२ पुष, २०८१
शीतलपाटीन्युज डटकम।
पोखरा। स्याङजा पुतलीबजार वडा नं ९ स्थित सात सय कोल्मा बहाकोटमा आयोजना हुने पाँचौ सस्करणको क्रस कन्ट्रि दौडको तयारी पुरा भएको छ। सात सय कोल्मा बहाकोट सम्पर्क मञ्चको आयोजनामा आगामी पौष ८ गते क्रस कन्ट्रि हुने भएको हो। क्रस कन्ट्रिको सम्पूर्ण तयारी पुरा भएको संस्थाका सल्लाहकार मन बहादुर थापाले पोखरा स्पोर्टसलाई जानकारी दिएका छन्। सो क्रस कन्ट्रि अन्तर्गत हुने विभिन्न इभेन्टमा २ सय भन्दा बढिले नाम दर्ता गरीसकेको थापाले बताएका छन्।
खेलकुद मार्फत आन्तरिक र बाह्य पर्यटनलाई अघि बढाउन पाँच वर्ष अघि सुरु भएको क्रस कन्ट्रिमा विभिन्न ४ वटा इभेन्टमा प्रतिस्पर्धा हुनेछ। क्रस कन्ट्रि अन्तर्गत २५ किमि पुरुष, १० किमि महिला/पुरुष, ५ किमि छात्रा दौड र ५ किमि छात्र/छात्रा समुह दौड हुनेछ।
सल्लाहकार थापाका अनुसार २५ किमि पुरुषको मुख्य इभेन्टतर्फ पहिलो,दोस्रो र तेस्रो हुने धावकले क्रमश नगद रु ५०, ४० र ३० हजार नगहिलादका साथमा मेडल तथा प्रमाणपत्र पाउनेछन् । प्रतियोगितामा दशौं स्थानसम्म प्राप्त गर्ने खेलाडीहरुलाई मेडल र प्रमाणपत्र प्रदान गरिने छ।
त्यसै गरी १० किमि पुरुष/महिला तर्फका बिजेता खेलाडीहरुले क्रमश नगद रु १५, १० र ५ हजार, ५ किमि छात्रा दौड तर्फका बिजेताले क्रमश नगद रु १५, १० र ५ हजार तथा ५ किमि छात्र/छात्रा दौड समुहका बिजेताले क्रमश नगद रु १२, ८ र ४ हजारका साथमा मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन्।
उक्त प्रतियोगिता सम्पन्न गर्न करिव १२ लाख ३४ हजार खर्च हुने आयोजकले जनाएको छ।