Sunday August 14, 2022

सावधान ! टन्सिलले पनि मुटुरोग लाग्न सक्छ

१५ भाद्र, २०७५ शीतलपाटीन्युज डटकम 1764



शीतलपाटीन्युज डटकम, महाराजगन्ज।

महाराजगञ्जस्थित मनमोहन कार्डियो अस्पतालमा एउटा जटिल शल्यक्रिया सम्पन्न गरी डा. अनिल भट्टराईले चिकित्सकीय क्षमता देखाइसकेका छन् । अस्पतालका वरिष्ठ मुुटुरोग विशेषज्ञ डा. अनिल भट्टराई नेतृत्वको चिकित्सक टोलीले ३७ हप्ताकी गर्भवती महिलाको मुटुको नली फुलेर फुट्न लागेको अवस्थामा उनी र उनको पेटमा रहेको बच्चाको ज्यान जोगाएको थियो । रामेछापकी २४ वर्षीय प्रमिला अर्याल छाती दुखेर उपचार गराउन उक्त अस्पताल पुगेकी थिइन् । मुटुबाहिरको नसा च्यातिएकाले शल्यक्रिया नगर्दा कुनै पनि बेला ज्यान जाने खतरामा उनी थिइन् । आमा र बच्चा दुवैलाई जोगाएर शल्यक्रिया गर्नुपर्ने बाध्यता थियो । डा. अनिल भट्टराईको टोलीले बिहान साढे १० बजेदेखि साँझ ५ बजेसम्म लगाएर शल्यक्रिया गरेको थियो ।

अस्पतालको ९ वर्षे अवधिमा यस्तो दुर्लभ शल्यक्रिया पहिलोपटक गरिएको थियो । बच्चा र आमा दुवैको ज्यान जोगाउनुपर्ने अवस्थामा भएको शल्यक्रिया अत्यन्त जटिल थियो । ओपन हार्ट सर्जरी गर्नुपर्ने भएकाले टोलीले शुरूमा पाठेघर चिरेर बच्चा निकालेको थियो । पेट चिरेको अवस्थामा ओपन हार्ट सर्जरी गर्दा रक्तश्राव बढी हुने गर्छ । यद्यपि, डा. भट्टराईको टोलीले आमा र बच्चाको ज्यान जोगाएको थियो । लाजिम्पाटस्थित नेपाल कार्डियोमा समेत कार्यरत उपप्राध्यापक डा. भट्टराईसँग आर्थिक अभियानका पूर्णभक्त दुवालले मुटुरोगसम्बन्धी कुराकानी गरेका छन् :

मुटुरोग कति प्रकारको हुन्छ ?
खासगरी मुटुरोग दुई किसिमको हुन्छ । एउटा जन्मजात हुने मुटुरोग र अर्को वयस्कमा हुने मुटुरोग । जन्मजात हुने मुटुरोगका कारण र वयस्कमा हुने मुटुरोगका कारण फरकफरक छन् । उमेर बढेसँगै हुने मुटुरोगका कारण फरक हुन्छन् ।
जन्मजात मुटुरोगमा पीडीए भन्ने हुन्छ, जहाँ अक्सिजनको मात्रा कम हुन्छ । त्यहाँ पीडीएको समस्या हुन्छ । नेपालमा पीडीएको समस्या अन्य देशमा भन्दा बढी छ । अर्को, बाथ ज्वरो बिग्रिएर मुटुका भल्भहरू खराब हुने गरेको पाइन्छ, जुन नेपालमा सबैभन्दा ठूलो समस्याको रूपमा छ । विकसित देशमा त यो समस्या निर्मूल नै भइसकेको छ । तर, यो समस्या तेस्रो विश्वमा बढी पाइन्छ । यो टन्सिलका कारण हुन्छ । टन्सिल बिग्रिँदै गयो भने यो समस्या हुन्छ ।

जन्मजात मुटुरोग लाग्नुको कारण के हो ?
गर्भवती महिलाले धूमपान गरेमा बच्चालाई जन्मजात मुटुरोग लाग्ने सम्भावना बढी हुन्छ । ३५ वर्ष काटेका आमाबाट जन्मेका बच्चामा मुटुरोग लाग्न सक्छ । सन्तुलित भोजनको अभावले पनि मुटुरोगको समस्या आउँछ । गर्भवती महिलालाई सन्तुलित भोजन भएन भने जन्मिएको बच्चामा जन्मजात मुुटुरोग लाग्न सक्छ ।

