१३ पुष, २०७९
यो विवशता कस्तो जसको कुनै हल छैन ………………………..
लेखिका डा इन्दिरा थापा
२०९ औं भानु जयन्तीको सु-अवसरमा नेपाली साहित्य विकास परिषद् यू.के.व्दारा आयोजित विशेष साहित्यिक कायंक्रमका प्रमुख अतिथी,परिषद्का पदेन संरक्षक तथा वेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आर्चाय बाट मेरी सहपाठी मित्र सुधा श्रेष्ठको संङ्ग्रहित कविताहरुको पुस्तक 'थेम्स् नदीका दुई किनारा' विमोचन भएको जानकारी सामाजिक संजाल मार्फत् नेपाल जानु केहि हप्ता अगाडि नै पाईसकेकी थिएँ। नेपालमा नेपाल प्रज्ञा प्रतिष्ठानका कूलपति गंगाप्रसाद उप्रेतीबाट उनको कविता संङ्ग्रहको विमोचन हुन लागिरहेको खबर भने नेपाल छँदा नै प्राप्त गरें। जसको कारणले गर्दा करिब दुई दशक पछि उनीसंग भेटघाट गर्ने मौका पाएँ भने उनको कविता संङ्ग्रह पनि मेरो हात प-यो। उनी संगसंगै पढ्दा उनको लेखन प्रतिको झुकावबाट अनभिज्ञ नभएको त होईन तर कविता संङ्ग्रह प्रकाशनको विषयमा जान्दा धेरै खुशी लाग्यो। कविता संङ्ग्रहलाई राम्ररी पढ्ने मौका भने क्यानाडा फर्के पछि मात्र प्राप्त गरें।
यो विवशता कस्तो जसको कुनै हल छैन ………………. 'थेम्स् नदीका दुई किनारा' कविता संङ्ग्रहमा सुधाले आफ्नो ह्रदयको स्पन्दन छाम्न अनि विवश बनी हार खाएर वाध्यतावश स्वीकार्नु पर्ने परिस्थितीलाई सरलताका साथ अभिव्यक्त गर्न सफल भएकी छिन्। उनले जीवन,जगत,माया,प्रेम,चाहना र नैराश्य जस्ता मानवीय संवेदनाहरुलाई मर्मान्तक रुपमा चित्रण गरी कविताका रुपमा उतार्न सफल भएकी छिन्। नदीका दुई किनारा झैं कहिले नभेटीने तर सधैं एकनासे संगसंगै बगिरहने मन भित्रका दुई भिन्न प्रकारका विरोधाभासपूर्ण अर्न्तव्दन्दहरु चाहे त्यो प्रेमको अपेक्षा र निराशको होस्, सफलता र असफलताको होस्, या त एउटा आदर्श समाजको परिकल्पना र यथार्थताको धरातल,सुधाले समसामयिक र मर्मस्पर्दी तरङ्ग अनि भोगाईहरुलाई ज्वलन्त रुपमा प्रस्तुत गरेकी छिन्। मानवीय चाहना र आकंक्षाको कुनै सिमा हुँदैन, तर मानवीयताको एउटा पक्ष भोगाई र जीवनको यथार्थता,विवशता,संङ्घर्ष र निराशा हो भने अर्को पक्ष क्षणिकआनन्दमा उल्लास र उन्माद् खोज्ने,मपाईँको मानविय प्रवृत्ति; जीवनको कटु सत्य दुबै पक्षलाई यस कविता संङ्ग्रहका प्रत्येक शब्दहरुले चिच्याई चिच्याई उद्घोषण गरेझैं लाग्दछ। यिनै मानविय गुण-अवगुण,वाद-प्रतिवाद, ईच्छा-नैराश्यता,सही-गलत,राम्रो-नराम्रो,हाँसो-रोदन जस्ता मनमा उव्जने विरोधाभासपूर्ण अनुभूतिलाई सुधाले सरल रुपमा प्रस्तुत गर्न र पाठकको ह्रदयमा छाप छोड्न सफल भएकी छिन्।
