GNNNEWS- काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए) उच्चस्तरीय समितिले संघको सदस्य बन्ने मिति थप गरेको छ। उच्चस्तरीय समितिका अध्यक्ष शेष घलेको अध्यक्षतामा आइतबार बसेको उच्चस्तरीय समितिको नवौं बैठकले सदस्यता दर्ता, निर्वाचन प्रक्रिया र आगामी महाधिवेशनको तयारी लगायतका महत्वपूर्ण विषयहरूमा छलफल गरेको थियो । बैठकले सदस्यता दर्ता प्रक्रिया थप व्यवस्थित बनाउनका लागि नयाँ समयसीमा तोकेको छ । अब गैर आवासीय नेपालीहरूले ३१ मार्च २०२५ सम्म सदस्यता दर्ता गर्न सक्नेछन् । https://nrnahlc.com/ मा गएर सदस्यताको लागि आवेदन दिन सकिनेछ। बैठकले महाधिवेशनका लागि आइसीसी (इन्टरनेशनल कोर्डिनेशन काउन्सिल) ले लिने सदस्यता दर्ता शुल्क नलिने निर्णय गरिएको छ । तर, राष्ट्रिय समन्वय परिषद्हरू (एनसीसी) लाई आफ्नो देशको कानुनी व्यवस्थाअनुसार शुल्क तोक्न सक्ने अधिकार दिइएको छ। त्यसैगरी बैठकले आगामी निर्वाचन प्रक्रियालाई पारदर्शी र निष्पक्ष बनाउने उद्देश्यले प्रमुख निर्वाचन आयुक्त र अन्य निर्वाचन आयुक्तहरूको नियुक्ति गर्ने निर्णय गरेको छ। राष्ट्रिय समन्वय समितिको निर्वाचन १५ अप्रिल २०२५ भित्र सम्पन्न गर्ने समय सिमा पनि तोकिएको छ । तोकिएको समयसीमा भित्र निर्वाचन सम्पन्न गर्न नसके उच्चस्तरीय समितिसँग सम्झौता गरी महाधिवेशनको लागि नयाँ मिति निर्धारण गर्न सक्ने अधिकार पनि दिइएको छ। बैठकले आगामी मे ३-५ तारिखमा काठमाडौँमा आयोजना हुने महाधिवेशनलाई भव्य बनाउनका लागि प्रमुख अतिथि तथा अन्य विशिष्ट अतिथिहरूलाई निमन्त्रणा गर्ने प्रक्रिया सुरु गर्ने निर्णय गरेको छ । यसै गरी मूल आयोजक समितिको बैठक तुरुन्तै आयोजना गर्ने निर्णय गरिएको पनि जनाइएको छ।
शीतलपाटीन्युज डटकम। पोखरा। पोखरा भ्रमण वर्ष २०२५ को उद्घाटनका क्रममा बेलुन पड्केर घाइते भएका उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल र पोखराका मेयर धनराज आचार्यलाई हेलिकप्टर मार्फत उपचारका लागि काठमाडौँ लगिएको छ। कार्यक्रमको डिजिटल इनागुरेसन गर्ने क्रममा हाइड्रोजन ग्यास भरिएका बेलुनहरू फायर क्यान्डिलबाट निस्किएका झिल्काहरूसँग ठोकिन पुगेपछि दुर्घटना हुन पुगेको बताईएको छ। अर्थमन्त्री पौडेलको दुवै हात,अनुहार र घाँटी आसपासमा क्षति पुगेको जनाइएको छ। मेयर आचार्यको अनुहारको भाग जलेको देखिएको छ। घटना लगत्तै उनीहरूलाई हेलिकप्टर मार्फत काठमाडौँ लगिएको हो। अर्थमन्त्री पौडेललाई उपचारका लागि गण्डकी मेडिकल कलेज शिक्षण अस्पताल लगिएकोमा थप उपचारका लागि काठमाडौँको कीर्तिपुरस्थित अस्पतालमा लगिएको नेपाल कम्युनिष्ट पार्टी (एमाले) कास्कीका अध्यक्ष बैनबहादुर अधिकारी क्षेत्रीले जानकारी दिएका छन। महानगर प्रमुख आचार्यलाई उपचारका लागि फिस्टेल अस्पताल लगिएकोमा थप उपचारका लागि काठमाडौँ पठाइएको उनका प्रेस संयोजक भीम थापाले जानकारी दिए। महानगरप्रमुख आचार्यको अनुहार तथा गालामा क्षति पुगेको छ। अर्थमन्त्री पौडेल र मेयर आचार्यलाई थप उपचारका लागि कीर्तिपुरस्थित बर्न अस्पताल पुर्याइएको छ। video- https://www.facebook.com/share/v/14wuKZtvT2/?mibextid=wwXIfr
शीतलपाटीन्युज डटकम। काठमाडौं। नेपाल प्रहरीका अवकाशप्राप्त सात प्रहरी महानिरीक्षक(आईजीपी)को टोलीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट गरेको छ। बिहीबार बिहान प्रधानमन्त्री ओलीलाई भेटेर प्रहरी बिधेयकमा रहेका संगठनलाई कमजोर पार्ने प्रावधानका बारेमा ध्यानाकर्षण गराएका छ। भेटका क्रममा पूर्वआईजीपीहरुले प्रहरीका सबै काममा प्रमुख जिल्ला अधिकारीको निर्देशन र नियन्त्रण रहने गरी ल्याइएको बिधेयकले संगठन कमजोर हुने भन्दै त्यो प्रावधान नराख्न उनीहरुले सुझाव दिएका थिए। सो अवसरमा पूर्वआईजीपीहरु मोतिलाल बोहरा,अच्युतकृष्ण खरेल,ओमबिक्रम राणा,रमेश चन्द ठकुरी,कुबेरसिंह राना,उपेन्द्रकान्त अर्याल र धिरजप्रताप सिंह समेतले प्रहरीलाई कमजोर नपार्नका लागि ध्यानाकर्षण गराउन प्रधानमन्त्री निवासमा गएका थिए।
