१६ चैत्र, २०७९
बिक्रम भट्टराई,
अलडरसट।
लण्डन। गएको आठ वर्षदेखी हाम्रो नियमित सेवाग्राही ८३ वर्षीय हेदर मोलीले गाड़ीमा चढ्दै भनिन “I am so relax today Bikram…”प्यारप्यार बोल्न पर्ने म…..बस् के चाहियो। हेदर किन र ? भनेर प्रश्नहरु बर्साउन थालीहालेँ।
कुरा के रहेछ भनेँ हेदरले आँफु ६० वर्षको उमेर हुदादेखी नै आँफ्नो मृत्यु संस्कार ( Funeral Cover) लागी लाग्ने सम्पुर्ण खर्च लगायत सबै आवश्यक कुराहरु ईन्स्युरेन्स गरेकी रहिछन त्यो पनि हरेक महिना सानों सानों शुल्क तिर्ने गरेर जुन किस्तावन्दी यही महिना सकिएको रहेछ। मलाई रमाईलो अनि अनौठो पनि लाग्यो । फेरी सोधेँ यसमा के के कवर हुने रहेछ त नी हेदर? उसले छोटो उत्तर दिई “एभ्रीथिङ्स”।
…..मेरो गाड़ी लुटन एयरपोर्टको लागी अगाडी बड्दै गयो, हेदरले आँफ्नो मृत्यु घोषणा भएपछी के के हुनेछ भन्ने कुराहरु भन्दै गईन।“बिक्रम मेरो पार्थिव शरीरलाई साम फ्युनरल डाइरेक्टरको शव वाहनमा मैले धेरै पहिले नै चिनेको जोली म्यान स्टीवले ड्राइव गरेर फलानो चर्चमा लानेछ, त्यसपछी मेरी छोरी पढेको स्कुलको टिंचर जो अहिले त्यो चर्चको फादर छ उसले प्राथना लगायतका कामहरु गर्नेछ,मैले त्यहाँ मेरो बारेमा भन्नै पर्ने कुराहरुको टिपोट दिईसकेको छु,त्यो कार्यक्रम पछी मलाई जलाईने छ, मैले गाड्ने की जलाउने भन्ने अप्सनमा जलाउने अप्सन छानेकी छु किनकी म चहान्न मेरो प्रस्थानपछी मलाई मेरो छोरा र छोरीले मलाई गाडेको ठाउमा आएर केही समयका लागी भएपनि दुःखी हुन् …… “म उसका कुराहरु सुन्दै M25 मा तोकिएको स्पिडमा ड्राइव गर्दै गएँ। जब केही बेर उ रोकिन्थी म सोध्थेँ “ हेदर, आफ्टर द्याट….?”उ फेरी विस्तारमा भन्दै गई “मेरो शवमा फूलहरु नचढाउन भनेको छु बरु त्यसको सट्टामा Phyllis Tuckwell,Hospice Care मा जाने गरेर केही रक़म सहयोग गर्न अनुरोध गरेकी छु,त्यसपछी मेरा मलामीहरु त्यही चर्चको ४०० मीटर परको ग्रिन किङ्स पवमा जानेछन,अनि सबै मलामीले ‘फिसएण्डचिप्स’ र आँफुलाई मन पर्ने ड्रिंक खानेछन……. यु नो बिक्रम,आई लव फिस्एण्डचिप्स् !……… एण्ड बिक्रम,एभ्रीथिङ्ग्स् विलवी पैंड बाई माई ईन्स्युरेन्स कम्पनी….. “
म बेला बेलामा हेदरलाई हेर्थें र मनमनै ट्वाँ पर्थेँ। कस्तो सुन्दै आनन्द लाग्ने,कति योजनावद्ध र निर्धक्क। हो त सबैलाई थाहा छ यो धर्तीमा आएपछी एक दिन जानैपर्छ तर हामी मरिन्छ भन्ने विषयमा कुरा गर्नै नपरोस् भन्छौं,कहिले काही हेर बुडी म तिमी भन्दा पहिले मरे भने……. मात्रै के भन्न पाउछु बुडीले “भो भो त्यस्तो कुरा नगर्नु होस्”… त्यसरी नै उनले “खै रोगी भईयो र तपाई भन्दा पहिले म मरेँ भने….” भन्न नपाउदै म हैट बुडी त्यस्तो कुरा नगर भन्छु तर हामी दुवैलाई थाहा छ मृत्यु अकाट्य छ ….अनि यस्ता कुराहरु जान्दा जान्दैपनि हामीहरु किन कमसेकम आँफ्नो मृत्युलाई अरुका लागी बोझ नबनोस् भन्ने हेक्का राख्दैनौं,अझै बिदेशमा बस्ने हामी नेपालीहरु त जति नै सम्पन्न भएपनि मरेर अन्त्येष्टि क्रिया कर्म गर्ने गराउने नाममा विभिन्न संघ र संस्था मार्फ़त सहयोग रक़म उठाउन सुरु गर्छौं। मलामी जाँदा पनि हामी हाम्रो मनले स्विकार गरोस् या नगरोस् अरुको सिको गर्दै कालों कपड़ामा ठाँट्टिएर पुग्छौं,फूल अथवा खादाहरु नल्याउनु होस् भनेर अनुरोध गर्दागर्दै पनि बोकेर पुग्छौं र पुरै वातावरण नै फोहोर बनाउछौं।
मृत्यु भएको व्यक्तिको व्यक्तिगत चहानाहरु के थिए ? कस्तो ईच्छा थियो? यस्ता कुराहरुमा सोच्न पनि चहान्नौं बरु आँफुलाई या आँफ्नो पारिवारिक सदस्यको अन्त्येष्टि धमाकेदार होस् भन्ने जस्तो गर्छौं,के यो सही हो? … यस्तै यस्तै सोच्दा सोच्दै M1 बाट लुटन एयरपोर्टको एग्जीट आईसकेछ । हेदरलाई गाड़ीबाट झारेर टेनरिफ आईल्याण्डको दुई हप्ते बसाई सुखद रहोस् भनेर शुभकामना सहित फर्केपछी एयरपोर्टमा भेट्ने वाचा गर्दै हामी विदा भईयो।
मनमनै सोचें मेरो मृत्यु कसैलाई बोझ नहोस्……
सबैको जय होस्