बुक कभर : थेम्स नदीका दुई किनारा
कतै उनी कसैको साहारा खोजी हिडें जस्तो देखिन्छिन् 'साथ पाए' मा झैं
"कहिलेकाहीं कमजोर भईदिँदा केही साहस पाइन्थ्यो
बेहोश भई लड्खडाइदिँदा केही सहारा मिल्थ्यो
लाचार भई तड्पिनु पर्दा केही राहत मिल्थ्यो
विवश भई हार मान्नु पर्दा केही सहानुभूति मिल्थ्यो"
भने कतै मायाप्रेम प्रति वितृषित भई भागे झैं देखिन्छिन्
"माया केवल भ्रमित इच्छा हो भन्न गुन्दागुन्दै कहिले तृष्णा लिप्सा बनिदिँदो रहेछ"
(कविता 'अन्जानमै छताछुल्ल हुन पुगिने')
भने कहिले फेरी उनै प्रेमले ओतप्रोत भावुक सम्पूर्ण समर्पणको अभिलाषा दर्शाउँछिन् कविता 'भन के गरुँ तिमीलाई'
"भन के गरुँ म तिमीलाई ?
पराकाष्ठा सबै पारगरी दिउँकी
लाजसरम सबै त्यागिदिउँकी
आलिङ्गनमा कसी बाँधिदिउँकी
तिमीलाई नै सबै सुम्पिदिउँकी"
अनि कतै आजका नारीको महिला सशक्तिकरणलाई झकझकाउँदै नारी शक्तिको चेतना जागृत गर्न आव्हान गरे झैं लाग्छ
"अब त जुरमुराएर उठ्ने बेला भयो समयको माग बुझी
स्वीकारी आफ्नो छिपेका सक्षमता
वर्चश्वता कायम गर्न पट्टी लाग
विजय पाई कमजोरी माथि
विश्वास गरी आफ्नो आत्मशक्ति माथि
निम्न भएपनि स्व: पहिचान कायम गर"
(कविता 'आजका नारी')
पुस्तक विमोचन लण्डन जुलाई १०,२०२२
यसै गरी आजको युवा पिढींहरुको वास्तविक अवस्था 'विदेशिएका युवा पिढीं' मा सशक्त झल्काएकी छिन्
"अन्जान दिशातर्फ भौँतारिदै उड्ने पंक्षी हौ
सुरक्षित भविष्यको लालसामा दिनरात हाँफ्नु पर्छ
अपूर्व आत्मसन्तुष्टिको लागि मौका तलाश गर्दै हिड्छौ
अन्तत: तिम्रो अन्तिम मुकाम नियतीले निश्चित गरिसकेको हुन्छ"
यसरी नै आफुले भोगेका र देखेका विदेशिनुको तीतोपन अनि पिडा तथा आजका युवा पिढींको बढ्दो विदेशिने क्रमको अल्लारेपन, सफलताको महल बनाउने काल्पनिकतामा रुमलिने आजको परिपेक्षको वास्तविक स्वरुप दर्शाउन खोज्छिन्। जब विपद आँउछ अनि आफ्नो जन्मभूमि र आफन्तहरुको चिन्ताले सताउन थाल्नु सबै विदेशिएकाहरुको कटु तर सात्विक यथार्थता हो,जुन सुधाले आफ्नो कविता 'विपदको घडी' मार्फत अभिव्यक्त गरेकी छिन्। उनका आक्रोश, वाध्यता र असहायपन यस कवितामा छछल्किएका छन्।
पुस्तक विमोचन काठमाडौं नेपाल अगस्त १,२०२२
घडीको सुईसंगै चाल्नुपर्ने आजको मानवीय वाध्यताको बारेमा उध्दृत गर्दै लेख्छिन् कविता 'विश्राम विहिन' मा
"यो बन्धन कस्तो जसको कुनै नाम छैन
