१० जेष्ठ, २०७९
शीतलपाटीन्युज डटकम।
लण्डन। लन्डनको ट्राफल्गर स्क्वायरमा गत आइतबार २५६६ औं बुद्ध जयन्ती एक विशेष कार्यक्रमबीच भब्य मनाइएको छ । बुद्ध फाउण्डेसन यूके,लण्डनस्थित नेपाली दूतावास,नेपाल पर्यटन बोर्ड, एनआरएनको सहकार्यमा उक्त कार्यक्रम सम्पन्न भयको हो।
नेपाल सरकारका शिक्षा,विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल प्रमुख अतिथी रहनु भयको थियो भने कार्यक्रममा नेपालबाट आएका ‘वर्ल्ड पिस सेन्टर’का संस्थापक स्याल्पा तेन्जिङ रिम्पोचे तथा थाइल्यान्ड,भारत,श्रीलंका, मंगोलिया लगायतका मुलुकबाट राजदूत एवम् कूटनीतिक प्रतिनिधिहरु कार्यक्रमका विशेष अतिथि रहेका थिए।
कार्यक्रममा बेलायतका विभिन्न क्षेत्रबाट भेला भएका सयौं नेपालीहरुको साथै विदेशी समुदायबाट विशिष्ट अतिथिको सहभागिता थियो। कार्यक्रममा विश्व शान्तिको कामना गर्दै दिप प्रज्वलन,प्रवचन र विभिन्न सांस्कृतिक कार्यक्रमहरु प्रस्तुत गरि कार्यक्रम भब्य बनाईएको थियो ।
बुद्ध मन्त्रोच्चारण,प्रवचन,मौलिक नेपाली संस्कृति झल्किने बिभीन्न कार्यक्रम,शान्तिदीप प्रज्वलन,नेपालको पर्यटन प्रवर्द्धनात्मक सामग्री वितरण,कार्यक्रमस्थल नेपालकै बौद्ध स्तुपाहरुकै झल्को दिने गरी ध्वजापतकाहरुको सजावट थियो। लामा गुरूको धार्मिक मन्त्रोचारणबाट कार्यक्रम सुरु भएको र नेपाल तथा बेलायतका राष्ट्रिय गानहरु बजाइएको थियो।
बुद्ध फाउन्डेसन यूके अध्यक्ष दीपक श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश १ का आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्की, बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्य, नेपाल पर्यटन बोर्डका मानार्थ दूत महन्त श्रेष्ठ, एनआरएनए आइसीसी अध्यक्ष कुल आचार्य, थाइल्यान्ड, भारत, श्रीलंका, मंगोलियालगायत मुलुकका बेलायतस्थित राजदूत एवम् कूटनीतिक प्रतिनिधिहरुले सम्बोधन गरेका थिए। कार्यक्रममा बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले बुद्धको जन्मस्थल लुम्बिनीलाई विश्वमाझ शान्तिको एक अन्तर्राष्ट्रिय केन्द्रका रुपमा विकास गर्नुपर्ने भन्दै त्यसका लागि सहयोगको आव्हान गर्नु भयको थियो। फाउन्डेसनका वरिष्ठ उपाध्यक्ष सचिन श्रेष्ठले कार्यक्रमको संयोजन गर्नु भयको थियो भने सञ्चालन महासचिव लक्ष्मी राई र सुर्य गुरुड्गले गर्नु भयको थियो।
आयोजक बुद्ध फाउण्डेसन यूकेका अध्यक्ष दिपक श्रेष्ठले बुद्धको सन्देशलाई सारा विश्वमाझ अझै व्यापक बनाउने तथा नेपालको पर्यटन प्रवर्धनमा टेवा पुर्याउने कार्यक्रमको उद्धेश्य रहेको बताउँदै कार्यक्रमका सबै सहभागी तथा सहयोगीलाई धन्यवाद दिएका थिए।