शीतलपाटीन्युज डटकम। पोखरा। यहि फागनु ३ गते आयोजना हुने १९ औं सस्करणको पोखरा अन्तर्राष्ट्रिय म्याराथनलाई विश्वका विभिन्न देशसहित गैर आवाशिय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदले एक कार्यक्रमका बीच रकम हस्तान्तरण गरेका छन्। प्रदेश खेलकुद परिषद गण्डकी, नेपाल भूतपूर्व खेलाडी मञ्च र बगर भाइखलक पोखराले सोमबार संयूक्त रुपमा आयोजना गरेको सम्मान तथा रकम हस्तान्तरण कार्यक्रममा उनीहरुले सो रकम हस्तान्तरण गरेका हुन्। पोखरामा आयोजित एक कार्यक्रममा सो रकम हस्तान्तरण गरेको संस्थाका अध्यक्ष दिल बहादुर गुरूङले जानकारी दिएका छन्। रकम हस्तान्तरण गर्नेहरुमा गैर आवाशिय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद, फ्रेन्ड्स अफ पोखरा यूएसए, पोखरेली मञ्च यूके,तमु धिं युके, तमु समाज युके,बगर भाइखलक युके,सहारा युके, राम बजार सोसाइटि युके,चन्द्र प्रकाश गुरूङ अस्ट्रेलिया लगायत रहेका छन्। गैर आवाशिय नेपाली संघले तीन वर्षको सम्झौता अनुरुप ७ लाख ५० हजार परिषदकी महिला सचिब टिका गुरूङ र परिषदका सदस्य दिलरास गुरूङले हस्तान्तरण गरे। त्यसै गरी फ्रेन्ड्स अफ पोखराको तर्फबाट मञ्चले सुरू गरेको अक्षयकोष स्थापनार्थ नगद १० लाख पोखरा अन्तर्राष्ट्रिय म्याराथन युएसएका संयोजक सोम गुरूङ र संयोजक यम पौडेले हस्तान्तरण गरेका थिए। पोखरा अन्तर्राष्ट्रिय म्याराथनको अन्तर्राष्ट्रिय पार्टनर सस्थाको तर्फबट नगद ५ लाख ५० हजार मञ्चका अध्यक्ष करम गुरूङले हस्तान्तरण गरे। तमु समाज युकेले सहयोग गरेको ५० हजार वरिष्ठ उपाध्यक्ष भिम बहादुर गुरूङले हस्तान्तरण गरेका थिए। १९ औं संस्करणको पोखरा अन्तर्राष्ट्रिय म्याराथनका लागि अस्ट्रेलियाका संयोजक चन्द्र प्रकाश गुरूङ सामाजिक सञ्जाल लगायत अन्य सहयोगीहरुबाट संकलित नगद रु ३ लाख ६५ हजार २८८ रुपैयाँ हस्तान्तरण गरे। सो अवसरमा बोल्दै एनआरएनए आइसिसीका महिला सचिव टिका गुरूङले पोखराको प्रवद्र्धनमा म्याराथनको भूमिका महत्वपूर्ण रहेको बताउँदै यस्तो सहयोगलाई निरन्तरता दिने बताइन्। कार्यक्रममा बोल्दै सम्मानित व्यक्तित्व एवं समाजसेवी सूर्य गुरूङले पोखरा अन्तर्राष्ट्रिय म्याराथन खेलकुदको विकासका लागि मात्रै नभई यहाँको आर्थिक उर्पाजनमा समेत उत्तिकै भूमिका खेलेको बताए। कार्यक्रममा आफ्ना भनाई राख्दै तमु धि यूकेका संस्थापक अध्यक्ष मिन प्रसाद गुरूङले २० वर्ष आफू सम्मानित हुन पाउँदा गौरव लागेको बताउँदै खेलकुद र सामाजिक क्षेत्रको विकासमा तमु धिंको योगदान योगदान महत्वपूर्ण रहेको बताए। पोखरा अन्तर्राष्ट्रिय म्याराथन अन्तर्राष्ट्रिय पार्टनर संस्था
शीतलपाटीन्युज डटकम। पोखरा। कास्कीको पोखरा महानगरपालिका-९ बसपार्कमा संचालनमा रहेको साहारा बालआधारभूत विद्यालयमा साहारा यूकेले लाईब्रेरी निर्माण गरी हस्तान्तरण गरेको छ।साहारा यूकेका अध्यक्ष कृष्ण गुरुङले मंगलबार एक समारोहबीच पुस्तकालय उद्घाटन गरी शुभारम्भ गर्दै हस्तान्तरण गरेका हुन्। बिध्यालय ब्यबस्थापन समितीको अध्यक्ष बिक्रम थकालीको अध्यक्षमा भएको सो हस्तान्तरण कार्यक्रममा सम्बोधन गर्दै साहारा यूकेका अध्यक्ष कृष्ण गुरुङले विद्यालयमा पुस्तकालय स्थापना गर्नमा प्रत्यक्ष-अप्रत्यक्ष सहयोग पुर्याउने सबैप्रति धन्यवाद दिए। उनले विद्यालयले आफूहरुलाई दिएको सम्मानप्रति पनि आभार प्रकट गरे। उनले विद्यार्थी भाइबहिनीहरुलाई नआत्तिन र शिक्षकहरुको आग्रहलाई मानेर अगाडि बढ्न सुझाव दिए। यस्तै तमु धीं यूकेका अध्यक्ष जुमकाजी गुरुङले संस्थाको तर्फबाट विभिन्न क्षेत्रमा सहयोग गरेको उल्लेख गर्दै साहारा बाल आधारभुत माविलाई पनि सहयोग गर्ने प्रतिबद्धता जनाए। विद्यालयका प्रधानाध्यपाक लोचना कुमारी अधिकारीले स्वागत मन्तव्य व्यक्त गरेको सो कार्यक्रममा पोखरा महानगरपालिका वडा नं ९ का बडाध्यक्ष मर्सानिले आफ्नो कार्यछेत्र भित्र आफुले चाहेको जस्तै लाईब्रेरी बनेकोमा सहयोगदातालाई धन्यवाद दियका थिए। पुस्तकालय ३ लाख रुपैयाँ लागतमा निर्माण गरिएको हो। उक्त आर्थिक सहयोग संकलन गर्न सहारा यूकेका उपाध्यक्ष शारदा गुरुङले संयोजन गरेका थिए। जसमा साहारा युकेका पदाधिकारी,कार्यसमिति सदस्य लगायत ४६ जनाले सहयोग गरी बनाईएको पुस्तकालयमा कम्प्युटरसाइज्ड प्रविधिसमेत जडान गरिएको छ। कार्यक्रममा साहारा पोखराका अध्यक्ष केशव राज बराल,मुधीं यूकेका अध्यक्ष जुमकाजी गुरुङ,निवर्तमान अध्यक्ष हरि गुरुङ,एनआरएनए युके एवम तमुधि युके पूर्वअध्यक्ष हितकाजी गुरुङ,संस्थापक अध्यक्ष मिनप्रसाद गुरुङ,एनआरएनए पूर्वअध्यक्ष सूर्य गुरुङ,वर्तमान उपाध्यक्ष परशु गुरुङ, सहारा यूकेका उपाध्यक्ष शारदा गुरुङ,महासचिव क्या पिताम्बर गुरुङ,कोल्मा बहाकोट समाज यूकेका अध्यक्ष चन्द्र गुरुङ,सार्दिखोला समाज यूकेका अध्यक्ष अमृत गुरुङ,बगर भाइ खलक यूकेका निवर्तमान अध्यक्ष दिलरास गुरुङ,पोखरा ९ का वडाध्यक्ष दिपेन्द्र मर्सानी,गोर्खा मिडियाका प्रबन्ध निर्देशक मिलन तमु,शितलपाटी अनलाइनका सम्पादक वाचस्पति रेग्मी,तमु धीं यूके र सहारा यूकेका सल्लाहकारहरु,कार्यसमिति सदस्यहरु,विद्यालयका कर्मचारीहरु, विद्यार्थीहरु, स्थानीयबासी,सञ्चारकर्मी लगायतको उपस्थिति थियो।
