१४ कार्तिक, २०८१
शीतलपाटीन्युज डटकम।
लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष डा. हेम राज शर्मा यूएईस्थित नेपाली समुदायका सदस्यहरूसंग दुवईमा सम्पन्न अन्तरक्रिया कार्यक्रममा सहभागी भएका छन्। संघको स्थापना दिवसको औपचारिक कार्यक्रम सम्पन्न गरी काठमाण्डौंबाट दुवई पुगेका डा. शर्माले गैरआवासीय नेपालीहरूको विविध समस्याहरूको समाधानमा संघले गर्ने भूमिकाबारे स्पष्ट पारे।
मंगलवार यूएईको प्रमुख व्यावसायिक शहर दुवईमा आयोजित उक्त कार्यक्रममा एनआरएनए यूएईका अध्यक्ष विकास शाही तथा संघका सचिव मनोज श्रेष्ठले डा. शर्मालाई स्वागत गर्दै सम्मान प्रकट गरे। यो अवसरमा गैरआवासीय नेपालीहरूको मुद्धा र वर्तमान अवस्थामा संघको भूमिकाबारे महत्वपूर्ण छलफल गरियो।
कार्यक्रमलाई सम्बोधन गर्दै डा. हेम राज शर्माले एनआरएनएको स्थापनादेखि हालसम्म संघले गरेका विविध कार्यहरूको चर्चा गरे। उनले विदेशमा रहेका नेपालीहरूको आर्थिक, सामाजिक र सांस्कृतिक समस्याहरूको समाधानमा संघको सक्रियता अझै बढाउने प्रतिबद्धता जनाए। “एनआरएनए हाम्रो साझा संस्था हो, र यसले विदेशमा रहेका नेपालीहरूको हक, हित र अवसरलाई प्रवर्द्धन गर्न सधैं क्रियाशील छ,” डा. शर्माले भने।
डा. शर्माले गैरआवासीय नेपालीहरूलाई आफ्नो योगदान र अनुभवको माध्यमबाट संघलाई सहयोग गर्न आह्वान गरे। उनले भविष्यमा यस्ता अन्तरक्रियाहरूलाई निरन्तरता दिनुपर्नेमा जोड दिँदै, विदेशमा रहेका नेपालीहरूको एकता र योगदानले मातृभूमिमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे।
उनले नेपाल र विदेशमा रहेका नेपाली समुदायलाई एक आपसमा जोड्न एनआरएनएले पुलको रूपमा कार्य गरेको उल्लेख गर्दै, यसलाई अझ सशक्त बनाउन सबैको सहभागिता र सहयोग आवश्यक रहेको बताए।
कार्यक्रममा सहभागी भएका एनआरएनएका अन्य पदाधिकारी र सदस्यहरूले पनि आ–आफ्ना धारणा व्यक्त गरेका थिए। आइसीसी सदस्य पुस्कर सापकोटाले संघले दीर्घकालीन विकास योजनाहरू अघि सार्नुपर्ने आवश्यकता औंल्याए।
एनआरएनए यूएईका अध्यक्ष विकास शाहीले गैरआवासीय नेपालीहरूको भलाइ र सशक्तिकरणका निम्ति एनआरएनए यूएईले अन्य शाखाहरू र मातृसंस्थासंग सहकार्य गरिरहने वाचा गरे।
कार्यक्रममा एनआरएनए युएईका पूर्वअध्यक्ष ठाकुर प्रसाद ढुंगानाले स्वागत मन्तव्य दिदैं संघभित्र एकताको विकल्प नरहेको बताउँदै सके सम्म छिटो टुंग्गोमा पुराउनु पर्ने बताए ।
कार्यक्रममा बोल्ने बक्ताहरुले संस्थाभित्र सहमति, सह्कार्य, एकताको अवस्यकता रहेको औंल्याए।
(नेपालब्रिटेन डटकमबाट)