१८ पुष, २०७९
शीतलपाटीन्युज डटकम।
अल्डरसट,लण्डन। तमुधिं यूकेको आयोजनामा गुरुङहरुको नयाँ वर्ष ल्होछार कार्यक्रम भव्यताका साथ मनाइएको छ।
लण्डनको अल्डरसटस्थित एम्पायर हलमा डिसेम्बर ३१ तारिख २०२२ का दिन सांस्कृतिक कार्यक्रम सहित ल्होछार कार्यक्रम मनाइएको हो। संस्थाका महासचिव पर्शुराम गुरुङले हेल्थ एण्ड सेफ्टी ब्रिफिङ गर्दै संचालन गरेको सो कार्यक्रम तमुधिं अध्यक्ष हित काजी गुरुङको अध्यक्षता भयको थियो। नवनिर्वाचित वरिष्ठ उपाध्यक्ष जुमकाजी गुरुङ संयोजक रहेको सो कार्यक्रम कार्यसमिति र आमा समूहको अग्रसरतामा सम्पन्न भएको र सो २२औं ल्होछारमा एम्पायर हल खचाखच भरिएको थियो।
बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्य प्रमुख अतिथि रहेको सो कार्यक्रम राजदूतवासबाट डीसीएम रोशन खनालको पनि उपस्थिति थियो। करिब चार दर्जन बढी पाहुनाहरु उपस्थिति रहेको सो कार्यक्रममा विभिन्न समाजका अध्यक्षहरु,गैर आवासीय नेपाली संघका अध्यक्ष कुल आचार्य, एनआरएनए प्रतिनिधिहरु,बिभिन्न बरो काउन्सीलका काउन्सिलरहरु,धर्मगुरुहरु,तमुधिं युकेका पुर्व अध्यक्षहरु र मिडियाकर्मीहरुको उपस्थिति थियो। मुख्य अतिथि र विशेष अतिथि क्रमश: राजदूत आचार्य र डीसीएम खनाल,तमुधिं अध्यक्ष हित काजी गुरुङ,संस्थापक अध्यक्ष मिनप्रसाद गुरुङ,आमा समूहका अध्यक्ष सीता गुरुङबाट संयुक्त दिप प्रज्ज्वलन गरी उद्घाटन गरिएको उक्त कार्यक्रम मनोरन्जनयुक्त थियो।
तमुहरुको मुखपत्र "फ्रेंसी" को विमोचन गरिएको सो कार्यक्रममा गुरुङ भित्रका अब्बल विद्यार्थी मध्ये स्व.डा हर्क अवार्ड स्मृति गुरुङलाई प्रदान गरियो। उनी मोतीप्रसाद गुरुङ र लक्ष्मी गुरुङका सुपुत्री हुन्। अवार्ड प्राप्त गर्ने स्मृति "जेनरल सर्टिफिकेट अफ सेकेन्डरी ऐज्यूकेसनको" नतिजामा ११ वटा "ए स्टार" प्राप्त गरेकी बिध्यार्थी हुन। साथै तमुधिंमा उल्लेखनीय काम गरेबापत दिइने "कम्युनिटी सर्भिस अवार्ड" यसबर्ष विकाश गुरुङ,देवकला गुरुङ,विनोद गुरुङ, भुवानीप्रसाद गुरुङ बीईएम,मायारानी गुरुङ,मनिता घले,लक्ष्मी गुरुङ र शान्ति गुरुङले प्राप्त गरेका छन। सो पुरस्कार पाउने सबैलाई प्रमुख अतिथी महामहिम राजदूत ज्ञानचन्द्र आचार्यले सम्मान गर्नु भयको थियो।
