२ जेष्ठ, २०८०
शीतलपाटीन्युज डटकम।
लण्डन। प्रवासी नेपाली मंच (ओएनएफ) युकेले ‘मिसन ग्रासरुट’ कार्यक्रम उत्साहजनक रुपमा सम्पन्न गरेको छ। प्रवासी नेपाली मंच अन्तरराष्ट्रिय कमिटि अध्यक्ष संजय थापाको प्रमुख आतिथ्यतामा साउथ इस्ट लण्डन,नर्थ वेस्ट लण्डन,साउथ वेस्ट, मिडल्याण्ड र स्कटल्याल्डमा विशेष कार्यक्रम गरि सम्पन्न गरेको हो।
ओएनएफका नेता तथा कार्यकर्ताहरु स्थानीयस्तरमा सहभागीता रहेको थिए। माउ पार्टी एमालेले नेपालमा पार्टी र जनतालाई जोड्ने गरि देशभर चलाएको ‘मिसन ग्रासरुट’ कार्यक्रम बेलायतभर पनि संचालन गरिएको छ। यस बाहेक ओएनएफका ३६ संगठन रहेका ३६ वटै प्रवासमा विशेष कार्यक्रमसहित अभियान चलाइएको छ। युकेमा झण्डै एक साता चलेका कार्यक्रमले नेता र कार्यकर्ता विच अन्तरक्रिया सहित पार्टीका आगामी नीति, प्रवासी नेपालीका मागहरुलाई एक रुपता दिदै नेतृत्व समक्ष पुर्याउने र समाधान गर्ने गरि एकीकृत ढंगले आफ्नो कार्यकालमा काम गर्न लागेको अध्यक्ष थापाले बताए।
ओएनएफ युके अध्यक्ष तुंगभद्र भुसालसहित अन्तरराष्ट्रिय कमिटिका अध्यक्ष थापाले लगानी, ज्ञान र सीप हस्तान्तरण तथा प्रवासीका अधिकारका सवालमा अल्पकालिन र दीर्घकालिन ढंगले कार्य गर्न योजना बनाएको जानकारी दिए। कमिटिमा बसेर पद ओगट्ने भन्दा पनि आ-आफ्नो कार्यकालमा ठोस योजनासहित कार्य गर्न ओएनएफ युके र क्षेत्रीय कमिटिलाई विशेष अनुरोध थापाले गरे।
गत शनिवार र आइतबार दुई दिन प्लमस्टेड, अल्डरसट, कोभेन्ट्री, ह्यारो र स्कटल्याण्डमा भएका मिसन ग्रासरुट कार्यक्रममा बेलायतमा ओएनएफ युकेलाई थप बलियो र दरिलो संगठनका रुपमा नेपाली समाज सामु उभ्याएको छ । बेलायतका विभ्रिन्न स्थानमा कार्यक्रम गरिएपछि उत्साहित हुदै अन्तरराष्ट्रिय अध्यक्ष थापाले भने, ‘कार्यक्रम होस त बेलायतको जस्तो।’
पार्टीले दिएको जिम्मेवारी र बेलायतमा रहेका ओएनएफका नेता-कार्यकर्ताहरुको सहभागीताले पार्टीलाई थप उचाईमा पुर्याउने अपेक्षा थापाले गरे । उनी माक्र्सको समाधिस्थल भ्रमण सकेर मंलबार स्पेन प्रस्थान गरेका छन । उनलाई ओएनएफ युके अध्यक्ष भुसाल तथा अन्तरराष्ट्रिय कमिटिका नेताहरु रामशरण सिंमखडा, र सरस्वती केसीले विमानस्थलमा विदाई गरेका थिए। अध्यक्ष थापा श्रीमति थापासहित बेलायत आएका थिए।
(श्रोत-प्रचार प्रसार विभाग
ओएनएफ युके)