Tuesday September 27, 2022

राष्ट्रिय सभाले नागरिकता संशोधन विधेयक पारित गरी मातृभूमिसंग जोडेकोमा अध्यक्ष आचार्यद्वारा स्वागत

१३ श्रावण, २०७९ शीतलपाटीन्युज डटकम। 5257


राष्ट्रिय सभाले नागरिकता संशोधन विधेयक पारित गरी मातृभूमिसंग जोडेकोमा अध्यक्ष आचार्यद्वारा स्वागत

शीतलपाटीन्युज डटकम।

लन्डन– गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदका कार्यकारी अध्यक्ष कुल आचार्यले राष्ट्रिय सभाले ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ पारित गरेकोमा त्यसको स्वागत गरेका छन्।

बिहीबार बसेको राष्ट्रिय सभाको बैठकले व्यापक छलफल पछि उक्त संशोधन विधेयक बहुमतले पारित गरेको थियो। प्रतिनिधि सभाले गत शुक्रबार उक्त संशोधन विधेयक पारित गरेको थियो। अब राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण गरे पछि उक्त विधेयक कानून बन्ने छ। ‘सबै एनआरएनहरुका लागि खुसीको दिन’ भन्दै अध्यक्ष आचार्यले अब गैरआवासीय नेपाली नागरिकता कार्यान्वयनको बाटो खोलेको बताए ।

‘संसारभरि रहेका नेपालीहरुलाई मातृभूमिसंग जोड्नुका साथै यो विधेयकले एनआरएनहरुलाई नेपाली सरह सामाजिक,आर्थिक र सांस्कृतिक अधिकार प्राप्त गर्ने बाटो सुनिश्चित गरेको छ। नेपालमा रहेको हाम्रो सम्पत्ति सुरक्षित रहनुका साथै लगानीको ढोका खुलेको छ। संघको स्थापना काल देखि नै हाम्रा अग्रजहरुले गरेको अथक प्रयास र वर्तमान कार्य समितिको निरन्तर लवीइङ पछि हामीले गैरआवासीय नेपाली नागरिकता पाउन लागेका छौं। यसलाई एउटा ऐतिहासिक उपलब्धिको रुपमा लिंदै अब बन्ने नयाँ कानूनमा हाम्रा हक, अधिकार सुरक्षित गर्न आआफ्नो ठाउंबाट योगदान गर्न म सबै मित्रहरुलाई आग्रह गर्दछु,’आचार्यले भने।

उनले उक्त विधेयक पारित गर्न सहयोग गर्ने राष्ट्रिय सभा तथा प्रतिनिधि सभाका सांसदहरु, प्रधानमन्त्री शेर बहादुर देउवा,गृहमन्त्री बालकृष्ण खाण,कानूनमन्त्री गोविन्द प्रसाद शर्मा कोइराला, नेपाल सरकार,  राजनीतिक दलका नेताहरु,कानूनविद्,मिडिया लगायत गैर आवासीय नेपाली संघका साथीहरुलाई पनि धन्यवाद दिएका छन्।



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?