२७ मंसिर, २०७९
शीतलपाटीन्युज डटकम।
काठमाण्डौ। पाँचथरको ओयाम हाल याङ्वरक–३ मा जन्मिएर पछिल्लो समय बेलायतबाट नेपाली साहित्य सिर्जना गरिरहेकी साहित्यकार हुन् लिला सेलिङ माबो। प्राय बेलायतमा हुने रंगभेद र अल्पसंख्यक विभेदलाई उनले साहित्यमा लेख्ने गर्छिन्। यसअघि ‘लाहुरेनी पीडा’ कवितासंग्रह प्रकाशन गरेकी सेलिङको भर्खरै संस्मरणसंग्रह ‘मेमोअर्ज अफ अ गोर्खा वाइफ ड्युरिङ लकडाउन’ पाठकमाझ आएको छ। अथर हाउस बेलायतको प्रकाशन रहेको यस पुस्तकलाई गोर्खा महिलाहरुको पहिलो आवाजको रुपमा लिइएको छ। सेलिङ अंग्रेजी,याक्थुङ् भाषामा कविता लेख्ने गर्छिन् भने लेखहरु अंग्रेजीमा लेख्ने गर्छिन्। उनीसँग नेपाल मामिलाका लागि सीता तुम्खेवाले गरेको कुराकानी यहाँ प्रस्तुछ छ।
भर्खरै पाठक माझ आएको तपाइँको संस्मरण संग्रह ‘मेमोअज अफ अ गोर्खा वाइफ ड्युरिङ लकडाउन’ बारे केही बताइदिनोस् न !
यो अंग्रेजी विधामा लेखिएको पुस्तक हो । यस संस्मरणसंग्रहमा लक लकडाउनमा मैले भोगेका कुरालाई कैद गरिएको छ। यश पुस्तकलाई अंग्रेजी कम्पनी ‘ओथर हाउस डटकम’ ले गत फेब्रुअरी २२ मा विमोचन गरेका थियो। नेपालमा पनि अन्तरक्रिया तथा छलफल कार्यक्रम राख्यौं।
अंग्रेजीमै लेख्नुको कारण ?
अंग्रेजीमा लेख्दा ‘वल्र्डवाइड’ हुन्छ, सबैले पढ्छन् र बुझ्छन् भन्ने लागेर हो। अहिलेका हाम्रा नेपाली बच्चाहरू प्रायः नेपाली पढ्दैनन् त्यसैले उनीहरुले पनि पढ्लान् कि भनेर कोसिस गरेको हुँ। अर्को कुरा सिक्ने रहर पनि हो।
पाठक प्रतिक्रिया कस्तो पाइरहनुभएको छ ?
यो पुस्तक अनलाइन,एमाजोन तथा गुगलमा भएको हुँदा सबै पाठकसम्म सहजै पुगेको छैन। पढ्नुहुने पाठकहरूले राम्रो प्रतिक्रिया दिनुभएको छ। अंग्रेजीमा यो मेरो पहिलो अभ्यास हो,त्यति धेरै आशावादी पनि छुइनँ।
कतिपय पुस्तकहरू शब्दका भारी मात्रै हुन्छन्, छनौट गरेर मात्रै पुस्तक पढ्नुपर्छ भन्ने पाठकहरूको भनाइ सुनिन्छ, आफ्नो पुस्तकबारे तपाइको धारणा के छ ?
छनौट गरेर पढ्नुपर्ने ‘क्याटगरी’ मा मेरो पुस्तक पर्दैन । यो मेरो पहिलो अभ्यास हो । मैले तथ्यपरक बिषयहरू समेटेको छु। तथ्यपरक विषय छनौटमा नपर्न सक्छन्। लकडाउनको परिस्थिति, विभेदको विषय र विभेदमा परेका गोर्खाहरूको मुद्दाहरूलाई मैले लेखेको हुँ। यो छनौट गरेर पढ्ने पुस्तक नहोला तर प्रयोगमा भने अवश्य आउनेछ।
पुस्तकमा ती मुद्दाहरूबारे समस्या मात्रै देखाइएको छ कि,समाधानको विकल्प पनि छन् ?
समाधानका पाटाहरू पनि छन्।
‘मेमोअज अफ अ गोर्खा वाइफ ड्युरिङ लकडाउन’ पुस्तक कभर
लेखन कहिलेबाट सुरु गर्नुभयो?
फुटकर लेखहरू त विद्यार्थी उमेरमा पनि लेख्थें, पुस्तक नै लेख्छु भन्ने योजना भने थिएन । त्यसका लागि समय लाग्यो ।
पुस्तक अन्तरक्रिया कार्यक्रममा यहाँले भन्नुभयो– मैले बच्चाहरू हुर्काएपछी पढ्न सुरु गरेँ र जिरोबाट सुरु गर्नुप-यो। यसलाई प्रस्टाइदिनोस् न?
म नेपालमा शिक्षासेवा पास गरेर जागीर खाइरहेको थिएँ। म बेलायत जानेबेला ‘हेड टिचर’ थिएँ। तर मैले नेपालमा पढेको शिक्षा बेलयतमा काम लागेन। म अंग्रेजी शिक्षक तर मैले बोलेको भाषा त्यहाँ बुझेनन् । त्यहाँ अंग्रेजीको लेवल हुन्छ। सबैभन्दा तल्लो लेवलबाट मैले अंग्रेजी भाषा पढ्न सुरु गरेकी हुँ । बेलायतमा ‘सर्टेन लेवल’को अंग्रेजी पास गरेर मात्रै एकेडेमिक कोर्स गर्न पाइने हुँदा मैले पढ्नैपर्ने बाध्यता थियो।
पढाइ कहाँ पुर्याउनुभयो त ?
भर्खरै छोरीसँगै मास्टर्स सकाएँ ।
युरोपमा हुने विभेदहरू बारे बताइदिनोस् न ?
विभेद सबै ठाउँमा हुन्छ। नेपालमा जातीय विभेद भएजस्तै युरोपमा रंगभेद हुन्छ त्यससँगै अल्पसंख्यकहरू पनि विभेदमा परेका हुन्छन्। त्यस्ता विभेदको चपेटामा गोर्खाहरू पनि परेका छन्।
व्यक्तिगत प्रश्न सोध्न चाहेँ, शिक्षक सेवा पास गरेर हेडमास्टरको जिम्मेवारी निभाइरहनुभएको थियो, कसरी बेलायत पुग्नुभो?
ब्याचलर प्रथम बर्ष पढ्दै गर्दा युके आर्मीसँग मेरो विवाह भयो। त्यतिबेला शिक्षक सेवा आयोगको परीक्षा दिइसकेको थिएँ। विवाह पछि नतिजा आयो। म पास भएँ र नियुक्त भएँ। जागीर खाइरहेको थिएँ । अध्ययन पनि गरिरहेको थिएँ । ७ बर्षपछि भने श्रीमानसँगै बेलायत जानुपर्ने भयो र गएँ।
अन्त्यमा ?
अन्त्यमा पाठकहरुप्रति आभार प्रकट गर्दै अन्य पाठकहरुलाई पढिदिन आग्रह छ । यस संस्मरण गुगल, अमाजोन र मोबाइल लागि किन्डल एप्समा उपलब्ध छ। युकेमा भने नेशनल लाइब्रेरीहरुमा उपलब्ध छ। यो पुस्तक गोर्खा महिलाहरु सम्बन्धि अध्ययन गर्ने उपयुक्त सन्दर्भ सामग्री पनि हो,कतिले प्रयोग गर्नु भएको छ।
( साभार-नेपालमामिला)