७ श्रावण, २०८१
शीतलपाटीन्युज डटकम।
लण्डन- एनआरएनए यूकेले आउंदो अगष्ट ३ तारिख लन्डन फेल्थाममा पहिलोपटक गर्न लागेको एनआरएनए महोत्सव र एनआरएनए कप फुटबल प्रतियोगिताको तयारी व्यापक भएको छ।
बेलायतमा रहेका नेपाली युवाको प्रतिभा उजागर गर्दै स्वास्थ्यका लागि खेलकुद भन्ने उद्देश्यसहित ९ ए साइड एनआरएनए कप प्रतियोगिता र सोही दिन नेपाली कला, संस्कृति,परम्परा,भेषभूषा र खानाको प्रचार प्रसार एवं संवर्धनका लागि एनआरएनए नेपाल महोत्सव गर्ने तयारी भइरहेको एनआरएनए यूके अध्यक्ष प्रेम गाहामगरले जनाए।
‘बेलायतको नेपाली डायष्पोरामा पहिलो र दोश्रो पुस्ताबीचको दुरी बढिरहंदा हामीले दुवै पुस्तालाई एकै थलोमा उतार्ने प्रयत्न गरेका छौं’,गाहामगरले भने- ‘हाम्रो कला,संस्कृति,भाषा,भेषभूषा, रहनसहन दोश्रो पुस्तामा हस्तान्तरण नगर्ने हो भने उनीहरुको मातृभूमिसंगको नाता तोडिने चिन्ता भएकाले तपाईं हामी सबै मिलेर यस्ता इभेन्टस गर्नुपर्ने दायित्व आएको छ।‘
अध्यक्ष गाहामगरले यो कार्यक्रम कसैसँग प्रतिस्पर्धा गर्न नगरिएको जनाउंदै सबैलाई आफ्नो सम्झेर सहभागी हुन अपिल पनि गरे। एनआरएनए यूकेले कार्यक्रममा सहभागी हुने विशेष अतिथीहरुलाई नौमति पञ्चे बाजा तथा ब्याक पाइपर धुनले स्वागत गर्दै खादा, ब्याच एवं मायाको चिनो प्रदान गरिने जनाएको छ।
संघले यसबारे औपचारिक जानकारी दिन २८ जुलाई दिउसो ठमेल दोहोरी रेस्टुरेन्ट, अल्डरसटमा पत्रकार सम्मेलन पनि गर्दैछ। सोही दिन सञ्चारकर्मी र टिम क्याप्टेन/म्यानेजरमाझ टिम ड्र गर्ने स्लट राखिएको छ।