शीतलपाटीन्युज डटकम। कार्डिफ,वेल्स। ८ फेब्रुवरी २०२५, शनिवारका दिन नेपाली समाज वेल्स यूकेको आठौँ महाधिबेशन भब्य रुपमा सम्पन्न भएको छ। संस्थाकी अध्यक्ष श्रीमती लक्ष्मी केसीले अध्यक्षता गर्नुभएको उक्त कार्यक्रममा सचिब श्रीमती शोभा राणा पोखरेलले उपस्थित सम्पूर्ण सदस्य महानुभाबप्रति स्वागत तथा धन्यवाद ज्ञापन गर्नु भएको थियो। संस्थाका सदस्य महानुभाबहरुको उल्लेख्य मात्रामा सहभागिता रहेको संस्थाको आठौँ महाधिबेशनमा सचिब श्रीमती पोखरेलले संस्थाले सातौँ महाधिबेशन देखि आठौँ महाधिबेशन सम्म भए गरेका कार्यक्रमहरुको प्रगति विवरणको प्रतिबेदन पेश गर्नु भएको थियो। त्यस्तै गरि संस्थाका कोषाध्यक्ष सन्जिब मैनालीले संस्थाको आर्थिक र सहकोषाध्यक्ष श्रीमती कल्पना कन्दंवाले भौतिक सम्पति बिबरण प्रतिबेदनका रुपमा प्रस्तुत गर्नु भयको थियो। भेलाले संस्थाको आर्थिक प्रतिबेदन सर्बसम्मत रुपमा पास गरेको थियो।संस्थाका विभिन्न बिभागहरुका तर्फबाट बिभागिय प्रतिबेदनहरु प्रस्तुत गरिएको थियो। नेपाली भाषा तथा पाठशाला बिभाग डा बिकाश रानाभाट,कार्यक्रम तथा खेकुद बिभाग श्रीराम थापा मगर,कला तथा संस्कृति बिभाग भोज नारायण रेग्मी समेतले आआफ्नो विभागको प्रतिबेदन भेलामा प्रस्तुत गर्नु भयो। भेलाले सम्पूर्ण प्रतिबेदन सर्ब सम्मत रुपमा पास गर्यो। बिधान संशोधन समितिका संयोजक डा अमर मल्लले नेपाली समाज वेल्स,यूकेको विधान सम्बन्धि आएका सुझाबहरु भेलामा प्रस्तुत गर्नुभयो। भेलाले मल्लद्वारा प्रस्तुत भएको सुझाबहरु उपर बृहत छलफल पछि आवश्यक कार्य गर्ने गरि महाधिबेशनले पास गर्यो। अध्यक्ष श्रीमती लक्ष्मी केसीले गत २ बर्षमा भए गरेका कार्यक्रमहरुको हाईलाइट प्रस्तुत गर्दै यस अबधिमा संस्थाको कार्यक्रमहरु सफल पार्न सहयोग पुर्याउनु हुने सम्पूर्ण महानुभाबहरु प्रति हार्दिक आभारका साथ धन्यवाद व्यक्त गर्नु भएको थियो। संस्थाले हालसम्म गरेको प्रगतिमा खुशी ब्यक्त गर्दै आगामी कार्यसमितिले संस्थाको गौरब अझै उचो बनाउने आशा र भरोसा व्यक्त गर्दै आफ्नो कार्यसमिति बिघटन भएको घोषणाका साथ संस्थाको संशोधित "बिधान २००९", निर्वाचन समितिको नियमावली र सुचना अन्तर्गत रहेर नयाँ कार्यसमिति चयन गर्नका लागि निर्वाचन समितिलाई अनुरोध गर्नुभयो। संस्थाका सल्लाहकार एवं पुर्ब अध्यक्ष राम चन्द्र पोखरेल प्रमुख रहनु भएको निर्वाचन समितिमा सदस्य द्वय प.डा. थानेश्वर पाण्डेय र चक्र बहादुर गुरुङले संस्थाका पंजीकृत सदस्य महानुभाबहरु मध्येबाट ११ सदस्यीय नयाँ कार्य समिति निर्बिरोध रुपमा छनौट भएको जानकारी गराउनु भयो। नव निर्वाचित कार्यसमितिमा पदम पुन अध्यक्ष,श्रीमति शोभा राणा
शीतलपाटीन्युज डटकम। काठमाडौँ। दिल्ली विधानसभा चुनावको मतगणनामा आम आदमी पार्टीका सबैभन्दा ठुला नेता अरविन्द केजरीवालले अग्रता बनाएका छन्। निर्वाचन आयोगका अनुसार प्रारम्भिक मतगणनामा केजरीवालले नयाँ दिल्ली सिटमा अग्रता बताएका हुन्। यस सिटमा उनी भाजपाका प्रवेश वर्मा र कांग्रेसका सन्दीप दीक्षितसँग प्रतिस्पर्धा गर्दैछन्। यद्यपि, यी सबै प्रारम्भिक नजिता हुन् र धेरै चरणको मतगणना अझै बाँकी छ। बाबरपुर सिटबाट आप नेता गोपाल राय अगाडि छन्। यहाँ उनी भाजपाका अनिल कुमार वशिष्ठ विरुद्ध चुनाव लड्दैछन्। अर्कोतर्फ, ग्रेटर कैलाश सिटबाट सौरभ भारद्वाज अगाडि छन्। यस सिटमा भाजपाकी शिखा रोय पछाडि छिन्। आम आदमी पार्टीका उम्मेदवार तथा पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि दिल्लीको जंगपुराबाट अगाडि छन्। जंगपुरा सिटबाट भाजपाका तरविन्दर सिंह मारवाह र कांग्रेसका फरहाद सुरी पछाडि छन्। मनीष सिसोदियाले यसअघि लड्दै आएको पटपडगंज सिट छोडेका हुन् । त्यहाँ आपले अवध ओझालाई टिकट दिएको थियो। पटपडगंजबाट भाजपाका रवीन्द्र सिंह नेगी अगाडि छन्। दिल्ली विधानसभा चुनावपछि आएका अधिकांश एक्जिट पोलहरूमा भाजपाले अग्रता लिने अनुमान गरिएको छ।सुरुवाती रुझानमा पनि भाजपा अगाडि छ। (रातोपाटीबाट साभार)
शीतलपाटीन्युज डटकम। काठमाडौं । नेपाल प्रहरीका ७५ प्रहरी निरीक्षक (इन्स्पेक्टर) प्रहरी नायब उपरीक्षक (डीएसपी) मा बढुवाको लागि सिफारिस भएका छन् । शुक्रबार बसेको बढुवा समितिको बैठकले जनपद प्रहरी समूहतर्फका ७५ इन्स्पेक्टरलाई डीएसपीमा बढुवाको लागि सिफारिस गरेको हो। बढुवा नामावली-
