Saturday January 28, 2023

प्रा. सुवेदीको नाममा रोयल एसियाटिक सोसाइटीमा पुरस्कार स्थापना

१७ मंसिर, २०७९ शीतलपाटीन्युज डटकम। 1231


प्रा. सुवेदीको नाममा रोयल एसियाटिक सोसाइटीमा पुरस्कार स्थापना

GNN News,

लन्डन। बेलायतको रोयल एसियाटिक सोसाइटीले नेपालबारे अंग्रेजीमा प्रकाशित कुनै विशिष्ट पुस्तक वा आलेखलाई प्रदान गर्नेगरी  प्रा. सूर्यप्रसाद सुवेदीको नाममा एक वार्षिक पुरस्कार स्थापना गरेको छ । संसारभरबाट नेपालसम्बन्धि प्रकाशित पुस्तकलाई  उक्त पुरस्कार प्रदान गरिने छ।

रोयल सोसाइटीद्वारा प्रकाशित एक विज्ञप्तिमा उक्त पुरस्कार सन् २०२३ देखि वर्षेनी प्रदान गरिने जनाइएको छ । यसका साथै सोसाइटीले उक्त पुरस्कार विजेताबाट प्रत्येक वर्ष प्रा सुवेदीको नाममा एक प्राज्ञिक प्रवचन आयोजना गर्ने पनि बताएको छ। 

संस्कृतका विद्वान हेनरी टमस कोल्ब्रुकले सन् १८२३ मा स्थापना गरेको  'रोयल एसियाटिक सोसाइटी अफ ग्रेट ब्रिटेन एण्ड आयरल्याण्ड' ले आउँदो वर्ष (सन् २०२३ मा) आफ्नो स्थापनाको २०० औं वर्षगाँठ मनाउँदै छ।

सोसाइटीले एसियाली इतिहास, भाषा, संस्कृति र धर्मबारे अध्ययन, अनुसन्धान र प्रकाशनलाई सघाउनुका साथै विभिन्न विषयमा व्याख्यान तथा सेमिनारहरु पनि आयोजना गर्दछ। सोसाइटीको त्रैमासिक जर्नल क्याम्ब्रिज युनिभर्सिटी प्रेसले छाप्ने गर्दछ।

 लमजुङमा जन्मी–हुर्की अक्सफोर्ड विश्वविद्यालयबाट विद्यावारिधि गर्ने पहिलो नेपाली र अक्सफोर्डबाटै कानूनमा महाविद्यावारिधि जस्तो प्राज्ञिक क्षेत्रको सर्वोच्च उपाधिसमेत हासिल गर्ने प्रा. सुवेदी सम्भवतः सबैभन्दा धेरै राष्ट्रिय र अन्तर्राष्ट्रिय मानसम्मान पाउने नेपाली हुन् । 

मानव अधिकार र अन्तर्राष्ट्रिय कानूनको क्षेत्रमा उत्कृष्ट योगदान दिएको भन्दै बेलायतकी महारानीबाट उनले मानार्थ ओबीई र मानार्थ क्वीन्स काउन्सेल जस्ता विशिष्ट कानूनविदहरुलाई दिइने उच्च उपाधि प्राप्त गरेका थिए। मुलुकलाई महत्वपूर्ण योगदान दिए वापत उनले नेपालका तत्कालिन राजा र राष्ट्रपतिबाट उच्च मानपदवी पाएका छन्।

 प्रा सुवेदीका अक्सफोर्ड विश्वविद्यालयका झन्डै ३० वर्ष अघिका सहपाठी अमेरिकी नागरिक डा. जेम्स बुसुटिलले आफ्नै खर्चमा रोयल एसियाटिक सोसाइटीमा ‘प्रा. सूर्य सुवेदी पुरस्कार’ स्थापना गरेका हुन् । 

निरन्तर नेपालको सेवा

भौतिक रूपमा विदेशमा रहेपनि निरन्तर मुलुकको सेवा गर्दै आएका प्रा सुवेदीले सरकारमा जो आएपनि परि आउँदा राष्ट्रहितका लागि अन्तर्राष्ट्रिय र राष्ट्रिय कानूनका महत्वपूर्ण विषयमा सबैका साझा व्यक्तिको रूपमा नेपालका सबै प्रकारका सरकारलाई सल्लाह दिंदै आएका छन्। 

त्यसैगरि सन् २०२२ मा अमेरिकासंगको एमसीसी सम्झौता संसदले अनुमोदन गर्ने कार्यमा उनले दिएको अन्तर्राष्ट्रिय कानूनी सल्लाहले एक किसिमले निर्णायक भूमिका खेलेको थियो । 

उनले अन्तरराष्ट्रिय कानूनका प्रायः सबै आयाममा १२ वटा विश्वस्तरका ग्रन्थ र ६० भन्दा बढी अनुसन्धानात्मक लेख संसारका ख्यातिप्राप्त जर्नलहरुमा प्रकाशित गरेका छन् । 

गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदका अध्यक्ष कुल आचार्यले  रोयल एसियाटिक सोसाइटीले  प्रा. सूर्यप्रसाद सुवेदीको नाममा एक वार्षिक पुरस्कार स्थापना भएको समाचार सुन्दा साह्रै खुसी लागेको बताए। 'एनआरएनए अभियानका संस्थापक मध्ये एक प्रा. सुवेदी एनआरएनए विधान तर्जुमा समितिका संयोजक हाम्रा अग्रज प्रा. सुवेदीलाई हार्दिक बधाई ज्ञापन गर्दै सामाजिक तथा प्राज्ञिक क्षेत्रमा उहाँको निरन्तर योगदानको कामना गर्दछु,' आचार्यले भने।  

त्यस्तै ब्रिटेन नेपाल लयर्स एसोसियसनले पनि प्रा सुवेदीलाई बधाई दिएको छ।



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?