वयस्क व्यक्तिमा मुटु दुख्ने समस्या किन आउँछ ?
मुटु दुख्ने धेरै कारण हुन्छन् । विशेषगरी मुटुको वरिपरि छातीको बीच भागमा दुख्नु मुटुरोगको लक्षण हो । भल्भ मुटुरोग, बाथ मुटुरोग, हार्ट फेल्योर, कोरोनरी मुटुरोग, जन्मजात मुटुरोग र उच्च रक्तचाप भएमा मुटु दुख्छ । त्यसैले, मुटु दुख्ने प्रमुख कारण विभिन्न प्रकारका मुटुरोग हुन् । अन्य कारणमा मानसिक तनावसँग सम्बन्धित मुटु हल्लिने रोग, जसलाई हामी एञ्जाइटी भन्छौं । यो पनि मुटु दुख्ने अर्को कारण हो । यसैगरी छातीको मांशपेशी खुम्चेर, फोक्सोको बाहिरी झिल्ली च्यातिएर र मानसिक तनाव बढी लिएमा छाती कसिलो हुनुका साथै मुटु दुखेको अनुभव हुन्छ ।

मुटुको भल्भ थुनियो भने वा सानो भयो भने मुटु दुख्न थाल्छ । विशेषगरी मुटुको धमनीमा ब्लक भयो भने छातीको बीच भागमा बेस्सरी दुख्न थाल्छ । यस्तो अवस्थामा हिँडडुल गर्दा झन् बेस्सरी दुख्छ । शरीरमा रक्तसञ्चारको कमी भयो भने पनि मुटु दुख्न थाल्छ । एञ्जिनालाई पनि मुटु दुख्ने अर्को कारण मान्न सकिन्छ । एञ्जिनालाई सामान्य बुझाइमा छातीको पीडा भन्न मिल्छ । छाती गह्रौं भएको, छातीमा कसैले वा केहीले च्यापेको जस्तो लाग्ने, छाती पोलेको, छाती सुन्न परेको, छाती चिलाएकोलगायत सबै लक्षण एञ्जिनामा पर्छन्, जसको कारण मुटु दुख्न थाल्छ । त्यसैले, मुटु दुख्ने कारण मुख्यगरी मुटुरोग नै हो । त्यसैले, हामीले मुटुरोगप्रति बढी सचेत हुनुपर्छ ।

वयस्कमा हुने मुटुरोग के कारण लाग्छ ?
कर्नरीआरटी डिजिज भनेको मुटुमा रक्तसञ्चार गर्ने नलीहरू बन्द हुने समस्या हो, जसले कालान्तरमा हृदयाघात गराउँछ । यो खानपान र जीवनशैलीको कारण हुन्छ । यो वंशानुगत पनि हुन्छ, तर बढी मात्रामा खानपान र जीवनशैलीबाटै हुन्छ ।
खानपान बढी मात्रामा गर्ने, तर शारीरिक व्यायाममा ध्यान नदिने समस्याले गर्दा यस्तो हुन्छ । मोटोपना धेरै भएकाहरू, धूमपान र मद्यपान धेरै गर्नेहरूलाई यो समस्या हुन्छ । सुगर र प्रेसर नियन्त्रण नगर्नेहरूलाई पनि यो समस्याले सताउँछ । यसको औषधि नियमित नखाने र यसलाई नियन्त्रणमा पनि नराखे मुटुको नली बन्द हुन्छ, जसले गर्दा हृदयाघात हुन सक्छ । शरीरमा कोलेस्टेरोलको नियन्त्रण भएन भने पनि यसले समस्या निम्त्याउन सक्छ ।

मुटुरोगले एकैचोटि ज्यान लिन्छ भन्ने छ, यो साँचो हो ?
पहिला मुटुरोग एउटा खतरनाक रोगको रूपमा थियो । तर, अहिले प्रविधिको विकासले गर्दा यो रोगको पहिचान तथा उपचारमा सजिलो भइसकेको छ । प्रत्येक व्यक्तिले ६–६ महीनाको अन्तरालमा मुटु परीक्षण गराएमा यो रोगले ज्यान लिने सम्भावना धेरै हदसम्म कम हुन्छ ।