शीतलपाटीन्युज डटकम। पोखरा। पोखरा भ्रमण वर्ष २०२५ को औपचारिक घोषणा समारोह आगामी फाल्गुन पहिलो साता हुने भएको छ। पर्यटन राजधानी पोखरामा करिब २० लाख स्वदेशी तथा विदेशी पर्यटकहरू भित्राउने लक्ष्यका साथ शुभारम्भ गर्न लागिएको पोखरा भ्रमण वर्षको औपचारिक घोषणा समारोह फाल्गुन ३ गते शनिवार पोखरा प्रदर्शनी केन्द्र नयाँबजारमा गर्न लागिएको हो। घोषणा समारोहको तयारीका लागि नगर प्रमुख आचार्यको संयोजकत्वमा १ हजार ५० सदस्यीय मुलआयोजक समिति,आचार्य कै नेतृत्वमा एक निर्देशक समिति र पर्यटन क्षेत्रको प्रतिनिधित्वमा कार्यसम्पादन समिति सहित ४३ वटा उपसमितिहरू गठन गरिएका छन्। यी समिति तथा उपसमितिहरूमा पोखरा महानगर क्षेत्रमा क्रियाशील सरकारी र गैरसरकारी सङ्घसंस्थाका प्रतिनिधिहरू, चार वटै सुरक्षा निकाय,उद्योगी व्यवसायी,सूचना तथा सञ्चार क्षेत्र,राजनीतिक दलका प्रतिनिधिहरू,स्थानीय टोल विकास संस्थाहरू, अधिकारकर्मी तथा नागरिक समाजका प्रतिनिधिहरू लगायतको प्रतिनिधित्व रहेको छ। भ्रमण वर्षका अवसरमा विदेशमा पोखराको प्रवर्द्धन गर्ने गरी सद्भावना दूतहरू समेत घोषणा गर्ने तयारी गरिएको छ। वर्ष भरी पोखराको पर्यटन प्रवर्द्धनात्मक गतिविधिहरू सञ्चालन गरिने छन्। पोखरा महानगरपालिका र गण्डकी प्रदेश सरकारको संयुक्त पहलमा महानगरका ३३ वटै वडाहरूबाट स्थानीय भेषभुषा सहित वृहद झाँकी र्याली निकालिने छ। पोखरा भ्रमण वर्षको औपचारिक घोषणा नेपाल सरकारका उपप्रधान तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलले गर्नुहुनेछ। (पोखरा महानगरपालिकाको फेसबुक पेजबाट साभार।
नवराज मैनाली, काठमाडौ। करिब २० वर्ष लामो प्रतीक्षा र प्रयासपछि अन्ततः नेपाल प्रहरीले आफ्नै स्टाफ कलेज स्थापना गरेको छ । उच्च तहका अधिकृतहरूको पदोन्नति र नेतृत्व विकास प्रणाली व्यवस्थित एवं प्रभावकारी बनाउन कलेजको महत्वपूर्ण भूमिका रहने प्रहरी संगठनभित्र विश्वास छ। प्रहरी नेतृत्वका अनुसार अब उच्च पदमा बढुवा हुन कलेजको कोर्स अनिवार्य हुनेछ,जसले बढुवा पारदर्शी र अनुमानयोग्य बनाउनेछ। “फागुनको अन्तिम हप्ता तथा चैतको पहिलो हप्ता प्रवेश परीक्षा सञ्चालन गर्ने र चैतदेखि नै कोर्स सुरु गर्ने तयारी” पुलिस लिडरसिप एन्ड स्टाफ कलेजले मंगलबार स्टाफ कोर्सका लागि १४४ प्रहरी अधिकृतको प्रारम्भिक सूची बनाएर एक साताभित्र प्रवेश परीक्षाका लागि आवेदन माग गरेको छ । उनीहरूमध्ये ३५ जनाले एक वर्षमा ‘पुलिस लिडरसिप एन्ड स्टाफ कलेज (एमपिएस)’ कोर्स गर्न पाउनेछन्। यस्तो कोर्स नगर्ने एसपी र एसएसपीलाई बढुवाको दोस्रो सूचीमा राखिने र त्यसभन्दा माथि बढुवा नहुने मन्त्रिपरिषद्मा रहेको प्रहरी ऐनको विधेयकमा उल्लेख छ। कोर्स लिएका अधिकारीहरूलाई प्रहरी सेवामा गुणात्मक सुधार गर्न, रणनीतिक सोचको विकास लिन र निर्णय क्षमतामा वृद्धि गर्न सहयोग पुग्ने बताइन्छ । ०७० सालको चैतमा भर्ना भएका प्रहरी निरीक्षक आधारभूत तालिमको १५८ तथा पिजी सातौँ ब्याचबाट स्टाफ कलेज लागू गर्ने निर्णय प्रहरीले गरेको छ। यो ब्याचका ६५ जना डिएसपी भइसकेका छन् भने ७९ जना इन्स्पेक्टर छन्। गत ११ पुसमा बसेको पुलिस लिडरसिप एन्ड स्टाफ कलेजको व्यवस्थापन समितिको बैठकले पुलिस लिडरसिप एन्ड स्टाफ कोर्स कार्यप्रणाली–२०८१ र पुलिस लिडरसिप एन्ड स्टाफ कोर्स प्रवेश परीक्षा कार्यादेश–२०८१ स्वीकृत गरेको थियो । त्यससँगै यसको कार्यान्वयन अघि बढेको हो । यही वर्ष फागुनको अन्तिम हप्ता तथा चैतको पहिलो हप्ता प्रवेश परीक्षा सञ्चालन गर्ने र चैतदेखि कोर्स सुरु गर्ने प्रहरी तयारी छ। २० वर्ष अघिदेखि नै प्रहरीमा यस्तो स्टाफ कलेज लागू गर्न छलफल हुँदै आएको थियो । हालका प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले आफ्नो कार्यकालमा जसरी पनि यसलाई लागू गर्ने बताउँदै एक वर्षदेखि गृहकार्यमा लागेका थिए। स्टाफ कलेजको कोर्स कार्यान्वयनमा गएकोमा उनी खुसी छन्। यसले प्रहरीको नेतृत्व तहमा पुग्ने प्रहरी अधिकृतहरूको क्षमता र दक्षता अभिवृद्धि गर्दै प्रहरीको विद्यमान बढुवा प्रणालीलाई
