Friday February 14, 2025

नेपालमा कोही पनि 'रियल कम्युनिष्ट' छैनन् : कांग्रेस नेतृ महालक्ष्मी उपाध्याय 'डिना'

१८ आश्विन, २०८१ शीतलपाटीन्युज डटकम। 1298


नेपालमा कोही पनि 'रियल कम्युनिष्ट'  छैनन् : कांग्रेस नेतृ महालक्ष्मी उपाध्याय 'डिना'

GNNNEWS-
लन्डन - नेपाली कांग्रेसकी सह-महामंत्री  महालक्ष्मी उपाध्याय 'डिना' ले नेपालमा कोही पनि 'रियल कम्युनिष्ट' नभएको बताएकी छन्।
नेपाली जनसम्पर्क समिति युकेद्वारा गत मंगलबार फेल्थमस्थित नमस्ते गोर्खा रेस्टुरेन्टमा आयोजित स्वागत तथा अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै नेतृ उपाध्यायले नेपाली कांग्रेसको नेतृत्वमा २०७२ सालमा नयाँ संविधान जारी गरिए पछि सबै कम्युनिष्ट पार्टीहरु संविधानले देखाएको बाटोमा  सहभागी भै सकेको बताइन् । उनले अहिलेको संविधानमा कुनै पनि दलले बहुमत प्राप्त गर्न नसक्ने स्थिति आएकाले संविधान संशोधन गर्ने बारे छलफल शुरु भएको बताइन्। उनले 'कर्णाली, दलित, महिला, जनजाति तथा मधेशी  (कदमजम)  लागू गरेर कांग्रेसले पहिलो पटक समानुपातिक समावेशी अवधारणा ल्याएको पनि जनाइन्।
नेपाली कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्ण प्रसाद पौडेलले कांग्रेसको बल भनेकै भ्रात्री संस्था तथा शुभेच्छु संस्थाहरु हुन् भन्दै  सबै संस्थाहरुलाई एकजुट र अनुशासित भएर काम गर्न सुझाव दिए। उनले केन्द्रका कारण जनसम्पर्क समितिहरुमा विवाद उब्जिएको होइन भन्दै सबै साथीहरु बसेर विवाद सुल्झाउन आग्रह गरे।  उनले नेपाली कांग्रेस पार्टी विधान भन्दा बाहिर नजाने बताउंदै नेपाली नागरिक बाहेक अन्य व्यक्ति कांग्रेसको क्रियाशील सदस्य बन्न नपाउने स्पष्ट पारे।  
पूर्व मंत्री तथा कांग्रेस केन्द्रीय सदस्य दिलमान पाख्रिनले संवाद, सहमति, सहकार्यको माध्यमबाट एकतामा जानु पर्ने बताए।  उनले ३० वर्ष भन्दा बढी समयदेखि भूतपूर्व गोर्खा सैनिकहरुले उठाउंदै आएको समान पेन्सनको  मुद्दालाई नेपाल सरकार आफै अग्रसर भएर समाधान गर्नु पर्ने बताए।  त्यस्तै ब्रिटिश गोर्खा नेपाल भूतपूर्व सैनिक संघका अध्यक्ष केश बहादुर गुरुङले गोर्खा समस्या कूटनीतिक ढंगले समाधान गर्नु पर्नेमा जोड दिए।  उनले एक ज्ञापनपत्र बुझाउँदै  गोर्खा भर्ती र वंशजको नेपाली नागरिकता पनि निरन्तर हुनु पर्ने माग गरे।  एनआरएनए आइसीसीका उपाध्यक्ष थर्क सेनले नेपालका सडकलाई सुरक्षित बनाउन सबै दलहरु गम्भीर हुनु पर्ने बताउंदै आफुले लेखेको पुस्तक उपहार दिए।   
 
एनआरएनए आइसीसीका पूर्व सल्लाहकार विश्व आदर्श पण्डितले नेपालमा हालै आएको बाढी पहिरो पीडितहरु लाई सक्दो सहयोग गर्न हार्दिक अपिल गरे। उनले जनसम्पर्क समितिहरुमा अहिले देखिएको विवाद संवादको माध्यमबाट विधानको परिधि भित्र रही समाधान गर्न पनि आग्रह गरे।  
 
एनआरएनए युकेका पूर्व मुख्य सल्लाहकार शेर सुनारले वंशजको आधारमा प्राप्त नागरिकता खोस्ने अधिकार कसैलाई छैन भन्दै राजनीतिक अधिकार विनाको एनआरएन नागरिकताको कुनै उपयोगिता नहुने बताए। "हामीलाई राजनीतिक अधिकार दिनोस् र हाम्रो पासपोर्टमा 'एनपी' थपि दिनोस्,"उनले भने।
एनआरएनए युकेका पूर्व महासचिव तथा बुद्धिजीवी आर के त्रिपाठीले जनसम्पर्क समिति युकेले कांग्रेसको तर्फबाट सोसलिस्ट इन्टरन्याशनलको सदस्यता शुल्क तिर्ने देखि भूकम्प र कोभिडका बेला पनि उल्लेख्य सहयोग गरेको स्मरण गरे। उनले बेङ्गलोर जस्तै काठमाडौँलाई पनि 'टेक हब' बनाउन पहल गर्नु पर्ने बताए।  
जनसम्पर्क समिति युकेका कार्यवाहक सभापति रितेश राज पाण्डेले कांग्रेस नेताहरुलाई स्वागत गर्दै केन्द्रले तोकेको अवधि भित्रै जनसम्पर्क समिति युकेको अधिवेशन गरी नयाँ नेतृत्व चयन गर्न आफुहरु क्रियाशील रहेको बताए। उनले सबै साथीहरुलाई आफ्ना विवादबारे संस्था भित्रै बसेर छलफल गरी निकास निकाल्न आग्रह पनि गरे।  उनले कार्यक्रम सफल पार्न सहयोग गर्ने सबैलाई धन्यवाद पनि दिए।

उक्त अन्तरकार्यक्रममा  समाजवादी जनता पार्टीका केन्द्रीय सदस्य तथा विदेश विभाग प्रमुख अर्जुन थापा, जनसम्पर्क समिति युकेका पूर्व अध्यक्ष बिनोद मोक्तान, बिनोद योञ्जन, नेपाल सांस्कृतिक महासंघ गण्डकी प्रदेशका संयोजक चोलेन्द्र पौडेल,तस्बिर लामा लगायतले मन्तव्य व्यक्त गरेका थिए।  

कार्यक्रमको शुरुमा नेपालबाट आएका नेताहरु,  जनसम्पर्क समिति क्यानाडाका उपाध्यक्ष डा जितु उपाध्याय तिमिल्सिना, उप राष्ट्रपतिका सल्लाहकार बिनोद पौडेल लगायतका पाहुनाहरुलाई खादा लगाएर स्वागत गरिएको थियो।  
कार्यक्रमको संचालन नेपाली जनसम्पर्क समिति युकेका महासचिव इन्द्रहांग लिङ्गदेनले गरेका थिए।



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?