Sunday November 27, 2022

कास्कीको घान्द्रुकमा बौद्धमार्गीहरूका लागि विद्यालय निर्माण हुने

९ आश्विन, २०७९ शीतलपाटीन्युज डटकम। 1220


कास्कीको घान्द्रुकमा बौद्धमार्गीहरूका लागि विद्यालय निर्माण हुने

शीशीतलपाटीन्युज डटकम।

कास्की। कास्कीको अन्नपूर्ण गाउँपालिका–११ घान्द्रुकस्थित ओप्लेंमा बौद्धमार्गीहरूका लागि (पाल डाकार छयोइदुब लिङ) विद्यालय निर्माण हुने भएको छ। 

कूल चार करोड रुपैयाँको लागतमा निर्माण गर्न लागिएको विद्यालय आगामी दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी काम बढाइने पाल ङाग्युर सङासङाग् छोइलिङ गुम्बा सराङ्कोटका धर्मगुरु गुप्ती गुरुङले जानकारी दिए। उनका अनुसार १० रोपनीको क्षेत्रफलमा विद्यालय निर्माण गरिनेछ। विद्यालयसँगै सङ्ग्रहालय,चमेना गृह,छात्रावास,भान्छाघर, गुफा बस्ने कुटी,मेडिटेशन र पूजा गर्ने हल र स्तुपासमेत निर्माण गरिने जनाइएको छ ।

विद्यालयका लागि अन्नपूर्ण गाउँपालिका–११ ओप्लेंका स्वर्गीय चन्द्रसिङ गुरुङ,लटे गुरुङको स्मृतिमा कुलबहादुर गुरुङ,रुपकुमारी गुरुङ,खुसीमान गुरुङ,चन्द्र गुरुङ र हङकङ निवासी विश्वसम गुरुङको परिवारले १० रोपनी निःशुल्क जग्गादान गरेको समाजसेवी अमृत लामा गुरुङले जानकारी दिए।

धर्मगुरु गुप्ती गुरुङले मानव जातिबीचको एकताले नै मानवता कायम हुने धारणा राखे। घान्द्रुक पर्यटकको केन्द्रविन्दु भएको उल्लेख गर्दै उनले विद्यालयले पर्यटन क्षेत्रमा थप महत्वपूर्ण योगदान दिने बताए। 

विद्यालयको एक कार्यक्रमबीच शिलान्यास गर्दै पूर्वराज्यमन्त्री प्रकाशबहादुर गुरुङले विद्यालयले पर्यटन क्षेत्रको विकाससँगै शैक्षिक क्षेत्रमा समेत योगदान पुग्ने बताए। घान्द्रुक पर्यटन क्षेत्रको केन्द्रविन्दु भए पनि विद्यार्थीहरू बौद्ध शिक्षा गाउँमा नै अध्ययन गर्ने वातावरण नरहेको बताउँदै उनले विद्यालयसँगै बौद्ध शिक्षाका लागि सहर झर्ने क्रम रोकिने विश्वास व्यक्त गरे। विश्वमा अहिंसा बढ्दै गएको बताउदै उनले बौद्ध धर्मको महत्व बढ्दै गएको उल्लेख गरे।

अन्नपूर्ण गाउँपालिका–७ का वडाध्यक्ष भरतमान गुरुङले बौद्ध विद्यालयको निर्माणले घान्द्रुकको विकासमा थप मद्दत पुग्ने बताए। तमु प्हे ल्हु सङ्घका भूतपूर्वअध्यक्ष क्याप्टेन रुपबहादुर गुरुङले विद्यालयले यस क्षेत्रको पर्यटकीय एवं शैक्षिक विकासमा योगदान पुग्ने धारणा राखे। उनले निर्माणको सहयोगार्थ ५० हजार रुपैयाँ पाँच सय पाँच सहयोग गर्ने घोषणा गरे।

साभार-गोर्खा मिडिया



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?