शीतलपाटीन्युज डटकम। पोखरा। कान्तिपुर डेन्टल अस्पताल तथा कान्तिपुर इन्स्टिच्युट अफ हेल्थ साईन्सेज पोखराको २५ औँ बार्षिकोत्सव सम्पन्न भएको छ। स्थापनाको २५ वर्ष पुगेको अवसरमा अस्पतालको रजत जयन्ती समेत मनाईएको छ। कान्तिपुर डेन्टल कलेज टिचिङ हस्पिटल काठमाडौँकै भगिनी संस्थाको रुपमा पोखरामा स्थापित कान्तिपुर डेन्टल अस्पताल २०५६ माघ २१ देखि सेवारम्भ गरेको थियो। त्यसको छ वर्ष पछि दन्त स्वास्थ्य जनशक्ति उत्पादन गर्न भन्दै कान्तिपुर इन्स्टिच्युट अफ हेल्थ साईन्सेज सञ्चालनमा आएको हो। ‘अढाई दशक वितेको पत्तै भएन,हामीले यसबीचमा अस्पतालबाट तीन लाख बढीलाई दन्त सेवा दिन सफल भयौँ,समुदाय तथा विद्यालयमा शिविरमार्फत उपलव्ध गराएको सेवाको गणना गर्दा त्यो भन्दा कयौँ गुणा बढी हुन्छ। जे होस् हाम्रो संस्था गण्डकी प्रदेशको प्रतिष्ठित संस्था बनेको छ,’ अस्पतालका अध्यक्ष डा बुद्धिमान श्रेष्ठले भने। गण्डकी प्रदेशवासीको मुख तथा दन्त स्वास्थ्यमा कान्तिपुर डेन्टलको योगदान उच्च : स्वास्थ्य मन्त्री पाठक सोमबार कान्तिपुर डेन्टल अस्पतालको रजत जयन्तीको उद्घाटन गर्न पुगेका गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री कृष्ण प्रसाद पाठकले प्रदेशवासीको मुख तथा दन्त स्वास्थ्य क्षेत्रमा कान्तिपुर डेन्टलको योगदान उच्च रहेको बताए। ‘यो हाम्रो प्रदेशकै प्रतिष्ठित संस्था हो,यसले प्रत्यक्ष रुपमा यस क्षेत्रका हजारौँ लाखौँ नागरिकलाई मुख तथा दन्त स्वास्थ्य सेवा दिएको छ। हामी रजत जयन्तीमा म आफै प्रमुख अतिथि बनेर सहभागी हुन पाउँदा खुशी लागेको छ,’ मन्त्री पाठकले भने। उनले प्रदेश सरकार पनि एघार वटै जिल्लामा मुख तथा दन्त स्वास्थ्य कार्यक्रम विस्तार गर्न लागिरहेको भन्दै कतिपय अवस्थामा कान्तिपुरसंग सहकार्य गरेर अघि बढ्न सकिने समेत बताए। उनले त्यहाँ अध्ययनरत विद्यार्थीहरुलाई आफूले सिकेको शिप र ज्ञान स्वदेशमै प्रयोग गर्न आग्रह समेत गरे। कार्यक्रममा सांसद सुनिता थापाले दोभाषेको प्रयोग गर्दै २५ वर्ष सेवा दिएकोमा कान्तिपुरको प्रसंशा गरिन्। उनले अस्पतालहरु अपांगता भएका व्यक्तिमैत्री हुनुपर्ने भन्दै त्यसो नहुँदा धेरै अपांगता भएका व्यक्तिहरुले सेवा लिन गाह्रो भएको बताईन्। उनले कान्तिपुरलाई पनि सो कुरामा ध्यान दिन आग्रह गरिन्। पोखरा विश्वविद्यालयका डीन प्राडा अमर नागिलाले आफ्नो विश्वविद्यालयले व्याचरल अफ डेन्टल हाइजिन कार्यक्रम कान्तिपुर डेन्टलसंग मिलेर गर्न इच्छुक रहेको बताए। कान्तिपुरलाई पोखरामा स्थपित गर्न विशेष भूमिका खेलेका रोटरियन उर्दिप श्रेष्ठले विगत सम्झँदै त्यसबेला देखिको अविछिन्न
शीतलपाटीन्युज डटकम। काठमाडौं। नेपाल प्रहरीले अबदेखि जिल्ला प्रहरी परिसर काठमाडौंमा दुई जना प्रहरी उपरीक्षक (एसपी) रहने व्यवस्था गरेको छ। यसअघि एक जना मात्र एसपी रहने प्रथालाई परिवर्तन गर्दै प्रहरी प्रधान कार्यालयले सोमबारदेखि एसपी कुलदिप चन्दलाई नयाँ एसपीका रूपमा पदस्थापन गरेको हो। चन्दको नियुक्तिपूर्व परिसरमा एसपी अपीलराज बोहरा मात्र कार्यरत थिए। प्रहरी प्रवक्ता दिनेश कुमार आचार्यका अनुसार, काठमाडौं परिसरमा कामको अत्यधिक चाप हुने भएकाले दुई जना एसपी रहने व्यवस्था गरिएको हो। प्रहरी प्रधान कार्यालयले एसपी चन्दलाई अब्बल र उत्कृष्ट अधिकृतका रूपमा पहिचान गर्दै काठमाडौं प्रहरी परिसरमा खटाएको जनाएको छ। यसअघि नै परिसरमा दुई जना एसपी राख्ने प्रस्ताव थियो तर कार्यान्वयन हुन सकेको थिएन। २०७८ कार्तिकमा तत्कालीन एसएसपी चक्रबहादुर सिंह नेतृत्वको समितिले काठमाडौं परिसरमा सामाजिक, आर्थिक तथा जघन्य अपराध हेर्ने गरी तीन जना डीएसपी र मुद्दा फाँटको समग्र कमान्ड गर्न एक जना एसपी खटाउन सिफारिस गरेको थियो। उक्त एसपीलाई काठमाडौंका १४ वटा वृत्तका डीएसपीहरू इन्चार्ज रहने गरी मुद्दा अनुगमन गर्ने जिम्मेवारी दिनुपर्ने सुझाव समितिले दिएको थियो। पेशेवर अपहरणकारी समूहका सदस्य दुर्गाबहादुर बुढाथोकी प्रमाण अभावका कारण सफाइ पाएको घटनापछि अनुसन्धानमा हुने कमजोरी न्यूनीकरण गर्न दुई एसपी राख्ने निर्णय गरिएको प्रहरी प्रधान कार्यालय स्रोतले जानकारी दिएको छ। काठमाडौं प्रहरी परिसरको कमाण्ड भने वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) ले सम्हाल्ने व्यवस्था यथावत् नै रहने छ। (सुरक्षा सरोकारबाट)
