१३ मंसिर, २०७९
शीतलपाटीन्युज डटकम।
पोखरा। रारा चाउचाउको उत्पादक हिमश्री फुड्स प्रालि र सहारा क्लब पोखराबीच मुख्य प्रायोजक गर्ने सम्झौता भएको छ। क्लब र फुड्सबीच थप १० वर्ष थप सहकार्य गरेर जाने सम्झौता भएको हो। मंगलबार हिमश्री फुड्सकी अध्यक्ष प्रेमकुमारी केसी र क्लबका अध्यक्ष हरिराम गुरुङले थप सहकार्य गरेर जाने सम्झौता पत्रमा हस्ताक्षर गरेका छन।
सम्झौता पत्रमा हस्ताक्षर गर्दै अध्यक्षद्वय केसी र गुरुङले कागजी रूपमा १० वर्ष भए पनि अझै थप लामो समय पनि सहकार्य गरेर जाने प्रतिबद्धता जनाए।
आहा रारा गोल्ड कपको रूपमा हुँदै आएको यो प्रतियोगितालाई ०८८ सालको २२ औं सँस्करणसम्म "आहा रारा पोखरा गोल्ड कप फुटबल" प्रतियोगिताको नामबाट सञ्चालन गरिने उल्लेख छ। सम्झौतापत्रमा हस्ताक्षर गर्न मंगलबार आयोजना गरिएको कार्यक्रममा बोल्दै हिमश्री फुड्सका निर्देशक किरण केसीले बुबाले दिएको मार्ग निर्देशन अनुसार आफ्नो परिवार र प्रालि थप सहकार्य गर्न तयार रहेको सुनाए।
किरण स्वर्गीय सूर्य बहादुर केसीका माइलो छोरो हुन्। बुबाले सानैदेखि समाजसेवामा संलग्न हुनुपर्छ भन्नुहुन्थ्यो। यो उहाँले गरेकै कामको निरन्तरता हो, केसीले भने। यो भन्दा अघि पोखरा सभागृहमा यसरी नै हस्ताक्षर हुँदै गर्दाको क्षण मलाई याद छ। मेरो आँखा अगाडि आइरहेको छ। सहारासँग यो यात्रा दीर्घकाल सम्म पु-याउने हाम्रो प्रतिबद्धता जनाउन पनि चाहन्छु।’
हिमश्री फुड्सले क्लबलाई प्रतियोगिता आयोजना गरेको पहिलो तीन वर्ष १८ लाख, दोस्रो तीन वर्ष २१ लाख,तेस्रो तीन वर्ष २४ लाख र २०८८ सालमा २७ लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गर्ने सम्झौता भएको हो। प्रालिले अतिरिक्त आन्तरिक खर्च बापत पहिलो प्रत्येक तीन वर्ष ४ लाख ५० हजार, दोस्रो प्रत्येक तीन वर्ष ५ लाख २५ हजार, तेस्रो प्रत्येक तीन वर्ष ६ लाख २५ हजार र अन्तिम २०८८ सालमा ७ लाख रूपैयाँ क्लबलाई प्रदान गर्ने छ। प्रतियोगिताको २० औं सँस्करणसम्मको यात्रा सफलतापूर्वक सम्पन्न भएको क्लबका अध्यक्ष हरिराम गुरुङले बताए।