२७ चैत्र, २०७९
शीतलपाटीन्युज डटकम।
लन्डन। भारतको सिक्किम प्रान्तका पूर्व मुख्यमन्त्री पवन चाम्लिङ किरात राईहरुको महान चाड उभौली कार्यक्रममा अतिथिको रुपमा बेलायत आउने भएका छन्। किरात राई यायोक्खा बेलायतका अध्यक्ष चन्द्र बहादुर राई र चाम्लिङबीच सिक्किममा भएको भेटघाटका क्रममा अध्यछ्य राईले गरेको निमन्त्रणा स्विकार गर्दै चाम्लिङ बेलायत भ्रमणका लागि सकारात्मक भएको राईले बताउनु भयको छ।
हाल नेपाल भ्रमणमा रहेका राई पारिवारिक भेटघाटको सिलसिलामा सिक्किम पुगेर निमन्त्रणा गर्नु भयको हो। अनौपचारिक भेटघाटमा चाम्लिङले मौखिक आश्वासन दिएको र उनलाई चांडै औपचारिक निमन्त्रणा पठाउनुका साथै अन्य प्रक्रियाहरु अघि बढाउने संस्थाले निर्णय गरेको किराया बेलायतका उपाध्यक्ष तथा विदेश विभाग प्रमुख जितेन्द्र साम्पाङ राईले बताउनु भयको छ।
किरात राई जातिले भूमिचक्र अनुसार वर्षमा दुई पटक महान चाडको रुपमा उधौली र उभौली मनाउँदै आएको छ। यसै उभौली चाडलाई बहुभाषिक बहुथरि किरात राईहरुले खाउमो,तोस,तोसी,तोसु,वास, साकेन्वा,साकेवा,साकेला,साखेवा,हङ,सेग्रो आदि विभिन्न भाषागत शब्दहरुले जनाउने गरेको पाइन्छ।
किरात राई यायोक्खा बेलायतका कार्यवाहक अध्यक्ष तथा उभौली कार्यक्रम संयोजक रि.क्या.सुमन चन्द्र राईका अनुसार किराया बेलायतले संयुक्त अधिराज्यमा प्रत्येक वर्ष बैशाख पूर्णिमा अर्थात बुद्ध जयन्तीको पहिलो शनिवार धुमधामका साथ उभौली चाड मनाउंदै आएको छ। सोही तिथि र मिति अनुसार किराया बेलायतले यस वर्षको उभौली आगामी मे ६ तारिख किरात राई हाउस ग्याम्बल्स लेन वकिङमा हर्षोल्लासका साथ मनाउने भएको छ। सो अवसरमा बेलायवासी किरात राई तथा गैर किरात राईहरुलाई उपस्थिति हुन कार्यक्रम संयोजक राईले आग्रह गरेका छन्।