१४ फाल्गुन, २०७९
शीतलपाटीन्युज डटकम।
दुबई। साहसिक पर्यटनका लागि मुलुकमै आकर्षक गन्तव्य बन्दै गएको पर्वतमा प्रवासी नेपालीको लगानीमा सुविधा सम्पन्न ‘तारे’ होटल निर्माण हुने भएको छ। अन्तर्राष्ट्रिय पर्वत समाजको दुबईमा सम्पन्न भएको भेला तथा साधारण सभामा पर्वतको पर्यटन विकासका लागि तारे स्तरको होटल बनाउने घोषणा गरिएको हो।
प्रवासमा रहने पर्वतेलीहरुको लगानीमा बन्ने पाँच तारे स्तरको होटल कुश्मा आसपास रहनेछ। होटल चार वा पाँच तारे हुन सक्ने समाजका संस्थापक महासचिव गुणराज शर्माले जानकारी दिनु भयको छ। अहिले सम्म पाँच तारे होटल बनाउने योजनामा छौ, चार तारे स्तरको पनि हुन सक्छ, शर्माले बताउनु भयको छ।’
मुलुककै पर्यटनको राजधानी पोखरा नजिक रहेको पर्वतको कुश्मा र साबिकको धौलागिरि अञ्चलका मुस्ताङ,बागलुङ,म्याग्दीमा आउने आन्तरिक र बाह्य पर्यटकले सुविधा सम्पन्न होटलको अभावमा पोखरा नै फर्कँदै आएका छन्। पर्वत सहितका जिल्लामा आउने पर्यटकलाई सुविधा सम्पन्न होटल खोज्न पोखरा जान नपरोस् भनेर होटल निर्माण गर्ने योजना अघि बढाइएको अन्तर्राष्ट्रिय पर्वत समाजका प्रमुख संरक्षक पुरन गिरीले बताउनु भयको छ।
घुम्न आउने पर्यटक होटल खोज्न पोखरा नै फर्कनु पर्ने अहिलेको अवस्थालाई अन्त्य गर्न आवश्यक देखियो।’ अन्ताराष्ट्रिय पर्वत समाजका संस्थापक अध्यक्ष समेत रहनुभएका गिरीले भन्नुभयो। प्रवासमा रहेका सबै पर्वतेलीहरुको सामूहिक लगानीमा सुविधा सम्पन्न होटल निर्माण गर्ने अभियान थालि सकेका छौ। युरोप, अमेरिका,अष्ट्रेलिया,जापान जस्ता मुलुकमा मात्रै होइन कोरिया,मलेसिया र खाडीका मुलुकमा रहेका हरेक पर्वतेलीहरुका लागि होटलमा लगानी गर्ने वातावरण सुनिश्चित गरिने गिरीले प्रतिबद्धता जनाउनु भयको छ।
पर्वतको कुश्मामा विश्वकै अग्लो स्विङ,दोस्रो अग्लो बञ्जीजम्प,विश्वकै दोस्रो लामो सुपरम्यान जीप लाईन लगायतका साहसिक खेलहरु सञ्चालन भैरहेका छन्।
कुश्ममा नै नेपालमा नै पहिलो पटक ह्युमन स्विङ सर्ट खेल पनि सञ्चालनको अन्तिम तयारीमा छ। नेपालकै अग्लो शिव पार्वतीको मूर्ति पनि निर्माणको चरणमा छ। मध्यपहाडी लोकमार्गको स्तर उन्नती पछि अहिले आन्तरिक र बाह्य पर्यटक समेत ठुलो संख्यामा आइरहेका छन्। उत्तरमा तिब्बतको सिमाना कोरल्ला नाका र दक्षिणमा भारतको सिमाना सुनौली जोड्ने कालीगण्डकी करिडोर समेत कालोपत्रे भइरहेको छ।
पर्वत सबै छेत्रबाट ट्रान्जिट प्वाइन्ट बन्ने सम्भावना छ । यसले गर्दा पर्यटन क्षेत्रमा गरेको लगानीले मुनाफा पनि राम्रो दिने र पर्वतको पर्यटन विकासका लागि ठुलै टेवा पुग्ने विश्वासमा लगानीकर्ता देखिएको छ। पर्वत जिल्लाको पर्यटन क्षेत्रमा प्रवासमा रहेका पर्वतेलीहरुको लगानी भित्र्याउने पहिलो प्रयासको रुपमा यो अभियान थालिएको गैह्र आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्का अध्यक्ष कुल आचार्यको पनि भनाई छ।
दुबई भेलामा अन्तर्राष्ट्रिय पर्वत समाजका प्रमुख संरक्षक पुरन गिरीको प्रस्तावमा प्रवासीहरुले समर्थन जनाउँदै लगानीको प्रतिबद्धता समेत जनाएको हो। समाजका अध्यक्ष झलक केसीले सबै प्रवासी पर्वतेलीहरुलाई लगानी गर्न आव्हान गर्नु भयको छ। लगानीको सुरक्षा, प्रतिफलको ग्यारेन्टी समेत हुने र जिल्लाको पर्यटन विकासका लागि ऐतिहासिक काम हुने भएकाले सबैले लगानी गर्न आवश्यक छ।