Sunday November 27, 2022

लण्डनमा युद्ध साहित्य गोष्ठी र युद्ध गीत प्रतियोगिता सम्पन्न

५ मंसिर, २०७९ शीतलपाटीन्युज डटकम। 1326


लण्डनमा युद्ध साहित्य गोष्ठी र युद्ध गीत प्रतियोगिता सम्पन्न

विजय हितान,

लण्डन।

लन्डन। हालै लण्डनमा १३ जना गोर्खा भी.सी.को सम्झनामा युद्ध साहित्य गोष्ठी साथै युद्ध गीत प्रतियोगिता सम्पन्न भएको छ। विश्व नेपाली साहित्य महासंघ पश्चिम युके र विश्व नेपाली साहित्य महासंघ दक्षिण युके शाखाहरूको संयुक्त आयोजनामा यो कार्यक्रम भर्चुअल जुममा सम्पन भएको हो। युद्ध साहित्यलाई प्रवर्धन गर्ने हेतुले यस अन्तर्राष्ट्रिय स्तरको युद्ध गीत प्रतियोगितामा ४२ जना गीतकारको सहभागिता रहेको थियो। प्रतियोगितामा प्रथम मोरङकी तिला लेकाली,द्वितिय काठमाडौँका निनाम प्रणे थुलुङ र तृतिय इटहरीकी गायत्री लम्साल हुनु भएको छ। यस्तै युकेका प्रतिमा केसी र चिमखोले काइलाले सान्त्वना पुरस्कार प्राप्त गर्नु भएको छ।

शिकारी सरदार वंशु गुरुङ स्मृति प्रतिष्ठानद्वारा गीतको नगद पुरस्कार प्रायोजन गरिएको थियो। गीत प्रतियोगिताका निर्णायकमा कलाकार तथा गीतकार शशी थापा सुब्बा र गीतकार भावेश भुमरी हुनुहुन्थ्यो। विजयीहरूको घोषणा युद्ध गीत प्रतियोगिताका संयोजक साथै विनेसाम दक्षिण शाखा अध्यक्ष थिर थापा र सहसंयोजक गोमा रानाले गर्नुभएको थियो। रिमेम्वरेन्स डे अर्थात पप्पी डे को अवसर पारेर आयोजना भएको यस कार्यक्रमको प्रमुख संयोजक विजय हितान र सहसंयोजक औतारी साइँला हुनुहुन्थ्यो। मुख्यतः विगतका युद्धमा सहादत प्राप्त गरेका सैनिकलाई श्रद्धान्जली अर्पण गर्दै युद्ध सृजनाहरू वाचन गरेर यो कार्यक्रम शुरु गरिन्छ।

नेपाल,भारत,इजरायल,हङकङ,बेलायतबाट चार दर्जन भन्दा बढी व्यक्तिको सहभागिता रहेको थियो। देश विदेशमा रहनु भएका युद्ध साहित्य अनुरागी, साहित्यमा कलम चलाउने स्रजक, साथै निवृत्त तथा सेवारत सैनिक र तिनका परिवारको पनि उपस्थिति रहेको थियो।

युद्ध साहित्यलाई प्रवर्धन गर्ने मुख्य उदेश्य रहेको यस कार्यक्रममा बृटिश गोर्खा पल्टन, इन्डियन गोर्खा पल्टन, सिंगापुर पुलिस, गोर्खा रिजर्भ यूनिट ब्रुनाई, नेपाली सेना,नेपाल प्रहरीलाई पनि सहभागिताको लागि आधिकारीक निमन्त्रणापत्र पठाइएको थियो। यी संस्थाहरुबाट सर्जक/प्रतिनिधिहरुको बाक्लो उपस्थिति थियो। पल्टनमा खेलकुद तथा गीतसंगीतजस्ता अतिरिक्त कृयाकलापलाई प्रोत्साहन दिइन्छ तर साहित्य लेखनलाई प्रोत्साहन दिइन्न। अहिलेको उत्तरआधुनिक युगमा सैनिकमा लेखनको संस्कार विकास गरियो भने मात्रै युद्धका इतिहास स्वयं आफैँले कोर्न सकिन्छ भन्ने उद्देश्यले गोर्खाली पल्टन र सेना तथा प्रहरीलाइ यो गोष्ठीमा समावेश गर्ने प्रयास गरिएको हो।

