Sunday April 02, 2023

सहारा युकेको १२औं च्यारिटी डिनर सम्पन्न

४ मंसिर, २०७९ शीतलपाटीन्युज डटकम। 1321


सहारा युकेको १२औं च्यारिटी डिनर सम्पन्न

पूर्ण गुरुङ।

लण्डन। नेपाली समुदाय बेलायतमा छुट्टै पहिचान बनाउन सफल सहारा युकेको १२औं वार्षिक च्यारिटी डिनर नाईट सफलतापूर्वक सम्पन्न भएको छ। गत शनिबार १९ नोभेम्बरका दिन अल्डरसटस्थित एम्पायर हलमा सम्पन्न भएको हो। बेलायतमा रहेका नेपाली युवाहरुलाई फुटबप्रति आकर्षण गर्न तथा अभिभाकत्व भूमिका निर्वाह गर्ने,परोपकारी कार्य गर्नेलगायतका उद्देश्यका साथ सन् २००८ सालमा स्थापना भएको सहारा युकेले प्रत्येक बर्ष च्यारिटी डिनर कार्यक्रमको आयोजना गर्दै आएको छ। सोही अनुरुप १२ औं च्यारिटी डिनर नाईटको आयोजना गरिएको हो।

बेलायतका लागि नेपाली राजदूत एवं प्रमुख अतिथि ज्ञानचन्द्र आचार्य र सहारा युकेका अध्यक्ष लेप्टन रिटायर्ड कुसाङ्ग गुरुङले संयुक्त रुपमा दिपप्रज्ज्वन गरी उद्घाटन गरिएको उक्त कार्यक्रमको शुरुवातमा बेलायतमा रहेका नेपाली युवालाई स्थानीय क्लवहरुसंग समन्वयगरी फुटबल प्रशिक्षण,सहारा एकेडेमीका बालबालिकाहरुलाई आवश्यक आर्थिक सहयोग, सन् २०१५ आएको महाभूकम्पबाट क्षतिग्रस्त विद्यालयहरुको पुर्ननिर्माण,नौलो घुम्ती पोखरालाई गरेको आर्थिक सहयोग,कोभिड १९ को महामारीको क्रममा गरिएको मानवीय सहायता,यसै बर्ष पाकिस्तानमा आएको बाढीबाट पीडितहरुलाई गरिएको आर्थिक सहयोगलगायत स्थापना कालदेखि हालसम्म गरिएको विभिन्न च्यारिटीमूलक कार्यसंगसंगै फुटबलको क्षेत्रमा गरिएको विभिन्न अभियानहरु समेटिएको बृत्तचित्र प्रर्दशन गरिएको थियो।

कार्यक्रममा बेलायतका  लागि नेपाली  राजदूत ज्ञानचन्द्र आचार्यले सहारा युकेले बेलायतका रहेका नेपाली युवाहरुलाई जोड्न सेतुको भूमिका खेलेको, फुटबल विकासका लागि गरेका विभिन्न प्रयास, फुटबलप्रति चाहना भएका विपन्न बर्गलाई गर्दै आएको आर्थिक सहयोगलगायतको महत्वपूर्ण कार्यको प्रसंशा गरे। साथै,उनले सहारा युकेले नेपालबाट टाढा रहेर पनि मातृभूमि नेपाल र नेपालीको लागि गरेको विभिन्न च्यारिटीमूलकको लागि धन्यवाद दिदै कार्यक्रमको पूर्ण सफलताको शुभकामना दिए।

बेलायतमा रहेका विभिन्न संघसंस्थाका अध्यक्ष एवं प्रतिनिधिहरुको बिशेष उपस्थिति रहेको उक्त कार्यक्रममा सहारा युकेका अध्यक्ष ले.रि. कुसाङ्ग गुरुङले सहारा युकेले हालसम्म फुटबल विकासका लागि गर्दै आएको विभिन्न प्रशिक्षण,सहारा एकेडेमी लगायत विभिन्न विपत्तीमा गरिएको आर्थिक सहयोगलगायतको चर्चा गर्दै सहारा युकेलाई सहयोग गर्ने सबै दानबीरहरुलाई धन्यवाद दिए। साथै उनले कार्यक्रम सफल बनाउन महत्वपूर्ण भूमिका खेलेका कार्यक्रमका संयोजक एवं निवर्तमान अध्यक्ष कुमार गुरुङ लगायत कार्यसमिति,सल्लाहकार,कलाकार, कार्यक्रमलाई आर्थिक सहयोग गर्ने विभिन्न प्रायोजक, व्यक्ति,संघसंस्था, उद्यमी,व्यापारी, व्यवसायीहरुलाई हृदयदेखिनै धन्यवाद दिए। त्यस्तै,उनले प्रमुख अतिथि राजदूत ज्ञानचन्द्र आचार्यलगायत उपस्थित सबै अतिथिहरुमा उपस्थितिका लागि धन्यवाद ज्ञापन गरे।