महिला र पुरुषको मुटुरोगमा के फरक छ ?
महिला र पुरुषमा मुटुरोग लाग्ने मात्रा फरक हुन्छ । जन्मजात मुटुरोग (एएसडी) महिलामा बढी हुन्छ । वयस्कमा हुने मुटुरोग भने पुरुषहरूलाई बढी हुन्छ । कर्नरीआरटी डिजिज पुरुषहरूलाई बढी हुन्छ । खानपिनमा महिलाभन्दा पुरुषहरूले बढी लापरबाही गरेका हुन्छन् । महिलाले पुरुषले भन्दा खाना नै कम खान्छन् । चुरोट, रक्सीको सेवन पनि पुरुषले बढी गर्छन् । जन्मजात मुटुरोग महिलालाई भन्दा पुरुषलाई कम हुन्छ । पुरुषको जीवनशैली र खानपिन महिलाको भन्दा भड्किलो हुन्छ । पुरुषहरू बोसो र चिल्लो भएको खाना बढी खान्छन् । यो नेपालमा मात्रै होइन, संसारभर नै हो । तनावपूर्ण जीवनशैली पनि उनीहरूकै बढी हुन्छ ।

मुटुरोग बढीजसो कसलाई लाग्छ ?
चिल्लो तथा बोसोयुक्त खाना खाने र शारीरिक व्यायाम नगर्नेलाई बढीजसो कर्नरीहार्ट डिजिज हुन्छ । शारीरिक सक्रियताको कमी र विलासी जीवनशैलीले यो समस्या आउँछ । यस्तो व्यक्तिमा मधुमेह र रक्तचाप बढी हुन्छ । यसले कालान्तरमा गएर कर्नरीआरटी डिजिज देखिन्छ । टन्सिलको समस्या भएको बेलामा उपचार नपाएर पनि मुटुरोग लाग्छ । यसले गर्दा भल्भ बिग्रिन्छ ।

मोटोपना आफैमा खतरा हो । दुब्लो व्यक्तिलाई भन्दा मोटो व्यक्तिलाई मुटुरोगको धेरै समस्या हुन्छ । धूमपान, कोलेस्टेरोल, मधुमेह र रक्तचापको नियन्त्रण गरेमा मुटुरोगको खतरा ५० प्रतिशत कम हुन्छ ।

मुटुरोगबाट जोगिन के गर्नुपर्छ ?
नियमित रूपमा शारीरिक परीक्षण गराइराख्नुपर्छ । धूमपान र मद्यपान छोड्नुपर्छ । सागसब्जी र फलफूलको सेवन बढी मात्रामा गर्नुपर्छ । शरीरलाई आवश्यक पर्ने क्यालोरीको हिसाब गरेर मात्र खानुपर्छ । सन्तुलित र पोषणयुक्त खाना खानुपर्छ । सकेसम्म उच्च रक्तचाप हुन दिनु हुँदैन । मुटु दुख्ने र मुुटुमा समस्या महसूस हुनेबित्तिकै मुटुरोग विशेषज्ञको सल्लाह लिनुपर्छ । उच्च रक्तचाप देखिएमा पनि मुटुरोग विशेषज्ञको परामर्श लिनुपर्छ । खाना र व्यायाम मिलाएर कोलेस्टेरोल घटाउनुपर्छ ।

बाथ मुटुरोग के हो ? 
नेपालका ९० प्रतिशत युवामा बाथ मुटुरोग देखिएको स्वास्थ्य मन्त्रालयको एक तथ्याङ्कले देखाएको छ । खानपान, बदलिँदो जीवनशैलीलगायत कारण यो रोग देखिएको हो । सामान्यतया बाथ मुटुरोग ‘ग्रूप ए बिटा हेमोलाइटिक स्ट्रेप्टोकोकस’ नामक ब्याक्टेरियाले घाँटीमा सङ्क्रमण गरेपछि लाग्छ । ज्वरो आउने, घाँटी दुख्ने, घाँटीमा सङ्क्रमण हुने, घुँडालगायत जोर्नी दुख्ने बाथ मुटुरोगका मुख्य लक्षण हुन् ।

