Sunday April 02, 2023

सहनाई बजिसकेको रहेछ : पुस्तक समीक्षा

६ मंसिर, २०७९ शीतलपाटीन्युज डटकम। 1561



पुस्तक समीक्षा

सहनाई बजिसकेको रहेछ

कवि हरिसिंह थापालाई वधाई

सुरेशजङ्ग शाह

संस्थापक तथा निवर्तमान अध्यक्ष 

नेपाली साहित्य विकास परिषद् युके-स्थापित 1995 (विसं 2051) लण्डन

बाटोमा ठक्कर खाँदै उछिट्टिएको

ढुङागा हुँ म

मलाई दर्द थाहा छ

आगो बल्दाबल्दै मिल्किएको

झिल्का हुँ म

मलाई मर्म थाहाछ

               यी पङ्क्ति 'मेरो उपस्थिति' शिर्षक कवितामा  कवि हरिसंह थापाले आफ्नो कविता सङ्ग्रह 'थेम्स नदीका नागबेलीहरू' भित्र  यस धर्तिमा आफ्नो उपस्थितको जाहेरी गर्ने क्रममा अभिव्यक्त गरेका काव्यीक भावनाहरू हुन। आफ्ना मनभित्र उब्जनी भएका सिर्जनाहरूलाई सटिकरूपमा काव्यमा उतार्ने शैली कवि थापाको प्रशंसनीय छ।

                  कथा कविता गीत गजल नियात्रा र उपन्यास आदि साहित्यका सबै विधामा कलम चलाउने  नेपाली साहित्य विकास परिषद् युके का पूर्व अध्यक्ष वरिष्ठ साहित्यकार कवि हरिसंह थापाका करीव एक दर्जनजति कृतिहरू प्रकाशित भइसकेका छन् र यस वर्ष प्रकाशित दुई कृति 'थेम्स नदीका नागबेलीहरू' कवितासङ्ग्रह र 'पद्मिनी' उपन्यास हालै  लन्डनमा सम्पन्न ११४औँ  महाकवि लक्ष्मीप्रसाद देवकोटा जयन्ती समारोहमा परिषद्का पदेन संरक्षक महामहिम राजदूत ज्ञानचन्द्र आचार्यबाट र नेपलमा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीबाट विमोचित भएका हुन्। नेपाली साहित्य विकास परिषद् युके र परिषद्को नेपाल च्याप्टरबाट यस वर्ष प्रकाशित गरिएका तीन वटा कृति मध्य परिषद्की उपाध्यक्ष कवयित्री डा.सुधा श्रेष्ठको नविन कृति 'थेम्स नदीका दुई किनारा' कवितासङ्ग्रह बारे यस अघि नै यसै www.sitalpatinews,com अनलाइन न्यूज मिडियाबाट पुस्तक समीक्षा प्रकाशित गरिसकेको छु।  यस अङ्कमा वरिष्ठ कवि हरिसिंह थापाका यी दुई कृति बारे परिषद्को कार्य नीति अनुरूप पुस्तक समीक्षा पाठक समक्ष  प्रस्तुत गर्नु अघि यहीँनिर यस नेपाली साहित्य विकास परिषद् युके र नेपाल च्याप्टरबाट प्रकाशित यी कृतिहरू नेपालमा रत्न पुस्तक भण्डार वागबजारमा र बेलायतमा नेपाली साहित्य विकास परिषद् युके को सचिवालय वा स्वयम लेखकहरूबाट प्राप्त गर्न सकिने अवगत  पाठक वर्गमा  गारउँदछु।