शीतलपाटीन्युज डटकम। काठमाडौं। सरकारले अघि बढाएको नेपाल प्रहरीको विधेयकविरुद्ध नेपाल प्रहरीका पूर्व प्रहरी महानिरीक्षकहरु नै संगठित भएर विरोधमा उत्रिएका छन्। उनीहरुले मंगलबार संयुक्त वक्तव्य निकाल्ने भएका छन्। स्रोतका अनुसार विधेयकको विषयमा एक चरणमा छलफल भइसकेको छ । मंगलबार प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरसहित उच्च अधिकारीसँग छलफल गरेर आधिकारिक धारणा सार्वजनिक गर्न लागिएको छ।गत साता संसदमा दर्ता गरिएको विधेयकमा प्रहरीलाई गृहको शाखा जस्तो बनाउने प्रावधान राखिएको र यसले संगठनलाई कमजोर बनाउने भन्दै पूर्वप्रहरी महानिरीक्षकहरुले आपत्ति जनाइरहेका छन्। विधेयकमा प्रहरीको नियन्त्रण र परिचालन गृह मन्त्रालयले गर्ने उल्लेख छ। यो प्रावधानले गृह मन्त्रालयको अधिकृतले प्रहरीलाई चलाउने जोखिम रहेको प्रहरीको बुझाई छ ।जिल्लामा पनि सिडिओलाई शक्तिशाली बनाउने प्रावधान विधेयकमा छ। बहालवाला प्रहरी पनि विधेयकप्रति रुष्ट छन्। तर, बोल्न नमिल्ने भएकाले उनीहरु चुप छन्। जस कारण पूर्वप्रहरी महानिरीक्षक तथा पूर्वप्रहरी संगठनले त्यसको विरोध गर्न लागेका छन्। त्यस्तै, विधेयकमा सशस्त्र प्रहरीलाई प्रहरीको अनुसन्धानको अधिकार दिन लागिएको भनेर समेत आलोचना सुरु भएको छ।जस कारण विधेयक विवादमा परेको छ। विवादमा परेसँगै तत्काल यो पारित हुने सम्भावना देखिएको छैन।विधेयकमा ३० वर्षे सेवाहद हटाउनेदेखि तल्लो तहका प्रहरीलाई १६ वर्षमै पेन्सन दिने प्रावधान समावेश छन्। कतिपय राम्रा विषय भएपनि केही विवादास्पद प्रावधान समावेश गरिएपछि विधेयकप्रति प्रहरीभित्र चर्को असन्तुष्टि देखिएको छ। (जनप्रहारबाट )
शीतलपाटीन्युज डटकम। काठमाण्डौं। प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरको उपस्थितिमा नेपाल प्रहरी कार्ययोजना, २०८० तथा चालु आर्थिक वर्ष २०८१/०८२ को कार्यसम्पादन सम्झौताको अर्ध वार्षिक कार्य प्रगति समीक्षा कार्यक्रम मंगलबार नेपाल प्रहरी प्रधान कार्यालयमा सम्पन्न भएको छ। सो अवसरमा प्रहरी महानिरीक्षक कुँवरले नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागबाट प्रकाशित ‘ हिरासत व्यवस्थापन मार्गदर्शन’ पुस्तकको विमोचन समेत गर्नुभयो। कार्यक्रममा प्रहरी महानिरीक्षक कुँवरले नेपाल प्रहरीको आन्तरिक सुदृढिकरणलाई प्रमुख आधार विन्दु मान्दै तयार गरिएको नेपाल प्रहरी कार्ययोजनामा आधारित रहेर चालु आर्थिक वर्षमा गरिएको कार्यसम्पादन सम्झौता कार्यान्वयनको हालसम्मको अवस्था सन्तोषजनक रहेको बताउनुभयो । वार्षिक लक्ष्य हासिल गर्न आगामी महिनाहरूमा बाँकी सम्पूर्ण क्रियाकलापको कार्यान्वयनमा थप तीव्रता दिन आवश्यक रहेको उहाँले उल्लेख गर्नुभयो। (सुरक्षा सरोकार बाट)
शीतलपाटीन्युज डटकम। लन्डन।गैरआवासीय नेपाली संघ (एनआरएनए) इंग्ल्यान्ड राज्य समन्वय परिषदले हालै कार्यभार सम्हाल्न बेलायत आएका महामहिम राजदूत चन्द्र कुमार घिमिरेलाई स्वागत गरेको छ। बुधबार परिषदका अध्यक्ष शम्भुप्रसाद अर्यालको नेतृत्वमा लन्डनस्थित दूतावास पुगेर राजदूत घिमिरेलाई स्वागत गरेकोको हो। सो अवसरमा राजदूत घिमिरेसंग बेलायतवासी नेपाली समुदायका चासो र सरोकार रहने विभिन्न विषयमा अन्तरक्रिया समेत गरिएको परिषद अध्यक्ष शम्भुप्रसाद अर्यालले शीतलपाटीन्युज डटकमलाई समाचारको जानकारी दिनु भएको हो। परिषदका अध्यक्ष अर्यालले बेलायतमा अध्ययनरत नेपाली विद्यार्थीका समस्या,समान पेन्सनका भूतपूर्व गोर्खा मुद्धा, नेपाल र बेलायतबीचको व्यापार सम्बन्ध बिस्तार, बेलायतमा नेपाली कला र साहित्यको प्रवर्द्धनजस्ता विषयहरुमा पनि राजदूतसंग छलफल गरेको कुरा जनाउनु भयको छ। त्यस अवसरमा महामहिम राजदूत घिमिरेले बेलायतस्थित नेपाली समुदाय सम्बन्धी सरोकारका विषयहरुबारे जानकारी गराएकोमा परिषद अध्यक्ष अर्याललाई धन्यवाद दिदै नेपाली राजदूतावासबाट आवश्यक समन्वय र सहयोगका लागि महामहिम राजदुत घिमीरेले प्रतिवद्धता व्यक्त गर्नु भयो। सो स्वागतका अवसरमा बेलायतस्थित विभिन्न संघसंस्थाका प्रतिनिधिहरु नयाँ राजदूतको स्वागतका लागि नेपाली राजदूतावास पुगेका थिए। मिडल्यान्डको कोभेन्ट्रीवासी सामाजिक अभियन्ता गोविन्द सापकोटा,बेक्सली नेपाली समाजका पूर्व अध्यक्ष आनन्द धरेल,शान्ति नेपाली समाज बेलायतका अध्यक्ष रामप्रसाद न्यौपाने,नटिङहम नेपाली समाजका महासचिव रेशम खड्का,मीना न्यौपाने लगायतको सहभागिता थियो। नेपाली राजदुताबास लण्डनमा एनआरएनए इंग्ल्यान्ड राज्य परिषद सचिव अञ्जु कुंवरले सञ्चालन गरेको कार्यक्रममा दूतावासका प्रथम सचिव उद्धव न्यौपाने पनि उपस्थित रहेको थियो।
