२८ कार्तिक, २०८१
GNNNEWS-
काठमाण्डौ। गैर आवासीय नेपाली संघ एनआरएनएको उच्चस्तरीय समितिको बैठक आह्वान भएको छ। उच्चस्तरीय समितिका संयोजक रहेका डा.शेष घलेले मंसिर ४ गते अर्थात नोभेम्बर १९ तारिखका दिन काठमाडौंमा बैठक आह्वान गरेका हुन्।
बैठक एनआरएनएको सचिवालय बालुवाटारमा अपरान्ह ३ बजेदेखि बस्नेगरी विज्ञप्तिमा उल्लेख गरिएको छ।
सर्वोच्च अदालतको फैसला अनुसार बैठक बोलाइएको उनले मंगलबार निकालेको प्रेस विज्ञप्तिमा जनाइएको छ। दशौं अधिवेशन हुँदा प्रतिनिधि छनोट लगायतका विवादहरु बढ्दै जाँदा एनआरएनए दुई समूहमा विभाजित भएको थियो। त्यतिबेला घले समूहबाट विनोद कुँवर अध्यक्ष भएका थिए भने संस्थापन पक्ष दावी गर्नेहरुले ३ जना अध्यक्ष बनाएर कार्यकाल ६–६ महिना विभाजन गरेका थिए। कुँवर समूहका सिइओ राजेश राणाले सर्वोच्च अदालतमा दायर गरेको रिटमा चैत २१ गते न्यायाधीशद्वय सपना प्रधान मल्ल र डा. नहकुल सुवेदीको संयुक्त इजलासले त्यतिबेला भएको १० औं अधिवेशनलाई अबैध भन्दै पहिला नै विवाद समाधान गर्नका लागि गठन गरिएको घले नेतृत्वको उच्चस्तरीय समितिलाई ब्युँत्याएको थियो।
सर्वोच्चको फैसला पछि एकताको अधिवेशन गर्ने जिम्मेवारी पाए पनि पूर्ण पाठ ढिलो गरी सार्वजनिक हुँदा कार्यान्वयनको चरणमा गएको थियो। यसबीचमा अहिले बालुवाटार कब्जा गरेको डा. बद्री केसी समूहले अर्को रिट दिएर आफूहरुले बैधानिकता पाएको दावी गरे पछि बैठक नै बस्ने सकेको थिएन।
तर,सर्वोच्चको फैसला कार्यान्वयनका लागि परराष्ट्रमन्त्रालयले पहलकदमी लिए पछि एकताको अधिवेशन गराउने उच्चस्तरीय समितिको बैठक बस्न लागेको हो। सर्वोच्चको फैसला अनुसार घले नेतृत्वको समितिलाई पहिलो बैठक बसेको ६ महिनाभित्र एकताको अधिवेशन गराउने जिम्मेवारी रहेको छ।