Thursday June 01, 2023

नेपाल प्रहरी प्रधान कार्यालय र पतंजलि योग समिति नेपालबीच सम्झौता-पत्रमा हस्ताक्षर

३१ भाद्र, २०७९ शीतलपाटीन्युज डटकम। 1821


नेपाल प्रहरी प्रधान कार्यालय र पतंजलि योग समिति नेपालबीच सम्झौता-पत्रमा हस्ताक्षर

सुरेश कोईराला।

काठमाण्डौ। प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहको उपस्थितिमा नेपाल प्रहरी प्रधान कार्यालयमा बिहीबार आयोजित कार्यक्रमबीच नेपाल प्रहरी प्रधान कार्यालय र पतंजलि योग समिति नेपालबीच नेपाल प्रहरी अन्तर्गतका कार्यालयहरूमा योगाभ्यास गराउने सम्बन्धी सम्झौता-पत्रमा हस्ताक्षर भएको छ। 

नेपाल प्रहरीको तर्फबाट नेपाल प्रहरी प्रधान कार्यालय मानवस्रोत विकास विभाग वृत्ति विकास महाशाखाका प्रहरी वरिष्ठ उपरीक्षक सुशील सिंह राठौर र पतंजलि योग समिति नेपालको तर्फबाट सोही समितिका मुख्य केन्द्रीय प्रभारी लवदेव मिश्रले उक्त सम्झौता-पत्रमा हस्ताक्षर गरी उक्त सम्झौता-पत्र आदानप्रदान समेत गर्नुभयो।   

 कार्यक्रममा प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले प्रहरी कर्मचारीहरूले योगको माध्यमबाट थप उर्जा प्राप्त गरी सक्रियताका साथ सेवा प्रवाहमा लाग्ने विश्वास व्यक्त गर्नुभयो । सम्झौतापत्रमा हस्ताक्षर हुनुपूर्व पनि नेपाल प्रहरी प्रधान कार्यालय र विभिन्न तालिम प्रदायक कार्यालयहरूले योगाभ्यास गराउँदै आइरहेको चर्चा गर्दै आगामी दिनमा नेपाल प्रहरीले संस्थागत रूपमा योगाभ्यासका लागि प्रहरीबाटै दक्ष जनशक्ति उत्पादन गराउने लक्ष्य रहेको उहाँले बताउनुभयो। 

कार्यक्रममा पतंजलि योग समिति नेपालका संरक्षक एवं पूर्व प्रहरी नायव महानिरीक्षक ज्ञानेन्द्र विक्रम महतले नेपाल प्रहरी र पतंजलि योग समितिबीचको सहकार्य एवं समन्वयमा विगतमा समेत विभिन्न योगाभ्यास गराउँदै आएको चर्चा गर्दै यो सम्झौता मार्फत आगामी दिनमा प्रहरी कर्मचारीहरू योगाभ्यासमा थप सहभागी हुने उल्लेख गर्नुभयो। 

कार्यक्रममा प्रहरी वरिष्ठ उपरीक्षक सुशील सिंह राठौरले शारीरिक, मानसिक र आत्मिकरूपमा स्वस्थ्य हुन योगाभ्यास महत्वपूर्ण हुने भएकोले यस सम्झौतामार्फत प्रहरी कर्मचारीहरू लाभान्वित हुने विश्वास व्यक्त गर्नुभयो ।    

सम्झौता अनुरूप नेपाल प्रहरी अन्तर्गतका तोकिएका कार्यालयहरू तथा तालिम प्रदायक निकायहरूमा संचालित तालिमका प्रशिक्षार्थीहरूलाई योगाभ्यास गराउने र तालिम प्रदायक निकायहरूमा योग प्रशिक्षक प्रशिक्षण गराउने लक्ष्य रहेको छ। कार्यक्रममा वरिष्ठ प्रहरी अधिकृतहरू एवं पतंजलि योग समिति नेपालका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?