तमुधिं युकेको नयाँ कार्यसमिति समेत चयन भएकाले ल्होछार कार्यक्रम कै दिन नयाँ र पुरानो कमिटीबीच हस्तान्तरण कार्यक्रम सम्पन्न भयको थियो। नव निर्वाचित अध्यक्ष हरि गुरुङ र निवर्तमान अध्यक्ष हितकाजी गुरुङले हस्तान्तरण कार्यक्रममा मन्तव्य राखेका थिए। निवर्तमान अध्यक्ष गुरुङले बोल्ने क्रममा आफ्नो कार्यकाल सफल रहेको,यो सफलतामा तमुधिंका सबै पदाधिकारी तपाईंहरुको सहयोगले भयको हो। मेरो कार्यकालमा संस्थाका हितका लागि कहिलेकाहीं मैले भनेको मानिनँ होला। मेरो विवेक र विचार चलाएर सबैका भलोका लागि निर्णय गरेँ होला। कति साथीहरुलाई मन दुखाएँ होला। सबै मैले तमुधिंको हितको लागि गरेको थिएँ। कतै गल्ती भएछ भने भाइछोरा ठानी माफ गरिदिन हुन अनुरोध गर्दछु भन्नु भयको थियो। उहाले प्रत्येक कार्यक्रमहरुमा प्रयोजन गर्ने मनकारी व्यवसायी साथीहरु,आमा टोली इकाईका साथीहरु र कार्यसमितिलाई आभार व्यक्त गर्दै आफूलाई निरन्तर सहयोग गरिरहने श्रीमती सीता र छोरीलाई पनि धन्यवाद दिनु भयको थियो। जादाजादै निवर्तमान अध्यक्ष गुरुङले " बोल्ने क्रममा "नवनिर्वचित अध्यक्ष हरि गुरुङ तमुधिंका लागि अतियोग्य व्यक्ति हुन्। जसरी मलाई दुई वर्ष सहयोग गर्नुभयो। त्यसरी नै तपाईंहरुले मद्दत निरन्तर दिनुहोला" भन्नु भयको थियो। नवनिर्वाचित अध्यक्ष हरि गुरुङले संस्थालाई नया उचाईमा पुर्याउन आफु लागि पर्ने प्रतिबन्धता ब्यक्त गर्नु भयको थियो।
कल्चरल सेक्रेटरी साधुराम गुरुङको संयोजकत्वमा नेपालबाट आएका कलाकारहरु सुरेन्द्र गुरुङ,चिज गुरुङ र भीमु गुरुङलाई स्वागत गरी गुरुङ तथा नेपाली भाषाका लोकभाका अनि दोहोरी गीतमार्फत सबैलाई नचाइएको थियो।
शुभारम्भमा नाचिएको हेलिसा र पुनमको नाच, लन्डन इकाई,रिडिङ तमु समाज,घान्द्रुक समाजको प्रस्तुति राम्रो रहेको सहभागीहरुको प्रतिक्रिया रहेको सो सांस्कृतिक कार्यक्रम नायिका लक्ष्मी गुरुङले पनि नाचेर सुनमा सुगन्ध भरेकी थिइन् भने सूर्य गुरुङ,विभा गुरुङ, योगेश गुरुङ र हेलिसा गुरुङले सांस्कृतिक कार्यक्रमको उद्घोषण गरेका थिए।
कार्यक्रमको अर्को आकर्षण राफल ड्र (भाग्यशाली चिठ्ठा) थियो । पहिलो पुरस्कार एक तोला सुन र दोस्रो आधा तोला थियो । प्रायोजक क्रमशः न्यू लक्ष्मी ज्वलर्सका लक्ष्मी राई र पेपरवर्क सोलुसन लिमिटेडका श्याम श्रेष्ठ थिए। चिठ्ठाको भाग्यमानी पहिलो विजेता विश्वजङ्ग गुरुङ बनेका थिए।
१५ पाउन्डमा खानासहित र लाइफ मेम्बरहरुलाई फ्रीको व्यवस्था गरेको उक्त कार्यक्रम उल्लेखनीय थियो। मिडिया सचिव एस के गुरुङ र गोर्खामिडियाका प्रबन्धक मिलन तमुबाट लाइभ एवम फोटोग्राफी भयको सो कार्यक्रम नयाबर्ष मनोरन्जक रुपमा सम्पन्न भएको थियो।