Tuesday July 23, 2024

नेपालको पर्यटन प्रबर्धन र बुध्द नेपालको लुम्बिनीमा जन्मेको प्रचार गर्दै लण्डनमा बुध्दजयन्ती भब्य

२१ जेष्ठ, २०८१ शीतलपाटीन्युज डटकम। 1224


नेपालको पर्यटन प्रबर्धन र बुध्द  नेपालको लुम्बिनीमा जन्मेको प्रचार गर्दै लण्डनमा  बुध्दजयन्ती भब्य

शीतलपाटीन्युज डटकम।
लन्डन- नेपालको पर्यटन बिकास र शान्तिका प्रतिक बुध्दको जन्म नेपालमा भयको हो भन्दै प्रचार प्रसार गर्न २५६८औं बुद्धजयन्ती General Gordon Square Woolwich South East  लन्डनमा एक विशेष कार्यक्रमसहित मनाइएको छ।

बुद्ध फाउण्डेसन यूकेका अध्यक्ष दीपक श्रेष्ठको अध्यक्षतामा पर्यटकिय आयोजना जनरल गोर्डन स्क्वायरमा सम्पन्न सो कार्यक्रममा बेलायतका लागि नेपाली राजदुत ज्ञानचन्द्र आचार्य प्रमुख अतिथी रहनु भएको र झण्डै सात सय नेपालीहरुको सहभागीता रहेको थियो।

भगवान गौतम बुद्धको शान्ति सन्देश,नेपाली कला,संस्कृति एवं पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित आयोजित सो कार्यक्रममा विविध सांस्कृतिक प्रस्तुतिसंगै बुद्धको सन्देश र पर्यटन प्रवद्धर्नात्मक सामग्रीहरु प्रदर्शनी गरिएको थियो। 

नेपालबाट ल्याइएका साढे तीन फिट अग्लो बुद्ध मूर्ति र बौद्ध विश्वविद्यालयका पूर्व उपकुलपति ह्दय रत्न बज्राचार्य एवं प्राध्यापक कर्ण महर्जनले तयार पारेको बुद्धको जन्मदेखि मृत्युसम्मका विवरणयुक्त ‘क्यानभास’ प्रदर्शनीले कार्यक्रमस्थल आकर्षण थियो।हजारौं मानिसहरुको ओहोरदोहोर रहेको लन्डन वुल्लीच गोर्डन स्क्वायरको कार्यक्रमले सयौं बिदेशीहरु,सयौ नेपालीको ध्यान आकर्षण गरिरहेको थियो।ध्वजापताकाले सजाईएको समारोहस्थल आक्रषक देखिएको, बुद्धका मूर्तिहरु,बौद्ध दर्शनसम्बन्धी चित्रकलादेखि नेपालको पर्यटन प्रवर्द्धनका लागि राखिएका कयौं सामग्रीले कार्यक्रमस्थल सजिएको थियो। मौलिक नेपाली पहिरनमा सयौं नेपालीको उपस्थितिले बुध्द जयन्तीको माहोल नेपालमय बनेको थियो। 

बालबालिकालाई बुद्ध दर्शनसम्बन्धि जानकारी दिने उद्धेश्यले पुस्तक र नेपाल पोष्टर समेत प्रदर्शन गरिएको सो समारोहमा बालबालिका बिच बुद्ध र लुम्बिनी झल्काउने चित्रकला प्रतिष्पर्धा गराएर पुरस्कृत गरिएको थियो। 

कार्यक्रमको अन्त्यमा विश्व शान्तिको कामना गर्दै सबै अतिथि एवम् सहभागीहरुबाट सामूहिक दीप प्रज्ववलन गरीएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि बेलायतका लागि नेपाली राजदूत आचार्यले गौतम बुद्धको शान्ति सन्देश प्रचारप्रसारका लागि बुद्ध फाउन्डेसनले गर्दै आएका पहलको प्रशंसा गर्नु भयको थियो। महामहिम राजदुत आचार्यले विश्वसम्पदा सूचीमा समेत समावेश लुम्बिनीको पर्यटन प्रवर्द्धनमा कार्यक्रमले सघाउ पुर्‍याउने विश्वास व्यक्त गरेका थिए। कार्यक्रमका प्रस्तुतिहरुले नेपालको सामाजिक एवम् सांस्कृतिक विविधता झल्काएकोमा राजदूत आचार्यले प्रशंसा गरेका थिए।

