Friday February 07, 2025

भूतपूर्व गोर्खा परिवारको अध्यागमन नियमबारे गहन अन्तरक्रिया

१८ मंसिर, २०८१ शीतलपाटीन्युज डटकम। 1191


भूतपूर्व गोर्खा परिवारको अध्यागमन नियमबारे गहन अन्तरक्रिया

GNNNEWS-
लन्डन । लन्डनका वरिष्ठ ब्यारिष्टरहरुसंग भूतपूर्व गोर्खा परिवारको अध्यागमन सम्बन्धि नयां नियमबारे  अन्तरक्रिया भएको छ ।

 लन्डनस्थित ‘एभरेष्ट ल सोलिसिटर्स’ को आयोजनामा १ डिसेम्बर आइतबार भर्चुअल अन्तरक्रिया भएको हो ।

अन्तरक्रियामा लन्डनस्थित ल फर्म वान पम्प कोर्टसंग आवद्ध ब्यारिष्टरहरु जस्टिन फिसर, किलिन म्याककार्थी र डेबोरा रिभिलले गोर्खा सन्तान तथा परिवारको नयां परिवर्तित नियम सम्बन्धमा स्पष्ट पारेका थिए।

अन्तरक्रियामा एभरेष्ट ल सोलिसिटर्सका प्रिन्सिपल सोलिसिटर राजु थापाले स्वागत गर्दै ब्यारिष्टरहरुको परिचय दिएका थिए।

गत १३ वर्षदेखि सञ्चालनमा रहेको उक्त फर्म मार्फत अहिलेसम्म गोर्खा सन्तानका मुद्दाहरु झन्डै ९० प्रतिशत सफल गरि करिब ७ हजार गोर्खालीका सन्तान यूके आइसकेको उनले जनाए।

ब्यारिष्टर किलिन म्याककार्थीले भूतपूर्व गोर्खाहरुले कसरी बेलायतमा आवासीय अधिकार प्राप्त गरे र अभियान कसरी सफल भयो भन्ने चर्चा गर्दै वर्तमान परिवर्तित नीतिबारे अवगत गराएकी थिइन्।

सन् २०२३ अक्टोबर ५ मा होम अफिसले गोर्खा र हङकङ सैनिकहरुका लागि नयां नियम परिवर्तन गरेपनि पछि उक्त नियमविरुद्ध मुद्दा परेपछि अदालतले गोर्खाहरुकै पक्षमा फैसला गरेको उनले जनाइन्।

फर्स्ट टिएर ट्राइबुनलले नेशनालिटी, इमिग्रेसन एन्ड असाइलम एक्ट र युरोपियन महासन्धिको धारा ८ बमोजिम आवेदकलाई पारिवारिक जीवनबाट विमुख गर्न नमिल्ने भन्दै अपिल राइट्स दिन आदेश गरेको उनको भनाइ थियो।

‘अति विपन्न’ अवस्थाका भूतपूर्व गोर्खाका बिधवा र तिनका सन्तान सबैलाई बेलायतले भिसा शुल्क नलिने भएपनि त्यसका लागि यथेष्ठ प्रमाण जुटाउनु पर्ने, समय धेरै लाग्ने र यसमा धेरै कानूनी झन्झट हुने उनले बताइन्।
अर्की ब्यारिष्टर जस्टिन फिसरले आवेदन गर्ने तरिका र दस्तुरबारे स्पष्ट पारिन्।

ब्यारिष्टर डेबोराले नेपालबाट आवेदन हाल्ने तरिका, आवेदनमा साक्षी बयान लेख्दा ध्यान दिनुपर्ने सन्दर्भ आदि बारे प्रस्ट्याएकी थिइन्। 'कभरिङ लेटर' मा गल्ती हुन नहुने र आफ्नो बयान झुटो हुन नहुनेमा उनको जोड थियो ।

ठेगाना पनि सही आफू बसिरहेकै ठाउंको हुनुपर्ने, स्पोन्सर गर्नेले आफ्ना सन्तानलाई पैसा नियमित पठाइरहेको अर्थात आर्थिक निर्भरताबारे बुझाउन जरुरी हुने उनको धारणा छ। बैंक स्टेटमेन्ट वा अन्य कागजात नक्कली नबनाउन पनि उनले सुझाइन्। उनले लामो समय अगाडि बाबु आमा बितिसकेको भए उनीहरुको हकमा भिसा हुने सम्भावना निकै कम रहेको पनि प्रष्ट्याइन्। कार्यक्रममा एभरेष्ट ल सोलिसिटर्ससंग आबद्ध सोलिसिटर सैयद इमरान अलीले पनि विभिन्न जिज्ञासा मेटाएका थिए।

यो लिंकमा गएर पुरै कार्यक्रम हेर्न सकिन्छ :
https://www.youtube.com/watch?v=0j53L7JuXe8



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?