४ माघ, २०७९
शीतलपाटीन्युज डटकम।
लण्डन। बजारमा नेपाली फिल्मको प्रवद्र्धन गर्ने उद्देश्य सहित बेलायतको राजधानी लण्डनमा नेपाली फिल्म फेस्टिभल–२०२३ आयोजना हुने भएको छ। थर्ड आईले आगामी १८ देखि २५ फेब्रुअरीसम्म फेस्टिभल आयोजना गर्न लागेको हो।
फेस्टिभलमा एक दर्जन हाराहारी नेपाली फिल्म प्रदर्शन गरिने छ। सिनेमा हलमा रिलिज भएका तर युट्युबमा नआइसकेका फिल्महरूलाई छनोट गरी फेस्टिभलमा देखाइने थर्ड आईका निर्देशक विकास देवकोटाले कार्यक्रमको फ्लायर पठाएर शीतलपाटीन्युज डटकमलाई जानकारी गराउनु भयको छ। देवकोटाका अनुसार जीवन काँडाकी फूल,प्रकाश,झिंगेदाउ, प्रेमगीत–३ लगायतका फिल्म फेस्टिभलका लागि छनोट भइ सकेको छ।
‘नेपालमा के–कस्ता फिल्म बनिरहेका छन् भन्ने बारेमा प्रवासी दर्शकलाई थाहा दिन अनिवार्य छ। त्यसैले नेपाली परिवेश र नेपाललाई चिनाउने फिल्म छनोट गरेका छौँ,देवकोटाको भनाइ छ।
फेस्टिभलका लागि नेपालबाट एक दर्जनभन्दा बढी कलाकार लण्डन आउने छन्। जसमा चलचित्र विकास बोर्ड अध्यक्ष भुवन केसी,नीर शाह,करिश्मा मानन्धर,दिनेश डिसी,सन्तोष सेन,स्वस्तिमा खड्का,आँचल शर्मा,पुष्प खड्का,अनुपविक्रम शाही, रीमा विश्वकर्मा लगायत रहेका छन्।