Saturday January 28, 2023

बेलायती सर्जकको ‘पद्मिनी’ पढेपछि… पुस्तक समीक्षा

२२ पुष, २०७९ शीतलपाटीन्युज डटकम। 1204


बेलायती सर्जकको ‘पद्मिनी’ पढेपछि…  पुस्तक समीक्षा

बेलायती सर्जकको ‘पद्मिनी’ पढेपछि…

पुस्तक समीक्षा:


समिक्षक सुरेशजंग शाह

लणडन। कथा कविता गीत गजल नियात्रा र उपन्यास आदि साहित्यका सबै विद्यामा कलम चलाउने नेपाली साहित्य विकास परिषद् यूकेका पूर्व अध्यक्ष वरिष्ठ साहित्यकार कवि हरिसिंह थापाका करिब एक दर्जनजति कृति प्रकाशित भइसकेका छन्।

यस अघि नियात्रा विद्यातर्फ उत्तराखण्ड चारधाम यात्रा संस्मरण र बेलायतदेखि चारधाम यात्रासंसमरण प्रकाशित छन्। कविता विद्यातर्फ मधुरस, गराँस फुलेन र करेसाको फूल कवितासंग्रहहरू र मन उड्यो गीत एल्बम् प्रकाशित छन् भने कथा विद्यातर्फ नम्रताको कार्डिगन कथासंग्रह र उपन्यास विद्यातर्फ सुन्तली उपन्यास प्रकाशित छन्।

थप यस वर्ष प्रकाशित दुई कृति ‘पद्मिनी’ उपन्यास र ‘थेम्स नदीका नागबेलीहरू’ कवितासंग्रह हालै लन्डनमा सम्पन्न ११४औँ महाकवि लक्ष्मीप्रसाद देवकोटा जयन्ती समारोहमा परिषद्का पदेन संरक्षक महामहिम राजदूत ज्ञानचन्द्र आचार्यबाट र नेपालमा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीबाट विमोचित भएका हुन्।

परिषदबाट प्रकाशित भएका पुस्तकहरूको समीक्षा प्रकाशन गर्ने परिषद्को कार्यनीति रहेकाले यसैको निरन्तरताकारूपमा नेपाली साहित्य विकास परिषद् यूके र परिषद्को नेपाल च्याप्टरबाट यस वर्ष प्रकाशित गरिएका तीन वटा कृतिमध्ये परिषद्की उपाध्यक्ष कवयित्री डा. सुधा श्रेष्ठको नवीन कृति ‘थेम्स नदीका दुई किनारा’ कवितासंग्रहको समीक्षा यस अघि नै प्रकाशित गरिसकेको छु।

क्रमैले यसपटक वरिष्ठ कवि हरिसिंह थापाका यी दुई कृतिबारे पुस्तक समीक्षा पाठक समक्ष प्रस्तुत गर्नु अघि यहीँनिर यस नेपाली साहित्य विकास परिषद् यूके र नेपाल च्याप्टरबाट प्रकाशित यी कृतिहरू नेपालमा रत्न पुस्तक भण्डार वागबजारमा र बेलायतमा नेपाली साहित्य विकास परिषद् यकेको सचिवालय वा स्वयं लेखकहरूबाट प्राप्त गर्न सकिने अवगत पाठक वर्गमा गराउंदछु।

”होइन ! सालीमैञालाई दाउराको भारी गाह्रो भए म बोकी दिउँ कि क्या हो ! धेरै दिन पछि भेटेको रजनीसँग ठट्टा गर्दछ ध्यानबहादुर।

अब हाम्रै गाउँमा पाहुना भएर आउनु भएको भिनाजुलाई पनि भारी बोकाएर हिँडाइयो भने त हामी यही खोलामा हामफालेर मरे भइगो नि ! रजनीले ध्यानबहादुरको मुखतिर पुलुक्क हेर्दै मायालु शैलीमा प्रतिउत्तर गरिन्।

ओ हो ! हाम नफालौँ, साली मैञा ! यति राम्री मान्छेले हामफाल्यौ भने संसारै अँधेरो हुन्छ । तिमीलाई देखे पछि आँखामा वसाउँ कि फूलदानीमा राखेर सजाउँ जस्तो लाग्छ मलाई त!” 

