Tuesday September 27, 2022

शिव मन्दिर अल्डरसटमा नवदुर्गा अवधिभर विशेष पूजा सञ्चालन हुने

२९ भाद्र, २०७९ शीतलपाटीन्युज डटकम। 1376


शिव मन्दिर अल्डरसटमा नवदुर्गा अवधिभर विशेष पूजा सञ्चालन हुने

शीतलपाटीन्युज डटकम।

लन्डन। बेलायतको अल्डरसटस्थित शिव कल्चरल एन्ड कम्युनिटी सेन्टरमा बडादशैंको अवसरमा नवदुर्गाको विशेष पूजा-अर्चना गरिने भएको छ। विगतका वर्षहरुमा जस्तै नवदुर्गा अवधिभर हरेक दिन विविध धार्मिक कार्यक्रमसहित पूजा अर्चना गरिने सेन्टरका अध्यक्ष बाचस्पति रेग्मीले जनाउनु भयको छ। १२ सेप्टेम्बर २०२२ मा अध्यक्ष रेग्मीको अध्यक्षतामा बसेको सेन्टरको मिटीड्गले सो कार्यक्रमको संयोजन सेन्टरका उपाध्यक्ष विक्रम भट्टराई र कार्यसमिति सदस्य किशोर गुरुङले गर्नु हुनेछ।

यही २६ सेप्टेम्बर सोमबार घटस्थापनाको दिनबाट शुरु  हुने नवदुर्गा पूजा ९ दिनसम्म चल्नेछ। नवदुर्गाको पहिलो दिन घटस्थापनाको विशेष पूजा गरिनेछ र मन्दिरमा जमरा राखिने कार्यक्रम छ । कार्यक्रम संयोजक एवम् सेन्टर उपाध्यक्ष भट्टराईका अनुसार नवदुर्गा पूजाअन्तर्गत शक्तिका स्वरूप नौ वटा देवीमध्ये हरेक दिन छुट्टाछुट्टै देवीको पुजा आराधना गरिनेछ। पुजामा एक नियमित कर्ता रहन पर्ने भयकोले स्थानीय तथा वरपरका नेपाली र अन्य समुदायका लब्धप्रतिष्ठित व्यक्तिहरुलाई आमन्त्रित गरि  कर्ताको रुपमा सहभागी गराउने कार्यक्रम छ। नवदुर्गा पूजाको सञ्चालन पण्डित राम पाण्डेयले गर्नुहुनेछ। घटस्थापनाका दिनबाट महानवमीसम्म सबै भक्तजनहरुका लागि मन्दिर ०८:०० देखी २०:०० सम्म खुला रहनेछ।

नवदुर्गाको सातौँ दिन २ अक्टोबरका दिन फूलपातीको विशेष कार्यक्रम हुनेछ।नौमती बाजागाजासहित स्थानीय मनोरपार्कबाट फूलपाती ल्याएर मन्दिरमा भित्र्याइनेछ। फूलपातीको भोलिपल्ट कालरात्रीको साँझमा विषेश पूजा अर्चना गर्दै मध्यरातमा काम,क्रोध,लोभ र मोह रुपी बली दिइनेछ। बडादशैंको मुख्य दिन बुधबार ५ अक्टोबरका दिन बिहान ९ बजेदेखि नै मन्दिरमा टीका जमरा वितरण गरिनेछ। टीका, जमरा आवश्यक पर्ने महानुभावहरुलेआएर लैजान सक्नु हुने र आफ्नै घरमा दशैं मनाउन पनि सकिनेछ।

हरेक वर्ष गरिने शिव मन्दिर अल्डरसटको विषेश नवदुर्गा पूजा कार्यक्रम व्यवस्थापनको सहयोगार्थ मन्दिरका संरक्षक एवम् एनआरएनए यूके पूर्व अध्यक्ष योगेन क्षेत्री र रीता क्षेत्रीले १ हजार पाउण्ड सहयोग गर्ने बचन दिनु भएको छ। 

नवदुर्गा पुजा र दशै भब्य बनाउन बसेको सो मिटीड्ग सचीव हरि भट्टराईले संचालन गर्नु भयको थियो। शिव कल्चरका अध्यक्ष बाचस्पति रेग्मी अध्यक्षतामा भयको सो मिटीड्गमा उपाध्यक्ष बिक्रम भट्रराई,सह कोषाध्यक्ष निरज तिवारी, सदस्य किशोर गुरुड्ग र पेट्रोन एवम पुर्व अध्यक्ष रोहित गुरुड्गको उपस्थिती थियो। सनातन संस्कृतिमा आस्था राख्नेहरुको मात्रै नभइ सबै नेपालीको साझा पर्वका रुपमा स्थापित बडादशैंको अवसरमा हुने विशेष कार्यक्रममा बेलायतवासी सबै नेपालीलाई सहभागिताको लागि मन्दिरका तर्फबाट आव्हान गरिएको छ।



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?