२१ माघ, २०८०
GNNNEWS-
लन्डन - योग, ध्यान र साधनाद्वारा जीवनमा सकारात्मक परिवर्तन ल्याउन काम गरिरहेको संस्था जीवन विज्ञान युकेको चौथो वार्षिकोत्सव मनाइएको छ।
शनिबार बिहान अनलाइनबाट आयोजित समारोहमा जीवन विज्ञानका संस्थापक तथा जीवन विकास विशेषज्ञ गुरु रमेश नेपालले अरुको हितको लागि आफ्नो जीवन समर्पण गरेका प्रशिक्षकहरुको मेहनत र प्रयासको कारणले धेरै व्यक्तिलाई सेवा पुगेको बताए। "जीवनमा सुखदुख, आरोह अवरोह भै रहन्छन। तर आफुलाई व्यवस्थित गर्ने, खुसी बनाउने, सहज जीवन यापन गर्ने प्रयास जारी राख्नु पर्छ," उनले भने।
उनले यही मार्च ३० देखि अप्रिल ५ (चैत्र १७ देखि २३ गते) सम्म लुम्बिनीमा हुन लागेको ‘बिराट चक्र विज्ञान साधना शिविर’ मा सहभागी हुनपनि सबैलाई आग्रह गरे। भगवान बुद्धको जन्मभूमिमा ५ हजार मानिसहरुले एकै ठाउँमा बसेर मानवताको कल्याणका लागि ध्यान गर्दा विश्वव्यापी संदेश जाने र देशको प्रतिष्ठा बढ्ने उनले बताए।
जीवन विज्ञानका संस्थापक तथा जीवन विकास विशेषज्ञ गुरु एलपी भानु शर्माले प्रकाशतिरको यात्रा कठिन भए पनि असम्भव नभएको बताए। " तपाईंले पहिलो कदम लिनोस् , त्यस पछि जीवनले आफ्नो बाटो आफै लिन्छ। यो यज्ञमा आफ्नो तर्फबाट चरु थप्दै जानोस्। यो अग्निमा जे चाहिंदैन सबै जल्छन्, जे चाहिन्छ सबै प्रकट हुन्छन् । बेलायतले धेरै ठूलो सम्भावना राख्छ, युरोपको केन्द्र तथा अमेरिका र नेपालबीच समदूरी रहेका कारण पनि । त्यसैले बेलायतमा अध्यात्मको अग्नि जगाउनु पर्छ," उनले भने। हामी नेपालीहरु देव भूमि, योग भूमि, तपोभूमिमा जन्मेका हौँ। हाम्रो मातृभूमिको मूल काम पुरै विश्वमा अध्यात्मको बिजारोपण गर्ने हो। त्यो काम हामीले नगरे कसले गर्छ?”
आफ्नो शुभकामना मन्तव्यमा लन्डनस्थित नेपाली दूतावासकी उपनियोग प्रमुख श्रीमती रोशन खनालले कोरोना महामारी शुरु हुन लागेको बेला १ फेब्रुअरी २०२० देखि नियमित रुपमा अनलाइन योग कक्षा संचालन गरी शारीरिक तथा मानसिक स्वास्थ्य प्रवर्धनमा जीवन विज्ञान युकेले निर्वाह गरेको भूमिकाको प्रशंसा गरिन् । "मानिसहरुको व्यस्त जीवन र बढ्दै गएको तनावका बिचमा यस संस्थाको उपादेयता अरु बढेको छ," उनले भनिन्।
आफ्नो शुभकामना संदेशमा जीवन विज्ञान अमेरिकाका अध्यक्ष सुशील शर्माले गुरुद्वयको उपस्थितिमा सन् २०२२ मा अमेरिकाका तीन राज्यमा चक्र विज्ञान र सात राज्यमा कार्यक्रम गरेको बताए। उनले २०२४ को जुनमा दोश्रो पटक चक्र विज्ञान साधना शिविर आयोजनाको तयारी गरिरहेको बताए।
विगत १४ वर्षदेखि डेनमार्कमा बसोबास गरिरहेका राजेश रेग्मीले जीवन विज्ञानमा जोडिए पछि आफुले नियमित रुपमा बिहान योगाभ्यास र बेलुका सन्ध्या साधना गरिरहेको र अहिले स्वास्थ्य र जीवनलाई हेर्ने आफ्नो दृष्टिकोण नै परिवर्तन भएको बताए। डेनमार्कमा कैयौं वर्ष निन्द्रा नलाग्ने समस्या रहेकोमा अहिले त्यो समस्याबाट आफु मुक्त भएको उनले बताए।
दक्षिणी लन्डनस्थित पशुपतिनाथ मन्दिरका संरक्षक पं. नीलहरि घिमिरेले गणेश वन्दनाबाट आशीर्वचन दिए भने जीवन विज्ञान युकेका ट्रष्टी तथा रोयल बरो अफ ग्रिनिचका उपमेयर जीत रानाभाटले श्रद्धेय गुरुदेवद्वय तथा सबै सहभागीहरुलाई स्वागत गरेका थिए।
कार्यक्रममा मनिकला राइ तथा बेल्जियममा बसोबास गर्ने प्रशिक्षक सविता दाहाल अधिकारीले आफ्नो अनुभव सुनाए।
प्रशिक्षक निर्मला राइले कविता वाचन गरिन् भने बालिका ओजस्वी हमालले रोचक नृत्य प्रस्तुत गरेकी थिइन्। हल्याण्डमा बसोबास गर्ने सबु पौडेलले सिङ्गिङ्ग बाउल बजाएर सुनाइन् ।
त्यस्तै योगेन्द्र लिम्बु र अंशु केसीले भजन सुनाए भने कवि दामोदर खनाल तथा प्रशिक्षक निर्मला राइले कविता वाचन गरेका थिए
जीवन विज्ञान युकेका ट्रष्टी तुलसी पौडेलले गत एक वर्षमा जीवन विज्ञान युकेका गतिविधिहरु बारे जानकारी गराए।
जीवन विज्ञान युकेकी ट्रष्टी तथा प्रशिक्षक सरिता शर्माले संचालन गरेको कार्यक्रममा अर्का ट्रष्टी प्रेम खड्काले जीवन विज्ञान अभियानमा सहभागी तथा सहयोगी सबैलाई धन्यवाद दिए।
फेसबुकबाट प्रत्यक्ष प्रसारित उक्त कार्यक्रममा नेपाल, बेलायत, युरोप र अष्ट्रेलियाबाट पनि साधकहरुको उल्लेख्य सहभागिता थियो।