Tuesday September 27, 2022

बगर भाई खलकको अध्यक्षमा पुनः दिल बहादुर सर्वसम्मत निर्वाचित

२१ फाल्गुन, २०७८ शितलपाटीन्यूज डटकम । 1195


बगर भाई खलकको अध्यक्षमा पुनः दिल बहादुर सर्वसम्मत निर्वाचित

 खेलकुद र सामाजिक क्षेत्रमा कृयाशिल पोखराको प्रतिष्ठित संस्था बगर भाई खलकको अध्यक्षमा पुनः दिल बहादुर गुरुङ सर्वसम्मत निर्वाचित भएका छन् । 

संस्थाको शनिवार पोखरामा सम्पन्न पाँचौ साधारण सभा तथा चौथो अधिवेशनबाट आगामी तिन वर्षका लागि अध्यक्षमा निर्वाचित भएका हुन् । गुरुङ प्रदेश खेलकुद परिषद गण्डकीको कार्यकारी सदस्य समेत रहेका छन् । त्यसै गरी अधिवेशनले तिनवर्षका लागि १३ सदस्यिय कार्य समिती निर्विरोध निर्वाचित समेत गरेको छ । 

संस्थाको उपाध्यक्षमा इश्वरमान गुरुङ, महासचिवमा याम बहादुर गुरुङ, सचिवमा मनकाजी गुरुङ, कोषाध्यक्षमा रमेश कुमार श्रेष्ठ, सह कोषाध्यक्षमा ओमकार गिरी निर्वाचित भएको संस्थाका सल्लाहाकार एवम निर्वाचन कमिटीका संयोजक नारायण प्रसाद शर्माले जनाएका छन् । त्यसैगरी कार्यसमितीको सदस्यमा देवी प्रसाद गुरुङ, धन गुरुङ ‘सन्तोष’, विजया गुरुङ, इश्वर गुरुङ, गणेश सेन्चुरी, अमित गुरुङ र राधा गुरुङ रहेका छन् । 

यस अघि अधिवेशन तथा साधारण सभाको उद्घाटन गर्दै यूवा तथा खेलकुद मन्त्रालय गण्डकीका सचिव बद्रीनाथ अधिकारीले समाजका सकरात्मक सोचको विकास गर्न खेलकुद अपरिहार्य रहेको बताए । उनले गण्डकी प्रदेशलाई खेलकुदको हव बनाउने मात्रै नभई उत्कृष्ट खेलाडी उत्पादनको थलोको रुपमा विकास गर्नुपर्ने कुरामा जोड दिए । 

कार्यक्रममा आफ्ना भनाई राख्दै प्रदेश खेलकुद परिषद गण्डकीका उपाध्यक्ष धोज कुमार गुरुङले खेलाडीलाई व्यवसायिक रुपमा अघि बढाउन सके मात्रै खेलाडीमा क्रियाशिलता बढ्ने उल्लेख गरे । उनले स्वस्थ्य जिवन र अनुशासनको आधारशिला खेलकुद भएकोले त्यही अनुरुप खेलकुदको विकास हुनुपर्ने बताए ।

सो अवसरमा प्रदेश खेलकुद परिषदका सदस्य सचिव तेज बहादुर गुरुङले संस्था निर्माण हुनु भन्दा पनि त्यसको क्रियाशिलता महत्वपूर्ण हुने बताउँदै बगर भाई खलकले समाजप्रतीको उत्तरदायित्व वहन गरेको बताए । उनले खेलकुद विकासका लागि बजेटको अप्रयाप्ताले सोच अनुरुप विकास हुन नसकेको प्रशङ्ग अघि सार्दै त्यसका लागि दवाव आवश्यक रहेको उल्लेख गरे । उनले भने–“समाजको हरेक अङ्ग खेलमय हुन आवश्यक छ । तर सोच अनुरुपको बजेट छैन । त्यसका लागि ठोस दवाव आवश्यक छ ।”

संस्थाका सल्लाहाकार एवम पोखरा महानगर पालिकाका कानुन वरिष्ठ कानुन अधिकृत नारायण प्रसाद शर्माले पोखरामा हुने विशेष गरी पोखराका स्थानिय संस्थाहरुको नेतृत्वमा हुने खेलकुदका कार्यक्रमहरुलाई योजनावद्ध रुपमा महानगरले बजेट तर्जुमा गरी अघि बढाउन पहल गर्नुपर्ने बताए । 

त्यसै गरी सहारा क्लव पोखराका मानार्थ सदस्य महेश गुरुङले बगर भाईखलकले सामाजिक क्षेत्रमा मात्रै नभई ऐतिहासिक टुँडीखेल मैदान स्तोरोन्नती गर्न महत्वपूर्ण भूमिका खेलेको भन्दै प्रशंसा गरे । जिल्ला खेलकुद विकास समिती कास्कीका अध्यक्ष तोरण बहादुर बाँनियाले समाजमा विकृती विसंगती समाप्त पार्न खेलकुदको विकास अपरिहार्य रहने कुरामा जोड दिए । 

कार्यक्रममा बगर भाई खलक युकेका संस्थापक अध्यक्ष चन्द्रमान गुरुङ, संस्थाबाट सम्मानित व्यक्तित्व पूर्व राष्ट्रिय फुटबल खेलाडी मोतीमान शाक्य लगायतले समेत आफ्ना धारणा राखेका थिए । 

कार्यक्रममा संस्थाको उन्नयनमा उल्लेख्निय योगदान गर्ने कोषाध्यक्ष एवम पूर्व राष्ट्रिय फुटबल खेलाडी रमेश कुमार श्रेष्ठलाई सम्मान गरिएको थियो । 

बगर भाई खलकले महासचिव याम बहादुर गुरुङ द्वारा प्रस्तुत वार्षिक प्रतिवेदन र कोषाध्यक्ष श्रेष्ठले प्रस्तुत गरेको आर्थिक प्रतिवेदनलाई पारित समेत गरेको छ । महासचिव गुरुङले आगामी वैशाख नयाँ वर्षमा ५ किमि छात्र–छात्रा शुभकामना दौड, भेट्रान्स फुटसल प्रतियोगिता, ग्रास रुट फूटबल प्रशिक्षण कार्यक्रम लगायतका कायक्रमहरु आयोजना गरिने जनाएका छन् ।  

उद्घाटन कार्यक्रम संस्थाका अध्यक्ष दिल बहादुर गुरुङको अध्यक्षतामा भएको थियो । ‘स्वास्थ्यका लागि एक घन्टा व्ययाम, नागरिकहरुका लागि नौलो आयाम’ भन्ने उदघोषका साथ २०६८ सालमा गठन भएको उक्त संस्थाले नेपालमा नै पहिलो पटक भेट्रान्स फुटबल प्रतियोगिता गर्दै आइरहेको छ भने अन्य विविध सामाजिक सेवा लगायतका कार्यहरुमा महत्वपूर्ण भूमिका खेलेको छ । पोखराको ऐतिहासिक टुँडीखेल मैदान स्त्तोरोन्ती गरी त्यसको संरक्षणमा समेत संस्थाले भूमिका खेलेको छ भने हरेक वर्ष अग्रज खेलाडीहरुलाई समेत सम्मान गर्दै आएको छ ।
 



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?