१ पुष, २०७९
पोखरा स्पोर्टस।
प्रदेश खेलकुद परिषद गण्डकीको सदस्य सचिव नियुक्ति प्रक्रिया अघि बढ्यो
सिफारिस समितिमा मन्त्री गुरुङ, सचिव अधिकारी र मञ्चका अध्यक्ष पराजुली
पोखरा। गण्डकी प्रदेश सरकारले प्रदेश खेलकुद परिषद गण्डकीको सदस्य सचिव नियुक्ति प्रक्रिया अघि बढाएको छ।
मन्त्री परिषदको बुधबार बसेको बैठकले परिषदको रिक्त सदस्य सचिव नियुक्ति प्रक्रिया अघि बढाएको हो। प्रदेश खेलकुद परिषदका सदस्य सचिव तेज बहादुर गुरुङको ६० वर्षे उमेर हदका कारण गत कार्तिक २४ गते पदावधी सकिए पछि आगामी चार वर्षका लागि प्रदेश सरकारले नियूक्ति प्रक्रिया अघि बढाएको हो।
प्रदेश खेलकुद विकास ऐन २०७७ को परिच्छेद ४ को उपदफा १७ को ३ बमोजिम सदस्य सचिव नियूक्ति गर्ने प्रावधान रहेको छ। सोही परिच्छेदको उपदफा ३ बमोजिम प्रदेश सरकारले यूवा तथा खेलकुद मन्त्रीको संयोजकत्वमा मन्त्रालयको सचिव र एक जना विशेषज्ञ सहित तिन सदस्यिय सिफारिस समिति गठन गर्ने प्रावधान रहेको छ।
सिफारिस समितिको संयोजकमा यूवा तथा खेलकुद मन्त्री राजिव गुरुङ,सचिव बद्रिनाथ अधिकारी रहेका छन् भने खेल विज्ञको रुपमा हरिप्रसाद पराजुली रहेका छन्। पराजुली नेपाली अग्रज खेलाडीहरुको छाता नेपाल भूतपूर्व खेलाडी मञ्चका अध्यक्ष समेत हुन्।
परिषदको सदस्य सचिव नियूक्तिका लागि ३० वर्ष उमेर पुरा भएको,स्नातक तह अध्ययन पुरा भएको र ६० वर्ष ननाघेको हुनुपर्ने खेलकुद विकास ऐनमा उल्लेख छ। समितिले निवेदन आएका मध्ये एक महिला सहित कम्तिमा तिन जना उपयूक्त व्यक्तिको नाम सिफारिस गर्नेछ।