वरिष्ठ साहित्यकार उपन्यासकार कवि हरिसिंह थापाको प्रस्तुत कृति ‘पद्मिनी उपन्यास’ भित्रबाट यहाँ उधृत गरिएको एउटा रोमान्टिक संवादको अंश हो अर्थात परिवार र पर्यावरणको पक्षमा उभिएको सामाजिक उपन्यास ‘पद्मिनी’ लेखनको क्रममा लेखकले विषय वस्तुको प्रस्तुति केही वर्णन, केही मनोवाद,केही संवादलाई कतै ठट्यौली, कतै रोमान्टिक र कतै वेदना आदिको समिश्रण गरेर पाठक वर्गहरूमा पढ्दा मनमा कौतुहल्ता,रोचकता र रोमान्चित मनको सेरोफेरो भित्र पुस्तक कतिखेर पढेर सकियो पत्तो नै नहुने गरेर सन्तुलित आनन्द दिलाउने उपन्यासकारको प्रयत्न छ जुन प्रशंसनीय छ।

समग्रमा ‘पद्मिनी’ उपन्यास वंश वृद्धि र सृष्टिको निरन्तरताको पक्षमा उभएको छ। मानवीय प्रदुषणका कारण वातावरणमा परेको प्रतिकुल असरकाबारेमा बोलेको छ। पर्यावरण संरक्षणको माग गरेको छ । वन जंगल संरक्षण र संवर्धनको पक्षमा चेतना जगाउने प्रयत्न गरेको छ।

पुरातन रूढीवादी सोचको परिवर्तनको कुरा उठाएको छ । ग्रामीण क्षेत्रमा रहेका स्वास्थ्य उपचार केन्द्रहरूको दयनीय स्थितिलाई उजागर गर्दै सुधारको आवाज उठाएको छ । विकास निर्माण र समृद्धिको पक्षमा हुन गएका त्रुटीहरू औंल्याएको छ ।

राजनीति र कर्मचारीतन्त्रलाई नैतिकता र इमान्दारिताको पक्षमा उभिन आग्रह गरेको छ । समग्रमा मानवीय कमजोरीहरूलाई सटिक व्यङ्ग गर्दै वास्तविकतालाई उजागर उपन्यासले गरेको छ ।

पुस्तकको नाम समर्पण गरिएकी पद्मिनी यस उपन्यासकी नायिका हुन्। केही व्यङ्ग्य र केही बिम्बको प्रयोग बाहेक लेखनमा आलङ्कारिता भन्दा सटिक विषयवस्तुहरूको उठान गर्न तर्फनै लेखकको ध्यान केन्द्रित भएको पाइन्छ।


उपन्यासकार हरिसिंह थापा

बिषयबस्तुलाई तन्काएर उपन्यास लामो बनाउने भन्दा पनि भएको घटनाक्रमलाई सटिकरूपमा प्रस्तुत गरेर चेतनाको सन्देश दिने प्रयत्नमा नै लेखकको सोच लघुकृत गर्नेतिर केन्द्रित भएको पाइन्छ। लेखकले भावविहोल र खुसीका साथ उपन्यासको कथावस्तु सुखान्तरूपमा टुङ्ग्याएका छन्।

पुस्तकभित्र नेपाली साहित्य विकास परिषद् यूके का अध्यक्ष वरिष्ठ कवि कोमलप्रसाद श्रेष्ठ मल्ल र परिषद्की नेपाल च्याप्टर अध्यक्ष इल्या भट्टराईले आफ्नो शुभकामना मन्तव्य र प्रकाशकीय मन्तव्यमा पद्मिनी उपन्यास सामजिक चेतनाको पक्षमा उभिएको गाउँले जनजीवन र पर्यावरणको मिश्रणमा मायाप्रीति फुलेको सन्तुलित उपन्यास भएको उल्लेख गर्नु भएको छ।

नेपाली साहित्य विकास परिषद् यूकेका पूर्व अध्यक्ष वरिष्ठ साहित्यकार लेखक हरिसिंह थापाको दसौँ कृति ‘पद्मिनी’ उपन्यासमा गाउँले परिवेश र जीवनशैली समेटिएको मन छुने कथावस्तु रहेको छ।

यसले पाठक वर्गहरूको मन छुने विश्वास मेरो छ । म एकचोटी उक्त उपन्यास पढ्न हुन सल्लाह दिन्छु । लेखकमा शुभकामना !

-सुरेशजंग शाह

(समिक्षक शाह नेपाली साहित्य विकास परिषद् यूकेका संस्थापक तथा निवर्तमान अध्यक्ष हुनुहुन्छ)



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?