यो रोग लागेमा हिँड्दा स्वाँस्वाँ आउने, मुटुको धड्कन बढ्ने, चाँडै थकाइ लाग्ने, मुटु हल्लिनेलगायत समस्या देखिन्छ । यसबाट मुटुको भल्भ साँघुरो वा खुकुलो भई मुटुभित्रको रक्तप्रवाहमा बाधा पुग्छ ।

बालबालिकालाई घाँटी दुख्ने, थुक निल्न गाह्रो हुने, टन्सिल बढ्ने आदि स्वास्थ्य समस्या बारम्बार भइरहन्छ । यो सामान्यजस्तो देखिने घाँटी दुख्ने समस्याले मुटुको रोग उत्पन्न गराउन सक्छ । घाँटी दुख्ने केटाकेटीलाई घाँटी दुखेको एकदेखि चार हप्तापछि एक किसिमको ज्वरो आउन सक्छ, जुन बेला एकपछि अर्का गरी हातखुट्टाका जोर्नीहरू दुख्ने र सुन्निने हुन्छन् । यो ज्वरोलाई बाथ ज्वरो भनिन्छ । बाथज्वरो खासगरी ५ वर्षदेखि १५ वर्षभित्रका बालबालिकामा बढी देखिने रोग हो । यो ज्वरोबाट प्रभावित ५० प्रतिशतभन्दा बढी केटाकेटीलाई पछि गएर मुटुका भल्भहरू खराब हुने रोग लाग्दछ, जसलाई बाथ मुटुको रोग भनिन्छ । घाँटी दुख्ने र टन्सिल बढेको बेला राम्रोसँग उपचार भएन भने मुटुका भल्भहरू बिग्रिने तथा बाथ मुटुरोग उत्पन्न हुन सक्छ ।

यस्ताखाले सबै रोगीको मुटुमा शल्यक्रिया गर्नुपर्दैन । तर, जीवनभर सुई लगाउने र औषधि सेवन गर्नुपर्ने हुन्छ । केही वर्षयता नेपाल सरकारले गरीब तथा बाथ मुटुरोगीलाई अप्रेशन गर्दा आवश्यक पर्ने कृत्रिम मुटुको भल्भ वर्षेनि १ सयओटा उपलब्ध गराउँदै आएको छ ।

बाथ मुटुरोग लागेपछि के हुन्छ ?
बाथ ज्वरो भएपछि मुटुका भल्भहरू बिग्रिन्छन् । मुटुको भल्भमा बाथ ज्वरोको असर पारिसकेको र भल्भ बिग्रिसकेको अवस्थालाई बाथ मुटुको रोग भनिन्छ । बाथ मुटुरोगअन्तर्गत मुटुको भल्भ बिग्रिने, मुटु सुन्निने, श्वास फेर्न गाह्रो हुने र मुटु हल्लिने जस्ता समस्या देखिन्छन् ।

यसको उपचार के हो त ?
शुरूमै घाँटी दुख्दा औषधि गर्नुपर्छ । मुटुको भल्भ बिग्रेपछि लाखौं खर्च गरे पनि पूरा निको हुँदैन । एकपटक बाथ ज्वरो भइसकेपछि जतिचोटि घाँटीको सङ्क्रमण हुन्छ, त्यतिपटक स्ट्रेप्टोकोक्कस ब्याक्टेरियाले आक्रमण गरिरहेको हुन्छ । बाथ ज्वरो भएपछि प्रत्येक तीन÷तीन सातामा पेनिसिलिनको सुई लगाउँदा यो रोग बढ्न पाउँदैन ।

मुटुरोग लाग्नै नदिन के गर्नुपर्छ ?
धूमपान, मद्यपान नगर्ने र रक्तचाप तथा सुगरको मात्रा नियन्त्रणमा राख्ने गर्नुपर्छ । मोटोपन छ भने तौल घटाउनुपर्छ । यसका लागि नियमित व्यायाम गर्ने र खानपिनमा धेरै चिल्लो पदार्थ त्याग्नुपर्छ ।



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?