               जन्म भूमि नेपाल र कर्म भूमि बेलायतको जीवनशैली,सभ्यता,भौतिक विकास र प्राकृतिक सौन्दर्यलाई छोएर 'थेम्स नदीका नागवेलीहरू'  कवितासङ्ग्रह भित्र विभिन्न शिर्षकहरूमा  ४६ वटा कविताहरू समावेस गरिएका छन्। कुनै भावपरख कुनै वस्तुपरख र कुनै वर्णात्मक शैलीका कविताहरू सटिक र  मर्मस्पर्सी छन् । कविले कर्म भूमिको विकासको शैली र सीप जन्मभूमिमा उतार्न प्रेणा जगाउने प्रयत्न पनि आफ्ना सिर्जनाहरूमा गरेका छन। आफूले देखेका, भोगेका विषय वस्तुहरूलाई नै सिर्जनाहरूमा उतारेर बेलायतका थुप्रै ठाउँहरू र रीतिथितिहरूको जानाकारी दिने प्रयास पनि गरेका छन्। कविले आफ्ना कविताहरूमा माया प्रीति, देशभक्ति,राष्ट्र प्रेम, पर्यावरण,प्रकृति प्रेम,दु:ख,दर्द,व्यङ्ग्य आदि प्रसङ्गहरूलाई उतारेका छन् । विकासको शिखरमा चुमेको लन्डन सहरमा बसे पनि कविलाई आफू जन्मेको गाउँ प्यारो लाग्छ र यसरी कवितामा पोख्छन् :

झल्झली आउँछ, झझल्को मनमा

जन्मेको  मेरो ठाउँ

स्वर्ग नि भन्दा कमी चाहिँ छैन

 त्यो मेरो सत्लुङ गाउँ

                (मेरो सत्लुङ गाउँ)

               कृतिभित्र मन्तव्य दिने क्रममा नेपाली साहित्य विकास परिषद् नेपाल च्याप्टरका प्रमुख सल्लाहकार वरिष्ठ कवि साहित्यकार गोपाल पराजजुली लेख्छन् : थेम्स नदीको नागबेली छ, लन्डन सहरमा। हरिसिंहको भावनाको नाबेली छ, बेलायतदेखि नेपालसम्म। यी नागबेलीहरूले कतै आँखा समाउँछन् ब्ल्याकवाल टनेलमा। कतै हिँडाउँछन्  सत्लुङमा।

थेम्स !

तिमी कस्तो सभ्य

कस्तो शान्त 

तिम्रो नागबेली 

चिटिक्क चुल्ठो बाटे झैँ

सहरभित्र तिम्रो प्रवेश 

एक कुसल गृहणी झैँ 

                (थेम्सका नागबेलीहरू)

                 प्रकाशकीय लेखनीको  क्रममा पुस्तक भित्र यक कृतिका बारेमा नेपाली साहित्य विकास परिषद् नेपाल च्याप्टरकी अध्यक्ष वरिष्ठ साहित्यकार इल्या भट्टराई लेख्छिन् : अक्षरहरूलाई माध्यम बनाएर आफ्ना अनुभूतिरू कागजमा उतार्न सक्नु आफैमा एउटा विशिष्ट कलात्मक सीप हो। कवि हरिसिंहले थेम्स नदीका नागबेलीहरू भित्र आफ्नो देशलाई अक्षरको माध्यमले सुम्सुम्याएका छन्। माया गरेका छन्। आफ्नो कर्मभूमिलाई पनि माया गर्दै यसका राम्रा पक्षहरूको चर्चा गर्दै आफ्नो देशमा पनि यस्तै भई दिए हुन्थ्यो भन्ने अतृप्त आकांक्षा कवितामा पोखेका  छन् :

बेलायतका सडक छेउ वा पार्कहरूमा

बान्की परेका

साना ठूला रूखवृक्षहरू र

हरियो वनको रौनक देख्दा

कमिसनको चक्करमा परेर

सकिदै गएको हाम्रो चार कोसे झाडी

वनजङ्गलको निर्मम् फडानी देखेर

मेरो स्वर्गको टुक्रा जस्तो सुन्दर देश 

कति रोएको होला!