कार्यक्रममा सहारा युकेका सल्लाहकार कमल गुरुङले सहारा युकेको च्यारिटी सहयोग रकम संकलन गर्ने देखि विभिन्न अभियानमा दिएको योगदानलाई कदर गर्दै सहारा युके अवार्डबाट सम्मान गरियो। त्यस्तै, सहारा युकेका सल्लाहकार मिन प्रसाद गुरुङले विभिन्न् संस्थामा रहेर महत्वपूर्ण कार्य गरी सहारा युकेको गरिमालाई अझ उच्च बनाउन खेलेको बिशेष भूमिकालाई उच्च सम्मान गर्दै सहारा स्पेशल अवार्डबाट सम्मान गरियो।

त्यस्तै, सहारा युकेका पूर्व अध्यक्ष दीलिप गुरुङले  विभिन्न क्षेत्रमा गरेको उत्कृष्ट समाजसेवालाई कदर गर्दै बेलायतकी स्वर्गिय महारानीबाट एमबिइ पदक प्राप्त गरेको र यसै बर्ष नेपालकी राष्ट्रपति विद्यादेवि भण्डारीद्वारा सम्मानित भएकोमा उनलाई बधाई सहित सम्मान गरिएको थियो।

विविध सांस्कृतिक कार्यक्रमका साथ सम्पन्न भएको उक्त कार्यक्रममा नेपाली तारा प्रथम दिपक लिम्बुले विभिन्न गीतहरुमा प्रस्तुत् गरेका थिए। उनको गीतमा कार्यसमितिका पदाधिकारी,सदस्य, सल्लाहकार, अतिथिलगायतले सामूहिक नृत्य गर्दै कार्यक्रमको अन्त्यसम्म भरपुर मनोरन्जन लिएका थिए। त्यस्तै, गुरुङ चलचित्र निर्देशक एवं कोरियोग्राफर जसु गुरुङ र सयपत्री कल्चरल ग्रुपका कलाकारहरुले आकर्षक नृत्य प्रस्तुत् गरेका थिए। त्यस्तै कार्यक्रममा नयाँ सदस्यहरुलाई स्वागत,सहारा युकेका खेलाडिहरुलाई बधाई,कलाकार एवं कार्यक्रमका स्पोन्सरहरुलाई प्रसंशा प्रत्र प्रदान गरिएको थियो।

सहारा युकेका अध्यक्ष ले.रि.कुसाङ्ग गुरुङको अध्यक्षता,निवर्तमान अध्यक्ष कुमार गुरुङको संयोजन, महासचिव मनोज गुरुङको संचालनमा सम्पन्न कार्यक्रममा उपाध्यक्ष कृष्ण गुरुङले स्वागत मन्तब्य दिएका थिए भने ध्रुव गौतमले सांस्कृतिक कार्यक्रम संचालन गरेका थिए।

कार्यक्रमलाई सफल बनाउनका लागि  कार्यसमितिका पदाधिकारी,सल्लाहकार एवं सदस्यहरुले पाहुनाहरु स्वागत तथा सम्मान,प्रोजेक्टर,खानपान लगायतमा बिशेष भूमिका खेलेका थिए। त्यस्तै,सपन इन्टरटेन्टमेनका निर्देशक सपन राईले साउण्ड सिस्टममा बिशेष भूमिका खेलेका थिए।

कार्यक्रममा बेलायतस्थित कान्तिपुरका संवाददाता एवम एफएनजे युके पुर्ब अध्यक्ष नबिन पोखरेल,फोनिज युके अध्यक्ष गोमा राना,शीतलपाटीन्युज डटकमका सम्पादक बाचस्पति रेग्मी,फोटो एवम लाईभ गर्दै मीलन तमु गुरुङ र एस के गुरुङ समेत उपस्थित रहेको र भब्य सम्पन्न भयको थियो।



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?