२४ आश्विन, २०७९
शीतलपाटीन्युज डटकम।
लन्डन । ग्रेटर रसमुर नेपाली कम्युनिटी (जीआरएनसी) ले ९ अक्टोबर आइतबार १० के र २ के (फन रन) आयोजना गरेको छ। ब्ल्याक वाटर भ्याली रनर्सको सहकार्य र रसमुर बरो काउन्सिलको विशेष सहयोगमा ति दौड भएका हुन् ।
बिहान १० बजे शुरु भएको १० के रनका लागि ६३७ जनाले नाम दर्ता गराएका थिए । त्यसमा दौड्ने नेपाली भने करिब ७० जना थिए। १० के रन सफल गर्ने लाई मेडल दिएको थियो भने रजिस्टर गर्नेले टि सर्ट पाएको थियो। त्यसै गरि २ के फन रन गर्नेले पनि मेडल पाएको थियो।
टेन के रनमा नेपाली सन्देश राईले दोश्रो स्थान जित्न सफल भएका छन्। टेन के रन अल्डरसटको क्वीन्स एभिन्यूबाट शुरु भएर बेजिङस्टोक क्यानल,वेष्टले ट्रेल हुंदै अल्डरसट रग्बी स्टेडियममा आएर अन्त्य भएको थियो। बिहान १०:१५ बजे शुरु भएको २ के फन रनमा करिब एकसय जना सहभागी भए। दौडमा नेपाली समुदायका नेता र धावकहरुको उत्साहजनक उपस्थिति रहेको ग्रेटर रसमुर नेपाली कम्युनिटी (जीआरएनसी) का अध्यक्ष मान गुरुङले जनाए।
अध्यक्ष गुरुङले मार्सल्स,बिभीआर रनर,धावकलाई टिसर्ट प्रायोजन गर्ने पिपल मोर्गेज र मार्सलहरुलाई खाना प्रायोजन गर्ने शिव कल्चरल सेन्टरप्रति आभार व्यक्त गरे।
वर्षेनी हुने दौडमा जीआरएनसीले विशेष भूमिका निर्वाह गर्ने गरेको छ। दौडका माध्यमबाट स्थानीय समुदायसंग अन्तरघुलन र मानिसहरुलाई स्वास्थ्य रहन प्रेरित गर्ने विश्वास अध्यक्ष मान गुरुङको छ।
उक्त दौडमा जीआरएनसीका तर्फबाट उपाध्यक्ष उत्तरबहादुर गुरुङले संयोजन गरेका थिए भने सहसंयोजक तथा महासचिव डा. विशाल गुरुङ र सल्लाहकार मेघ गुरुङको पनि विशेष योगदान थियो।