                   (बेलायतको लोकल पार्क र प्रदेशी मन)

                 प्रस्तुत कृतिमा शुभकामना मन्तव्य  राख्दै नेपाली साहित्य विकास परिषद् युके का अध्यक्ष वरिष्ठ कवि कोमल मल्ल लेख्छन् : थेम्स नदीका नागबेलीहरू कृति भित्र वरिष्ठ  कवि  हरिसिंह थापाले आफ्नो मनभित्रको सौन्दर्य विभिन्न शिर्षकमा मन छुने गरी पस्केका छन्। मातृभूमिबाट टाढा रहे पनि कवितामा उनी देश बोल्छन्,देश सुन्छन् र देश लेख्छन्। देशको अवस्था प्रति चिन्ता व्यक्त गर्छन् :


बाली लगाउनु छ

मल आउँदैन

परिवार पाल्नु छ

रोजगार पाउँदैन

धारा सुक्खा छन्

पानी आउँदैन

अरू त सन्चै छ नेताज्यू

कस्तो छ?

सोधनी गर्नु भयो

चुनाब आए छ क्यारे!

               (चुनाब) 

                  पुस्तक भित्र आफ्नो मन्तव्य राख्दै स्वयम् लेखक कवि हरिसिंह थापा लेख्छन् : आफ्नो जन्मभूमिबाट टाढा पुगे पछि मात्र थाहा हुँदो रहेछ मुटूभित्र स्वदेशको माया कति उकुसमुकुस भएर बसेको हुँदोरहेछ भनेर! मलाई लाग्छ त्यही मायाको उत्सर्गले सायद मलाई सिर्जानाको हुटहुटी जगायो र आज एउटा पहिचान बनायो।

न्यायको तराजु

हारेको बेला 

मेरो आवाज 

लावारिस परेको छ 

मेरो अङ्ग कुल्चिएर

सीमाना अतिक्रमणमा परेको बेला 

खलनायकहरू चमत्कारको झाँसा दिएर

यहाँ टुनामुना देखाइरहे छन्!

                     (देशको आत्मा बोल्छ)

                  लन्डनको मध्य भागमा नागबेली परेर लमतरान्न पसारिएको थेम्स नदीको सौन्दर्य र सामरिक महत्त्व हिजो बाल्यकालमा नेपालमा हुँदै पाठ्यपुस्तकमा पढेको झल्को दिने गरी  वरिष्ठ कवि हरिसिंह थापाले बढो सुन्दर शैलीमा आफ्ना कविताहरूको समिश्रण यस 'थेम्स नदीका नागबेलीहरू' कृतिभित्र प्रस्तुत गरेका छन् र कवि थापाले मायाप्रीतिका कुरामा पनि बढो मीठो सिर्जना गरेका छन् :

गुलाफको फूल

एक थुङ्गा

उनको हातमा थमाएको दिन

मेरो खुसी सगरमाथा उक्लन पुग्यो 

मैले हिउँदलाई वसन्त देख्न थालेँ  !

                     (पहिलो प्रेम)

                सबै प्रेमीहरू पिरतीको बाटोमा सफल हुँदैनन् तर त्यही मायाप्रीतिको सम्मानका लागि पनि सफल जीवन बाँच्न सक्नु पर्छ । हतारमा अप्रिय कुनै घटना घटाउनु हुँदैन भन्ने सकारात्मक सन्देश पनि आफ्ना कविताहरूमा दिन पछि परेका छैनन् कवि आफना सिर्जनाहरूमा :

आफूले आफैलाई नचिन्ने

मेरा ती बुख्याँचा जस्तै 

ब्ल्याक एण्ड ह्वाइट तस्बिरहरू

दुई दिन के मात्र 

गयल हाजिरी हुँदा 

घरनिर

सहनाई बजिसकेको रहेछ ! 

                    (रित्तो बार्दली)

                 पाठक वर्गहरूले प्रस्तुत कृति 'थेम्स नदीका नागबेलीहरू' भित्र जत्ति नै सबै स्वादहरूले भरिएको साहित्यिक परिकार पाउनु हुनेछ उत्ति नै  चट्ट चटनीको स्वादले दिने तेजीलो स्वादको छुट्टै मजा पनि  पाउनु हने छ। लेखकमा शुभकामना ।

-०-

क्रमस: अर्को अङकमा।



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?