कार्यक्रमका विशेष अतिथि स्थानीय रोयल बरो अफ ग्रीनवीचका नवनिर्वाचित मेयर काउन्सिलर जीत रानाभाटले संबोधन गर्दै कार्यक्रमले बेलायतको नेपाली समुदायलाई यहाँका अन्य समुदायसँग अन्तरघुलन गराउन र बेलायतमा नेपाली समुदायको पहिचान स्थापित गर्न सहयोग पुर्‍याएको कुरा व्यक्त गरेका थिए।समुदायभित्रको सांस्कृतिक विविधताको प्रचार आफ्नो बरोमा आयोजना हुनु खुसी ब्यक्त गर्दै यस्ता कार्यक्रमलाई प्रोत्साहन गर्न पाउनु स्थानीय बरोको प्राथमिकता रहने भन्दै  यस्ता कार्यक्रमहरुलाई सधैँ सहयोग रहने संबोधनका समयमा बताएका थिए।

कार्यक्रममा बौद्ध लामा गुरु खेम्पो कर्मा छुल्ठिमले बौद्ध दर्शनसम्बन्धि प्रवचन दिएका थिए। ११ वर्षीया बालिका आर्या श्रेष्ठले बुद्धसम्बन्धि मन्तव्य दिएकी थिइन्।

आयोजक बुद्ध फाउण्डेसन यूकेका अध्यक्ष दीपक श्रेष्ठले कार्यक्रम सफल पार्न योगदान गर्ने सबै सहभागी तथा सहयोगीलाई धन्यवाद दिएका थिए।

अध्यक्ष श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बरिष्ठ उपाध्यक्ष अर्जुन कटवालले स्वागत भाषण गरेका थिए। संयोजक एवम् उपाध्यक्ष प्रसुना कंडेलले कार्यक्रम सञ्चालन गरेकी थिइन्।

सो अवसरमा नेपालबाट आएका गायक सुरेश लामा र गायिका अनु चौधरीसंगै शर्मिला बर्देवा,दीपक थापा लगायतले गायन प्रस्तुत गरेका थिए।त्यस्तै,पासा पुच: यूकेद्वारा धिमे बाजा र लाखे नाच देखाइएको थियो। ससाना बालबालिकाले विभिन्न जातीय भेषभूषाको आकर्षक प्रदर्शनी गरेका थिए।  

बुध्द फाउण्डेसन युकेले आयोजना गर्दै आएको यो बुध्द जयन्तिमा लन्डनस्थित नेपाली राजदूतावास र नेपाल पर्यटन बोर्ड समेतको सहयोग वर्षेनी हुंदै आएको बुद्धजयन्ती कार्यक्रम यो छैठौं संस्करण थियो। यो छैठौ संस्करणमा नेपाली राजदुताबासका डिपुटी चिफ अफ मिसन रोसन खनाल,मिलीटरी एटेची कर्णेल सुदिप शाह,बिभीन्न नेपाली संस्थाका अध्यक्षज्युहरु,सामाजीक अभियन्ताहरु,बिबीसी नेपाली सेवाका पुर्व संचारकर्मीज्युहरु, साहित्यप्रेमीहरु,एफएनजे युके अध्यक्ष ध्रुवराज अर्याल लगायत एफएनजे युकेका पत्रकारहरुको बाक्लो उपस्थिती थियो। 

पशुपति मंदिर पल्मस्टेडका पंण्डित गुरु निलहरी घिमीरेद्वारा बुध्द मुर्तिमा पुजा गरेर शुरु गरीएको सो कार्यक्रममा दिदीबहिनी समुह युकेले स्वयमसेवक सेवा प्रदान गरी कार्यक्रम भब्य सम्पन्न भयको थियो।



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?