१ श्रावण, २०८०
शीतलपाटीन्युज डटकम।
लन्डन। मौलिक नेपाली कला, संस्कृतिको प्रवर्द्धन र पुस्तान्तरणको लक्ष्यसहित बेलायतमा हुंदै आएको प्रतिभा नक्षत्रको चौंथो संस्करण २६ अगस्ट २०२३ मा आयोजना हुने भएको छ। लन्डन प्लमस्टिडको एशियन कम्युनिटी सेन्टरमा अगस्ट चौंथो प्रतिभा नक्षत्र आयोजना हुने तय भएको कुरा आयोजक प्रतिभा नक्षत्रले जनाएको छ।
बाल र युवा गरी दुई फरक समूहमा प्रतिभा नक्षत्रहरुको खोजी गरिने कार्यक्रममा नेपाली कला, संस्कृतिको प्रवर्द्धनका साथै आपसी सद्भाव र भाइचारा अभिवृद्धि गर्ने खालका विभिन्न स्टलहरु समेटिएको प्रतिभा नक्षत्र गाउँ पनि विशेष आकर्षण रहनेछ।
कार्यक्रममा बाल समूहतर्फ ६ देखि ११ वर्ष उमेरभित्रका बालबालिका तथा युवा समूहतर्फ १२ देखि १९ वर्ष उमेरभित्रका युवाहरुले भाग लिने सक्ने क्राईटेरिया बनाईएको छ।गायन,नृत्य,साहित्य,अभिनय,क्यारिकेचर,संगीत,चित्रकला लगायतका जुनसुकै विधामा सर्वोत्कृष्ट प्रतिभा प्रस्तुत गर्नेहरुलाई प्रतिभा नक्षत्रका रुपमा पुरस्कृत गरिनेछ।
युवातर्फ प्रथम हुनेलाई ६ सय, दोस्रोलाई ५ सय र तेस्रोलाई ४ सय तथा बालतर्फ क्रमशः ४ सय, ३ सय र २ सय पाउण्ड नगदसहित ट्रफी र प्रमाणपत्र वितरण गरिने कार्यक्रम छ।
प्रतिभा नक्षत्रको अर्को मुख्य आकर्षण प्रतिभा नक्षत्र गाउँ रहनेछ । जसमा कार्यक्रममा सहभागी जोसुकैले आफ्नो इच्छाअनुसार चित्रकला गर्न सक्ने प्रतिभा नक्षत्र कलाघरदेखि नेपालभित्रैका विभिन्न कुइजिनका साथै पञ्जावी, नाइजेरियन जस्ता विदेशी कुइजिनका परिकारहरु पस्किने प्रतिभा नक्षत्र भान्साघर सम्म रहनेछ।
त्यस्तै डन्डिबियो,बागचाल,चुंगी खेल्नेदेखि चंगा उडाउनेसम्म सुविधाको प्रतिभा नक्षत्र खेलकुदघर,स्वास्थ्य चेकजाँच तथा परामर्श दिने प्रतिभा नक्षत्र स्वास्थ्य घर र पर्यावरणमैत्री सामग्रीहरु उपलब्ध प्रतिभा नक्षत्र बिक्री तथा प्रवर्द्धननघर,नेपाली तथा अंग्रेजी साहित्यको संग्रह र वाचन गर्ने अवसरसहितको प्रतिभा नक्षत्र साहित्यघर पनि रहने छ।
यस वर्ष पहिलोपटक मौलिक थारु संस्कृति झल्काउने प्रतिभा नक्षत्र थारुघर पनि राख्ने तयारी भइरहेको आयोजकले प्रेष बिगेप्ती मार्फत जनाएको छ।कार्यक्रमको आयोजक समूह प्रतिभा नक्षत्रका परिकल्पनाकार राजेन्द्र खस,संरक्षक मनिषकुमार श्रेष्ठ,अध्यक्ष सिम्मी पुनसहितको टीमले नेतृत्व गरिरहेको छ। कार्यक्रममा इनास यूके, एनआरएनए यूकेसहितका बेलायतस्थित विभिन्न नेपाली संघसंस्थाको पनि सहकार्य रहने छ।
प्रतिभा नक्षत्र २०२३ मा भाग लिन ईच्छुक प्रतियोगीले तल क्लिक गरी आवेदन फारम प्राप्त गर्न सक्नेछन् -
http://www.nepalilink.com/wp-content/uploads/2023/07/Registration_form_2023.pdf