७ माघ, २०७९
शीतलपाटीन्युज डटकम।
काठमाडौं। प्रतिनिधिसभाको उपसभामुख पदमा राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद इन्दिरा रानामगर निर्वाचित भएकी छन्। शनिबार प्रतिनिधिसभामा भएको मतदानमा २६४ सांसद उपस्थित थिए। त्यसमध्ये रानाको पक्षमा १६६ मत खस्यो। विपक्षमा ९७ मत परेको थियो । एक सांसद तटस्थ बसेका थिए।
नेपाली कांग्रेसका तर्फबाट सांसद मुक्ताकुमारी यादव उपसभामुखको उमेदवार बनेकी थिइन्। रानाको पक्षमा बहुमत पुगेपछि उनको प्रस्तावमा जानु परेन।
रास्वपाकी सांसद रानालाई नेकपा (एमाले),नेकपा (माओवादी केन्द्र),रास्वपा,राष्ट्रिय प्रजातान्त्र पार्टी (राप्रपा),जनता समाजवादी पार्टी (जसपा),जनमत पार्टी र नागरिक उन्मुक्तिसहित स्वतन्त्र सांसदले साथ दिएका थिए। यादवलाई कांग्रेस,नेकपा (एकीकृत समाजवादी), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र राष्ट्रिय जनमोर्चाको साथ थियो।
उपसभामुख चयन गर्दै शनिबारको प्रतिनिधिसभा बैठक टुंग्याइएको छ। सभामुख देवराज घिमिरेले अर्को बैठक यही माघ १० गते बस्ने तय गरेका छन्।