शीतलपाटीन्युज डटकम। काठमाण्डौ। प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले प्राप्त जिम्मेवारी उत्कृष्ट रूपमा पूरा गर्न प्रहरी कर्मचारीहरू थप सिर्जनशील र उत्प्रेरित हुनुपर्ने बताउनुभएको छ। हालै सरूवा तथा पदस्थापन भई आ-आफ्नो कार्यक्षेत्रमा खटि जान लाग्नु भएका प्रहरी वरिष्ठ उपरीक्षकहरू र प्रहरी उपरीक्षकहरूलाई सोमबार नेपाल प्रहरी प्रधान कार्यालयमा निर्देशन सम्बोधनको क्रममा उत्कृष्ट कार्य सफलताको शुभकामना दिँदै प्रहरी महानिरीक्षक कुँवरले उक्त कुरा बताउनुभएको हो। प्रहरी महानिरीक्षक कुँवरले संगठनको कार्ययोजना एवम् लक्ष्यलाई प्राथमिकतामा राखेर संगठनको नीति निर्देशनलाई प्रभावकारी कार्यान्वयन गर्दै सांगठनिक लक्ष्य हासिल गर्न सम्पूर्ण प्रहरी कर्मचारीहरू सक्रिय भई कार्यसम्पादन गर्न निर्देशन दिनुभयो। व्यक्तिगत स्वार्थ भन्दा सांगठनिक स्वार्थलाई केन्द्रबिन्दुमा राखेर संगठनलाई थप बलियो र सुदृढ बनाउन चेन अफ कमाण्डभित्र रहेर सामूहिक प्रयासमा केन्द्रीत हुनुपर्ने उहाँले बताउनुभयो। प्रहरी महानिरीक्षक कुँवरले संगठनको नीति र आवश्यकता अनुरूप नै सरूवा भएको उल्लेख गर्दै नयाँ जिम्मेवारीलाई नविन ढंगले सम्पादन गरी आफूलाई रोल मोडलको रूपमा प्रस्तुत गर्न उपस्थित प्रहरी अधिकृतहरूलाई निर्देशन दिनुभयो । आ-आफ्नो जिम्मेवार क्षेत्रहरूमा सुरक्षा व्यवस्थापनको निम्ति आवश्यक सुरक्षा योजना निर्माणका साथै सरोकारवाला सबै पक्षहरूसँग समन्वय र सहकार्य गरी कार्यसम्पादन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो। (सुरक्षा सरोकारबाट साभार)
शीतलपाटीन्युज डटकम। लन्डन- पासा पुचः गुथि यूकेको साउथ इष्ट लन्डन शाखा नयाँ नेतृत्व चयनको तयारीमा जुट्दै आउँदो फेब्रुअरी १६ तारिख प्लमस्टिड गोर्खा क्याप्रिकनमा अधिवेशनम तय भयको शाखाले जनाएको छ। नयाँ कार्यसमितिको दुई वर्षे कार्यकालका लागि निर्वाचित हुने कार्यसमिति २१ सदस्यीय रहनेछ।शाखामा एक अध्यक्ष,तीन उपाध्यक्ष, एक महासचिव, कोषाध्यक्ष, सांस्कृतिक सचिव, स्वास्थ्य संयोजक, आइटी संयोजक, मिडिया संयोजक, सचिव, सहकोषाध्यक्ष, सहसचिव, र कार्यक्रम सहसंयोजकसहित ७ जना कार्यसमिति सदस्य चुनिनेछन् । नयाँ कार्यसमिति निर्वाचनका लागि निर्वाचन समितिले तालिका समेत प्रकाशित गरेर प्रक्रिया सुरु गरेको छ । समितिका सदस्यसचिव सचिन श्रेष्ठका अनुसार निर्वाचनमा उम्मेदवार बन्न वा मत दिन आउँदो फेब्रुअरी ५ तारिखसम्म सदस्यता लिइसक्नुपर्नेछ । शाखाको आजीवन सदस्यतालाई १ सय पाउण्ड, २ वर्षको लागि सिंगो परिवारकै सदस्यता लिन ४० पाउण्ड र २ वर्षलाई एकजनाको सदस्यता लिन २० पाउन्ड शुल्क लाग्नेछ । तर विद्यार्थीहरुलाई २ वर्षे सदस्यता शुल्क मात्र १० पाउण्ड राखिएको छ । नयाँ कार्यसमितिका लागि उम्मेदवारी दिन फेब्रुअरी ६ देखि १० तारिखसम्मको समयसीमा छ। फेब्रुअरी ११ देखि १२ तारिखसम्म उम्मेदवारीमा दावीविरोध तथा फेब्रुअरी १ देखि १४ सम्म उम्मेदवारी फिर्ता लिने समय दिइएको छ भने उम्मेदवारको अन्तिम नामावली प्रकाशन फेब्रुअरी १५ मा गरिनेछ । नयाँ कार्यसमितिको अध्यक्ष,उपाध्यक्ष तथा महासचिव पदमा उम्मेदवारी दिन यसअघि कम्तीमा एक कार्यकाल कार्यसमितिमा रहेर काम गरेको अनुभव हुनुपर्ने बताइएको छ। अध्यक्षका लागि उपाध्यक्ष,महासचिव, कोषाध्यक्ष,सांस्कृतिक सचिवजस्ता जिम्मेवारी सम्हाल्नेहरुलाई ग्राह्यता दिइनेछ। संस्थाका पूर्व अध्यक्ष चुत्रबहादुर श्रेष्ठको नेतृत्वमा रहेको निर्वाचन समितिाम सचिन श्रेष्ठ सदस्यसचिव र दीपक श्रेष्ठ सदस्य छन्। शाखाका वर्तमान अध्यक्ष माधवलाल श्रेष्ठले निर्वाचन समितिले प्रकाशन गरेको कार्यतालिकाअनुसार सदस्यता तथा निर्वाचनका कार्यक्रममा सहभागी हुन सबै सदस्यहरुलाई आव्हान गरेका छन्। सदस्यता फारम र उम्मेदवारी फारम प्रिन्ट गर्ने लिंक तल छ । निर्वाचन समितिको सुचना-
शीतलपाटीन्युज डटकम। लण्डन। ल्वाङ होमस्टेको निमन्त्रणमा तमु धी युके र सहारा युके १३ फेब्रुअरीमा पर्यटकीय गाउँ ल्वाङ जाने निश्चित भइसकेको छ। ल्वाङमा पुगेर ल्वाङ गाउ बाट नजिकै देखिने माछापुछ्रे,अन्नपुर्ण हिमाल नियाल्दै अन्नपुर्ण चिया बारी,बुद्ध पार्क, क्षेताक्यु बराह मन्दिर,गुफा,श्री बाराही आधारभूत निम्न माध्यमिक बिद्ध्यालय आदिको भ्रमण गर्ने छन्। १४ फेब्रुअरी बिहान ९ बजे सहारा युके द्वारा सहयोग LWANG VILLAGE बोर्ड को उद्दघाटन गर्ने छ। यस भ्रमणको नेतृत्व तमुधि युकेको मिडिया सेक्रेटरी एस. के. गुरुङले गर्ने छ। तमु धीं यूकेका नवनिर्वाचित अध्यक्ष जुमकाजी गुरुङको नेतृत्वमा यही ३१ जनवरीमा नेपाल प्रस्थान गर्न लागेको हो। टोलीले नेपालका पर्यटकीय स्थल भ्रमण तथा विभिन्न संस्थाका पदाधिकारी, बुद्धिजीवी र इस्टमित्रसँग भेटघाट गर्नेछ। प्रारम्भिक जानकारी अनुसार ३१ जनवरीमा