२९ बैशाख, २०७९
पोखरा । तमु धि युकेको आयोजनामा हुने गोर्खा कपको इतिहासमा पहिलो पटक महिला फुटबल र परम्परागत ठेलो खेल समावेश गरिने भएको छ ।
आगामी जुन ४ मा हुने गोर्खा कपमा महिला फुटबल संगै ठेलो खेल समावेश गरिएको टिम तथा प्रतियोगिता तयारी समितिका इन्चार्ज समेत रहेका कुमार गुरुङले जानकारी दिएका हुन् । तमु धिं युकेले गरेको यो ऐतिहासिक निर्णय संगै महिला खेलाडीहरु उत्साहित भएको बताउँदै उनले भने–“पुरुष सरह महिलाहरुलाई समेत फुटबलमा आकर्षण गर्न हामीले महिला फुटबल समावेश गरेका हौं र यो निर्णयले महिला खेलाडीहरु निकै उत्साहित भएका छन् ।”
यो वर्ष प्रदर्शनीका रुपमा दुई टिमको सहभागितामा प्रतियोगिता हुने सहारा युकेका निवर्तमान अध्यक्ष समेत रहेका गुरुङले बताए । “पहिलो पटक समवेश गरे संगै दुई टिमलाई मौका दिएका छौं”, उनले भने–“धेरै महिला टिमले दर्ताका लागि इच्छुक जनाएका थिए तर हामीले यो पटक प्रदर्शनीका रुपमा मात्रै राखेका छौं ।” १५ सदस्यिय टिममा तिन जना विदेशी खेलाडी समावेश गर्न पाइने प्रावधान समेत रहेको गुरुङले जानकारी दिए । उनले महिला टिम खेल्न धेरैले इच्छा जाहेर गरेकाले पनि अर्को वर्ष छुट्टै ‘पिच’ (मैदान)को व्यवस्था गरी महिला टिमहरुको सहभागिता बढाइने गुरुङले जानकारी दिए ।
त्यसै गरी तमुहरुमा निकै लोकप्रिय रहेको साथै गण्डकी प्रदेशका विभिन्न जिल्लाका मेला महोत्सवमा हुने ठेलो खेल विदेशी भूमीमा पुगेको छ । गोर्खा कपको इतिहासमा ठेलो खेल थपिएको इन्चार्ज गुरुङले बताउँदै भने–“ठेलो खेल नेपालीहरुको परम्परा संग जोडिएको खेल हो । हाम्रा पुर्खाहरुको खेललाई विदेशी भूमिमा खेलाउँदैछौ । पक्कै पनि ठेलो खेलले धेरैको मन जित्न सफल मात्रै हुने छैन यसले गोर्खा कपको आकर्षण बढाउनमा समेत सहयोग पुग्नेछ ।”
यसै गरी २० औं संस्करणको गोर्खा कपमा ३२ सिनियर फुटबल टिमको सहभागिता हुने भएको छ । प्रतियोगितामा १६ वर्ष भन्दा माथी र ४० वर्ष भन्दा मुनीका खेलाडीलाई मात्रै सहभागिता गराउने प्रावधान रहेको इन्चार्ज गुरुङले बताए । युकेका ३१ टिम बाहेका होल्याण्डबाट समेत एक टिमको सहभागिता रहेको छ । आएरल्याण्डको एक टिमले सहभागिता जनाउने तयारी गरे पनि टिम दर्ता ढिलो हुँदा अवसरबाट बञ्चित भएको इन्चार्ज गुरुङले जनाए । ४० वर्ष माथीको भेट्रान्सतर्फ भने ८ टिमको सहभागिता रहने छ ।
सिनियर फुटबलतर्फ उपाधि विजेताले ट्रफी, मेडल र प्रमाणपत्र सहित २५०० पाउण्ड, उपविजेताले १५०० पाउण्ड, भेट्रान्सतर्फ उपाधि विजेताले १२०० र उपविजेताले ८०० पाउण्ड प्राप्त गर्नेछन । त्यसै गरी महिलातर्फ प्रदर्शनी म्याचको विजेताले ५ सय र उपविजेताले ३ सय पाउण्ड प्राप्त गर्नेछन् । गोर्खा कपमा उपाधिमा ह्याट्रिक अर्थात तिन पटक लगातार जित्ने टिमले पुरस्कार राशीमा थप ५ सय पाउण्ड पाउने प्रावधान समेत रहेको गुरुङले बताए । त्यसका अलवा वेष्ट प्लेयर, हाइस्कोरर र वेष्ट म्यानेजरतर्फ समेत पुरस्कार वितरण गरिनेछ । सिनियर फुटबलमा गत वर्षको उपाधि बिजेता एलजी लायन्स रहेको थियो । भेट्रान्सतर्फ गर्त वर्ष व्रिगेड व्वाइजले उपाधि जितेको थियो ।
त्यसो त तमु धिं युकेले आगामी जुन ४ मा हुने गोर्खा कपको तयारी बारे मे २९ मा पत्रकार सम्मेलन मार्फत तयारी बारे थप प्रष्टाउने छ । वार्षिक रुपमा आयोजना हुने गोर्खा कपमा हुने ‘नाइन ए साइड’ फुटबल प्रतियोगिता संगै, विभिन्न खानाका परिकारका रेष्टुरेन्ट तथा अन्य प्रदर्शनीहरुले पनि नेपालीहरुको मन जोड्ने मिलन विन्दु समेत हो । कोभिडका कारण गत वर्ष समेत केही ढिलो गरी आयोजना भएको गोर्खा कप यो पटक बैंक होलिडे केही ढिला भएका कारण समेत जुन ४ मा हुन लागेको हो । यो वर्ष कोभिडको डर त्रास नभएका कारणले पनि सहभागिता बढ्ने गुरुङको भनाई छ ।