२६ फाल्गुन, २०७९
सुरेश कोईराला।
अमेरिका। गैर आवासीय नेपाली सङ्घ अमेरिकाले सदस्यता खुला गरेकै दिन गत बिहीबार मेम्बर सीप ड्राइभ कमिटीको चेयरमा उपाध्यक्ष डीलु पराजुलीलाई चयन गरेको छ। मेम्बर सीप ड्राइभ कमिटीलाई एनआरएनए अमेरिकामा निक्कै महत्त्वपूर्ण मानिन्छ । वरिष्ठ उपाध्यक्ष कृष्ण जीवी पन्तले मेम्बर सीप ड्राइभ कमिटीको चेयर लिनका लागि निक्कै जोड गरेका थिए। अध्यक्ष बुद्धि सागर सुवेदी र महासचिव अन्जन कुमार चौलागाईले गत बिहीबार बसेको कार्यसमिति बैठकमा उपाध्यक्ष डीलु पराजुलीलाई मेम्बर सीप ड्राइभ कमिटीको चेयरमा प्रस्ताव गरे पछि कार्यसमितिले अनुमोदन गर्यो ।
सीमित व्यक्तिहरू बिचमा रहेको एनआरएनए अमेरिकालाई पूर्व अध्यक्ष खगेन्द्र जीसीले मेम्बर सीप ड्राइभलाई तीव्रता दिएर सदस्यता विस्तार गरे । त्यसै वर्ष भएको निर्वाचनमा जीसी एनआरएनए अमेरिकाको अध्यक्ष बन्न सफल भए। गैर आवासीय नेपाली सङ्घ अमेरिकालाई धेरै राज्यमा पुर्याउन डाक्टर केशव पौडेलले सदस्यता वितरणमा महत्त्वपूर्ण योगदान दिए । गैर आवासीय नेपाली सङ्घ अमेरिकामा सदस्यता बन्न प्रोत्साहित गर्दै लहर चलाएर। त्यो वर्ष अमेरिकामा झन्डै तीन गुण बढी सदस्य थपिए । त्यसै वर्ष भएको निर्वाचनमा डाक्टर पौडेल खगेन्द्र जी सी पछि अध्यक्ष बन्न पुगे । पूर्व अध्यक्ष डाक्टर केशव पौडेल एनआरएनए अमेरिकाको नेतृत्वमा रहेका बेला तत्कालीन वरिष्ठ उपाध्यक्ष सुनिल साहलाई मेम्बर सीप ड्राइभ कमिटीको चेयरमा नियुक्त गरेका थिए। सदस्य सङ्ख्या केही घटे पनि त्यस पटक सुनिल साह नै एनआरएनए अमेरिकाको अध्यक्ष निर्वाचित भए। सुनिल साह अध्यक्ष भएको समयमा तत्कालीन उपाध्यक्ष बुद्धि सागर सुबेदीलाई मेम्बर सीप ड्राइभ कमिटीको चेयर बनाए । सुवेदी मेम्बर सीप ड्राइभ कमिटीको चेयर भएको समयमा एनआरएनए अमेरिकामा सदस्यता दोब्बर वृद्धि भयो त्यही वर्ष भएको निर्वाचनमा बुद्धि सागर सुबेदी अध्यक्षमा निर्वाचित भए। एनआरएनए अमेरिकालाई नजिकबाट बुझ्नेहरूले मेम्बर सीप ड्राइभ कमिटीको चेयरलाई सम्भावित अध्यक्षको रूपमा हेर्ने गर्छन् । यसै कारण मेम्बर सीप ड्राइभ कमिटीको चेयर बन्न निक्कै कडा प्रतिस्पर्धा हुने गर्दछ।
मेम्बर सीप ड्राइभ कमिटीको चेयरमा नियुक्त भए लगतै उपाध्यक्ष डीलु पराजुलीले प्रेस वक्तव्य जारी गर्दै सदस्यता कसरी बन्ने र कहिलेसम्म बन्न सकिन्छ भन्ने लगायतका धेरै विषयलाई प्रस्ट बनाउने कोसिस गरेका छन् । साथै बुधबार राती एनआरएनए अमेरिकाको फेसबुक पेजबाट सदस्यता लिन योग्यता पुगेका सबैलाई आह्वान गरेका छन्। एनआरएनए अमेरिकाका उपाध्यक्ष तथा मेम्बर सीप ड्राइभ कमिटीको चेयर डीलु पराजुलीले सदस्य सङ्ख्याको हिसाबले विश्वको सबै भन्दा ठुलो राष्ट्रिय समन्वय परिषद् अमेरिकाको ताज जोगाउने चुनौती र अवसर आफूलाई प्राप्त भएको जनाएका छन्।
मेम्बर सीप ड्राइभ कमिटीको चेयरको जिम्मेवारी दिएकोमा अध्यक्ष बुद्धि सागर सुबेदी र कार्यसमितिलाई उपाध्यक्ष पराजुलीले धन्यवाद दिएका छन्। एनआरएनए अमेरिकाका २९ वटा च्याप्टर र सबै राज्यमा रहेका इकाइसँग मिलेर सदस्यता वितरणको अभिभारालाई पुरा गर्ने प्रतिबद्धता जाहेर गरेका छन्।