Sunday November 27, 2022

हेल्प नेपाल नेटवर्क यूकेमा नयाँ कमिटी,अध्यक्षमा सचिन श्रेष्ठ

२९ कार्तिक, २०७९ शीतलपाटीन्युज डटकम। 1471


हेल्प नेपाल नेटवर्क यूकेमा नयाँ कमिटी,अध्यक्षमा सचिन श्रेष्ठ

शीतलपाटीन्युज डटकम।

लन्डन। हेल्प नेपाल नेटवर्क यूकेमा नयाँ कार्यकारी समिती चयन भएको छ। लन्डनको स्ट्याटफोर्डमा सम्पन्न बोर्ड अफ ट्रस्टिजको विशेष बैठकले सचिन श्रेष्ठको अध्यक्षतामा नयाँ कमिटी निर्बिरोध निर्वाचित गरेको हो।

तीन वर्षे कार्यकालका लागि हेल्प नेपाल नेटवर्क यूकेको नेतृत्वमा आएका श्रेष्ठ विगत एक दशकयता सो संस्थामा कोषाध्यक्ष थिए। त्यस्तैगरि नवनिर्वाचित कमिटीमा उपाध्यक्ष यादव भण्डारी,महााचिि प्रदिप पनेरु,सचिव डा.सुदर्शन गुरुङ र कोषाध्यक्ष प्रतिमा जोशी छन्। कमिटीको सदस्यमा भगिरथ योगी,प्रसिद्ध प्रधान,कुलदीप प्रधान र लछुमन गुरुङ चुनिएका छन्। 

सदस्य योगीलाई संस्थाको मिडिया संयोजकको जिम्मेवारी पनि दिइएको छ। ९ सदस्यीय कार्यकारी कमिटीका सबै पदाधिकारी एवम् सदस्य स्वत: संस्थाको ट्रस्टी पनि रहने ब्यवस्था छ।

सन् १९९९ मा रविन्द्र मिश्रको पहलमा बेलायतबाटै शुरु भएको हेल्प नेपाल नेटवर्क युके नेपाल केन्द्रित परोपकारी संस्था हो। नेपालका लागि नेपालीकै सहयोगको अवधारणामा स्थापित संस्थाले अहिलेसम्म नेपालमा करोडौँ रुपैयाँको सहयोग गरिसकेको छ। 

स्वास्थ्य र शिक्षामा केन्द्रित नेटवर्कले नेपालका सय बढी स्कुलहरुमा स्कुल भवन निर्माण,लाइब्रेरी तथा इ-लाइब्रेरी स्थापना लगायतका कार्य गरिसकेको छ।

संस्थाले थुप्रै हेल्थ क्याम्पहरु सञ्चालन गर्नुको साथै मुगुको विकट गाउँमा हेल्थ पोस्ट स्थापना गरी सञ्चालन गर्दै आएको छ। नेटवर्कद्वारा काभ्रेको धुलिखेलमा सञ्चालित एक बाल गृहमार्फत् कयौं अनाथ र विपन्न परिवारका बालबालिकाले आश्रय र शिक्षा दिक्षा प्राप्त गरिरहेका छन्।

हेल्प नेपाल नेटवर्कका बेलायत र अमेरिका, अष्ट्रेलियासहित विभिन्न ११ मुलुकमा शाखा स्थापना भएका छन्। ती शाखाहरुले संकलन गरी पठाउने कोषबाट नेटवर्कले नेपालमा आफ्ना परोपकारी प्रोजेक्ट सञ्चालन गर्दै आएको छ। बेलायतमा पनि नेटवर्कको शाखा यहाँको च्यारिटी कमिसनमा दर्ता भएर सञ्चालन हुँदै आएको छ।

संकलित कोषको हरेक पैसा परोपकार मै खर्च गर्ने नीति बनाएको नेटवर्कले व्यस्थापकीय खर्चका लागि स्थापित छुट्टै अक्षयकोषको रकमबाट प्राप्त हुने ब्याज मात्रै खर्च गर्ने गरेको छ। यूके शाखाका नवनिर्वाचित अध्यक्ष श्रेष्ठले परोपकारका क्षेत्रमा नेटवर्कले चलाइरहेको अभियानमा बेलायतबाट सक्दो सहयोग र सहभागिता सुनिश्चित गर्न आफूले निरन्तर पहल गर्ने प्रतिवद्धता जनाएका छन्। 

श्रोत-नेपालीलिंक।



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?