यो विश्वास कस्तो जसको कुनै प्रश्न छैन
यो सङ्घर्ष कस्तो जसको कुनै प्राप्ति छैन
यो विवशता कस्तो जसको कुनै हल छैन"
भने 'अनुगमनका अनुभूति' मा उनी निरन्तर अगाडि बढी लक्ष्य प्राप्तिका लागि उत्साह अनि विश्वास राख्छिन्
"उध्देश्य लिनुछ शिखरमा अवश्य पुगी छाड्छु एकदिन भनी
गन्तव्य पहिल्याउनुछ सोचे जस्तै लक्ष्य हासिलको अठोटमा
लगनशिलता बढावा दिनुछ उत्साहको सक्रियता कायमै राख्न
कठोरतम अभ्यास जारी राख्नुछ असर्मथता शब्दकोषबाट हटाउन"
अनि लाग्छ सङघर्ष गर्दागर्दै कतै जिवन र जगतदेखिनै हार मानी निराश भएझैं प्रस्तुत हुन्छिन् 'हारेको मान्छे' मा
अनायासै फेरि चाहना राख्छिन् एक पलको जहाँ दिल खोलेर हाँस्न सकियोस्, एउटा यस्तो अन्तरङ्गी साथिको जोसंग मनमा उर्लिएका बहावहरु पोख्न हिचकिचाउन नपरोस्। अनि यस्तै यस्तै अनुभूति र विरोधाभासहरु,द्वन्द र प्रतिद्वन्दहरु,चाहना र आकांक्षाहरु,आशा र निराशाहरुको श्रृंखला अनवरत बगाई नै रहेकी हुन्छिन्। अनि फड्फडाउँदा फड्फडाउँडा हार मानेको थकित पंक्षीझैं विवश बनी कतै परिस्थिती स्विकार्न बाध्य भएझैं देखिन्छिन्
'तिम्रो वास्तविकता' कवितामा
"रोएर के गर्छौ यही तिम्रो खुशी हो
भगेर कहाँ जान्छौ यही तिम्रो परिधी हो
---------------------------------------------------
तड्पेर के गर्छौ यही तिम्रो क्षमता हो
छटपटिएर के गर्छौ उही तिम्रो विवशता हो"
समग्रमा मैले भन्नुपर्दा यस कविता संङ्ग्रहमा:
कतै एकलोपनमा अत्तालिएझैं
कतै लक्ष्यहीन भौंतारिएझैं
कतै कसैको आलिंगनमा झुमेझैं
कतै नैराश्यताको अन्धकारमा दुबेझैं
कतै उत्साहको किरणमा प्रफुल्लित भएझैं
कतै कसैबाट प्रमाणित हुन खोजेझैं
कतै स्वाभिमानको रक्षा गर्न खोज्दा एक्लै उभिन पुगिएझैं
कतै निरीह नारीझैं सहारा खोज्दै हिडेंझैं
कतै आजकी सवल नारी शक्तिको गरिमालाई अंगिकार गरेझैं
कतै देश दुखेझैं त कतै विदेशिनुको पिडाले छटपटाएझैं
कतै अभिलाषाको क्षितिजमा एकटकी लगाएझैं
कतै उत्कण्ठाको वादलमा ओझेल परेझैं
कतै गल्ति पहिल्याउन आत्मालोचना गर्न खोजेझैं
कतै सामाजिक मूल्यमान्यताको परिधीमा बाँधिए झैं
कतै उन्मुक्त पंक्षी सरी पखेटा फिजाउन खोजेझैं
यस्तै यस्तै अर्न्तव्दन्द प्रतिव्दन्दको संगालोमा बगेको छ सुधाको थेम्स् नदीका दुई किनारा र उनले यस शिर्षकलाई न्याय प्रदान गर्न सफल भएकी छिन् ।
अन्तमा म मेरी प्यारी साथी सुधालाई बधाई का साथै भविष्यको शुभ-कामना व्यक्त गर्दछु।
डा. इन्दिरा थापा