सिर्जना वाचनका साथसाथै युद्ध साहित्यको सिद्धान्त र यसको महत्त्व बारेमा पनि प्रमुख वक्ताहरूद्वारा गहन विचार पेस गरिएको थियो। हङकङ निवासी ‘आयो गोर्खाली’ पुस्तकका लेखक तथा पूर्व वृटिश गोर्खा सैनिक टीम आई गुरुङले अहिलेसम्म गोर्खालीको वीरता मात्रैको इतिहास अरुले लेखिदिएका छन्, अब हामी स्वयंले नै हाम्रो योगदानबारे लेख्न पर्छ भन्ने विचार व्यक्त गर्नु भयो। सिलगुढी, भारतबाट निम्त्याइएका अर्का प्रमुख वक्ता नेपाली युद्ध उपन्यासका अध्येता डा.भूपेन घिसिङ्ले युद्ध साहित्य एक योद्धाको जीवनको टिपोट हो भन्नु भयो। उहाँले युद्ध अभिघात, युद्ध विनाश, युद्ध अपराध, साहस र वीरता इत्यादि युद्ध साहित्यका तत्त्वहरू हुन भनी प्रष्ट पार्दै युद्धले सिर्जना गर्ने मानसिक पीडा र आघातलाई साहित्यमा त्यति लेखिएको पाइँदैन भन्ने कुरा राख्नु भएको थियो। युकेलाई आफ्नो कर्मथलो बनाउनु भएका अर्का वक्ता अन्तर्राष्ट्रिय सम्बन्धका अध्येता तथा वृटिश गोर्खा सैनिक पूर्व मेजर डा.प्रेमबहादुर आले मगरले २०० वर्षभन्दा लामो गोर्खालीको इतिहासको संवर्धन र प्रवर्धन अब हामी स्वयंले नै लेखेर हुनसक्ने विचार राख्नु भयो।

कार्यक्रममा प्रमुख अतिथि विनेसाम केन्द्रीय अध्यक्ष सुरेन्द्र परदेशी लिम्बू हुनुहुन्थ्यो। यसको सभापतित्व विनेसाम पश्चिम शाखा अध्यक्ष लाल सुन्दर राईले गर्नुभएको थियो। कार्यक्रम संचालन अमित थेवे र विजय हितानले गर्नु भएको थियो।

स्मरण रहोस्, सन २०१९ देखि युद्ध साहित्य गोष्ठी र गत वर्ष २०२१ देखि बेलायतबाट ‘गोर्खा हिष्ट्री मन्थ’ को सुरुआत गरिएको छ। गोर्खा हिष्ट्री मन्थ अक्टोबर ११ देखि नोभेम्बर ११ सम्म युद्ध, द्वन्द्व, गोर्खा, पल्टन, लाहुरे, सैनिकसम्बन्धी साहित्यिक लेख रचना प्रकाशन साथै यिनै विषयमा परिचर्चा कार्यक्रम गरेर मनाइन्छ। यसै सन्दर्भमा यसै अभियानको नेपाल प्रतिनिधि भीम विरही राई, भारत प्रतिनिधि सैनिक कवि विशाल केसी, ब्रुनाइ प्रतिनिधि एल एन ठुले साथै भारतीय गोर्खा भूपू संगठनका केन्द्रीय अध्यक्ष कर्णेल विजयकुमार राई, गोर्खा राइफलका गोर्खा मेजर जीवन पुन,डा सुमया राई,मेजर दिल्लिकुमार राईले पनि शुभकामना मन्तव्य दिनुको साथै आआफ्नो सृजना वाचन गर्नु भएको थियो।



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?