उनको हरेक बोलीमा आफू नेपाली हुनुको गौरव प्रदर्शित हुन्छ । गैर आवाशिय नेपाली संघ (एनआरएनए)मा खेल भित्राए । एनआरएनएका सन्ततीहरुलाई खेल मार्फत नेपाली राष्ट्रियताको गौरव बढाए । त्यसका लागि उनले ठूलो मेहनत गरे । तर आफूलाई ‘म यस्तो हुँ’ भन्ने कुरा प्रदशित गरेनन । न त सामाजिक सञ्जालमा लेखे । सानो कुरा गरेर तिललाई पहाड बनाउनेहरुमा उनी आफूलाई कहिल्यै गर्न तम्सिएनन् ।

एनआरएनए खेलकुद समितीको २०११, २०१३ र २०१५ गरी तिन कार्यकाल संस्थापक अध्यक्ष रहे । आफ्नो कार्यकालमा राष्ट्रिय खेलकुद परिषद र नेपाल ओलम्पिक कमिटी संग सम्झौता गरे । गैरआवाशियका सन्ततीहरुलाई नेपाली झण्डा मुनी अन्तर्राष्ट्रिय खेलकुदको एरिनामा उभ्याए । अहिले उनी समितीको सल्लाहाकार छन् । त्यहाँ धेरै राजनिती भयो भन्ने कुराले उनलाई चिन्तित बनाएको छ । कतै आफूले देखेको सपना टुट्ने हो की भन्नेमा उनको मानस पटलमा देखिन्छ । त्यती मात्र होइन उनले सगरमाथाको देशलाई तेक्वान्दो मार्फत चिनाउन एभरेष्ट तेक्वान्दोलाई स्थापित गर्न भूमिका खेले । उनले नै दक्षिण एशिया तेक्वान्दो महासंघ गठन गर्न भूमिका समेत खेले । जसका कारण दक्षिण एशियाली खेलकुद (साग)मा तेक्वान्दो खेलको सुरुवात मात्रै भएन सागमा नेपालले धेरै मेडल जितेर मेडल ट्यालीमा नेपाललाई माथी उठाए ।

आफ्नो वुवाको छ दाजुभाई मध्ये काइला वुवा टेक बहादुर र आमा लक्ष्मीको कोखबाट जन्मे पनि माइला बाबा नर बहादुर र  आमा मन कुमारीले कोख लिए । उनी लाहुरे वुवाको पछि लागेर भारतको हैदरवाद पुगे । त्यही उनको खेल जिवन शुरु भएको उनी बताउँछन् । २०३७ सालमा पोखराको पृथ्वीनारायण क्याम्पसमा पढ्दा उनले भलिवल खेलाडीको रुपमा आफूलाई चिनाए । परम्परागत ठेलोका समेत पारङ्गत खेलाडी उनी पछि मौका पाउने आशामा काठमाण्डौ भासिए । अनि त्यहीँबाट शुरुवात भयो उनको मार्शलआर्टको खेल जिवन ।

प्रहरी तालिम केन्द्रमा उनले प्रशिक्षण लिए । २०४१ सालमा यूवा महोत्सवमा पहिलो पटक गोल्ड मेडलमा आफ्नो नाम लेखाए । तत्कलिन समयमा दरवारियाहरुको नेतृत्वमा रहेको खेलकुदमा उनको त्यो खेल कौशल देखेर उनीहरुलाई समेत अचम्भित पारे । सबैले एकै स्वरमा सोधे–“होइन को हो यो खेलाडी ? कहाँ बाट आयो ?” उनी सवैको नजरमा परे । प्रहरी तालिम केन्द्रमा प्रशिक्षण लिइरहेको छ भन्ने सुन्दा सबै दङ्ग पर्थे । उनलाई त्यो अवसर महेन्द्र भट्टचनले जुराएका थिए । उनको विलक्षण खेल प्रतिभाले सवैलाई प्रभावित बनायो ।

नेपालमा उनले पाँच वटा राष्ट्रिय प्रतियोगितामा सहभागि रहे । उनले पाँच खेलमा ४ गोल्ड र १ सिल्भर मेडल जिते । सन १९९२ मा बार्सिलोना ओलम्पिकमा सहभागीहुनु अघि नेपालमा उनले तेक्वान्दो खेलमा आफ्नो खेल कौशलले सवैलाई आकर्षित गरे । ओलम्पिकमा समेत उनको पाँचौ रेङ्किङ छ । उनको रेङ्किङ ओलम्पिकमा नेपाली खेलाडीले स्थापित गरेको माथिल्लो रेङ्किङ हो । २०४२ देखि २०४५ सम्म तेक्वान्दोमा उनको दवदबा रह्यो । उनले त्यही विचमा तिन वर्ल्ड र ३ वटा एशियन च्याम्पियनशिप खेले । १९९० मा ताइवानमा सम्पन्न पुरुष एशियन तेक्वान्दो च्याम्पियनशिपमा उनले तेक्वान्दो खेलको जन्मदाता रहेको कोरियन खेलाडीलाई क्वाटरफाइनलमा पराजित गर्दै व्रोन्ज मेडल जिते । उनको त्यो पुरुषतर्फको त्यो रेकर्ड अहिले सम्म कुनै नेपाली खेलाडीले तोड्न सकेको छैन ।

विभिन्न सात वटा अन्तर्राष्ट्रिय प्रतियोगितामा दुई गोल्ड र एक सिल्भर मेडल उनको नाममा छ । पाकिस्तान र जर्मनीमा गोल्ड मेडल, वेल्जियममा सिल्भर र कोरियन ओपनमा व्रोन्ज मेडल उनले जितेका थिए । ओलम्पिक पछि उनी अवसरको खोजीमा लागे । ठिक दुई वर्ष पछि अमेरिकाको पोर्टल्याण्ड ओरिगनबाट उनलाई प्रशिक्षकको रुपमा बोलाइयो । उनले अमेरिकामा समेत निस्वार्थ रुपमा तेक्वान्दोमा लागि रहे । सन १९९४ मा उनका गुरु जे कि शिनले ओरेगनमा निम्तो गरे पछि उनी त्यहाँ पुगेका थिए । आफू मात्रै होइन उनले आफ्ना छोरा सन्देशलाई १५ वर्षको उमेरमा अमेरिकामा जुनियर च्याम्पियन बनाए । सन्देशको समेत नेपाली खेलाडीको लागि रेकर्ड नै हो ।आफ्नो छोरालाई सन २००५ मा काजाकास्तानमा तेश्रो जुनियर एशियन च्याम्पियनशिपम नेपालबाट प्रतिनिधित्व गराएका थिए । उनले केही समय नेपालमा तेक्वान्दोको प्रशिक्षण दिए ।

उनी यतिबेला नेपालमा छन् । पर्यटकिय गाउँ जन्म थलोमा उनी नयाँ व्यवसायको तयारी शुरु गरेका उनले नेपाल तेक्वान्दो खेल माथी उठ्न नसकेकोमा दुःखी छन् । प्रशिक्षकको रुपमा मात्रै नभई वौद्धिक रुपमा समेत आफ्नो ज्ञान यूवा खेलाडीलाई पस्किन चाहन्छन् । खेलकुदमा केही नयाँ गर्नुपर्छ भन्ने विचारमा उनी दृढ छन् । धन सम्पतीले भन्दा पनि आफूलाई खेल अनुशासित खेल जिवनले संधै मार्गदर्शन गरिरहेको बताउँछन् ।



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?