नेपाल प्रस्थान गर्ने,१ फेब्रुअरीमा काठमाडौंमा डा जगमान गुरुङसँग भेटघाट गर्नेछ । २ फेब्रुअरी बिहान पोखरा प्रस्थान गर्ने,३ मा बौद्ध अर्घौं सदन र बगर भाइ खलक फुटबल फाइनलमा सहभागी हुनेछ । फेब्रअरी ४ मा आहा रारा पोखरा गोल्डकपको उद्घाटन समारोहमा सहभागी र ताङ्ले समाजका पदाधिकारीसँग भेटघाट हुने छ। ५ फेब्रुअरीमा सिक्लेस जाने, ६ मा चित्रे,८ मा राम्जा आर्थर,९ मा खाल्टे र १० फेब्रुअरीमा पर्वतमा आँखा शिविर प्रारम्भ गरेर पुन:पोखरा फर्किनेछ । यस्तै ११ फेब्रुअरीमा तमु सांस्कृतिक प्रतिष्ठान नेपालको कार्यक्रममा सहभागी हुने,१२ फेब्रुअरीमा नौलो घुम्ती,सहारा एकेडेमी,तमु धीं यूकेलाई सम्मानका लागि आयोजना गर्ने सम्मान कार्यक्रममा सहभागी हुने छ। सोही दिन तमु धीं आमा समूह भने स्याङ्जातर्फ जाने छ। यस्तै र १५ फेब्रुअरीमा पोखरा फिर्ता भएर तमु धीं नेपालसँग भेटघाट गर्नेछ। १५ फेब्रुअरीमा पोखरा म्याराथन, च्यार भन्ज्याङ तमु समाज च्यारिटी डिनर र आहा रारा पोखरा गोल्डकप फाइनलमा सहभागिता जनाउने कार्यक्रम छ। यस्तै १६ फेब्रुअरीमा गल्याङ जाने,१७ मा लमजुङ भ्रमण गर्ने र १९ मा काठमाडौं पुग्ने र एकरात बसाइपछि २१ फेब्रुअरीमा बेलायत फर्किने तालिका रहेको तमु धीं यूकेको मिडिया सेक्रेटरी एस.के. गुरुङ ले जनाउनु भएको छ। अध्यक्ष जुमकाजी गुरुङले यो भ्रमण नेपालको पर्यटन प्रवर्द्धनका लागि हुने बताए।
सुरेश कोईराला। काठमाण्डौ। धादिड्गमा सुविधा सम्पन्न ट्रिपल क्राउन रिसोर्ट सञ्चालनमा आएको छ। स्थानीय युवा केशव अधिकारी,दिपक अधिकारी र रमेश अधिकारीको संयुक्त लगानीमा सञ्चालित रिसोर्टलाई जिल्लामा अहिलेसम्मकै सुविधासम्पन्न रिसोर्टको रुपमा लिइएको छ। उक्त रिसोर्टमा विवाह, व्रतबन्ध,सेमिनार,गोष्ठी लगायतका कार्यक्रम र पर्यटकहरुका लागि विशेष सेवासुविधाहरु रहेका सञ्चालक टिमले बताएका छन्। एकै दिनमा पाँच सय जना पाहुनालाई खाना खुवाउन सकिने रिसोर्टका प्रबन्धक निर्देशक दिपक अधिकारी बताउँछन्। ८ रोपनी क्षेत्रफलमा फैलिएको रिसोर्टमा करिव १५ करोड लगानी लागेको बताइएको छ। रिसोर्टमा पर्यटकहरुलाई उच्चस्तरका सेवा सुविधाहरु उपलब्ध गराउने अधिकारीको भनाइ छ। एकरातमा करिब ५० जना बास बस्न सक्ने यस रिसोर्टमा सबै कोठामा बातानुकुलित एसी जडान गरिएको छ। रिसोर्ट परीसरमै SWEET, STANDARD DELUX & DELUX गरि १५ वटा कोठाहरु छन् । रिसोर्टमा पर्यटकको सुविधाका लागि COFERENCE HALL- 2, SWIMMING POOL-2 (ADULT/CHILD), COFFEE SHOP, BAR र बच्चाहरुका लागि मनोरञ्जनयुक्त स्थान तथा बगैँचाको सुविधा रहेको छ। त्यस्तैगरी करिव २०० जना क्षमता रहेको रेष्टुरेन्ट र ठूलो तथा सानो गरि करिब ४५० जनालाई एक पटकमा कार्यक्रम सञ्चालन गर्नको लागि Conference Hall को व्यवस्था छ। रिसोर्ट परिसरमा सानाठूला गरी करिव १०० वटा सवारी साधन राख्न मिल्ने पार्किङको व्यबस्था छ। रिसोर्टमा करिव ३० जनाले रोजगारी पाएका कुरा मेनजर निशा शर्मा बताउन भयो।
सुरेश कोइराला, बुटबल।लुम्बिनी प्रदेश प्रहरीले पुस महिनामा मात्र ४ करोड ७७ लाख ९२ हजार ९ सय ५५ रुपियाँ जरिवाना संकलन गरेको छ। लुम्बिनी प्रदेश प्रहरी प्रमुख, प्रहरी नायव महानिरीक्षक (डीआईजी) दानबहादुर कार्कीले बुधबार आयोजित पत्रकार सम्मेलनमा पुस महिनामा लुम्बिनी प्रदेशका १२ जिल्लाबाट ४ करोडभन्दा बढी रकम जरिवाना संकलन भएको जानकारी दिएका छन्। डीआईजी कार्कीका अनुसार, लुम्बिनी प्रदेशका जिल्लाहरूमा भएको बेथिति, अनियमितता र लापरबाहीलाई नियन्त्रण गर्ने क्रममा ठूलो रकम जरिवानाबाट राजश्व संकलन गर्न सफल भएका छन्। साथै साउनदेखि पुस मसान्तसम्म ८ करोड ६७ लाख ७६ हजार ९ सय ९४ रुपियाँ जरिवाना संकलन भएको उल्लेख गरे। पुस महिनामा लुम्बिनी प्रदेशका १२ जिल्लामा फैसला कार्यान्वयनका क्रममा ४ सय ८४ जना फरार व्यक्तिहरू पक्राउ परेका छन्। सबैभन्दा बढी फरार व्यक्तिहरू कपिलवस्तु जिल्लाबाट पक्राउ परेका छन्, जहाँ ११२ जना फरार प्रतिवादी पक्राउ परेका छन्। अर्घाखाँची र रोल्पा जिल्लामा भने सबैभन्दा कम फरार प्रतिवादी पक्राउ परेका छन्। साउनदेखि पुस महिनासम्म कुल १ हजार ५ सय १९ जना फरार व्यक्तिहरू पक्राउ परेका छन्। पुस महिनामा पक्राउ परेका प्रतिवादीमध्ये जबरजस्ती करणीमा १६, चेक अनादरमा ५०,बालविवाहमा ७,सवारी ज्यान सम्बन्धी मुद्दामा ३९,लागुऔषध ४३, बैंकिङ कसूरमा २१,कुटपिटमा ४९,चोरी र डाँकामा ४९,कर्तव्य ज्यानमा ११ र अन्य मुद्दामा १९९ जना रहेका छन्।