२७ पुष, २०८१
शीतलपाटीन्युज डटकम।
लन्डन। तमु धीं यूकेका महासचिव एवं समाजसेवी डा. विशाल गुरुङले नेपालमा निःशुल्क आँखा शिविर सञ्चालन गर्ने भएका छन् ।
निःशुल्क आँखा शिविरको दोस्रो संस्करण आगामी फेब्रुअरीमा पर्वत र सर्लाहीमा सञ्चालन गर्ने भएका हुन्। नेपाल नेत्रज्योति संघसँगको समन्वयमा पर्वतको कुस्मा र चार भन्ज्याङमा फेब्रवरी १०,११, १२ र १३ तथा सर्लाहीमा फेब्रुवरी १८, १९ र २० मा शिविर चल्नेछ ।
आँखा शिविर सञ्चालनका लागि आर्थिक संकलन गर्न यही १७ जनवरीमा बेलायतमा ‘फन्ड रेजिङ डिनर नाइट’ आयोजना गरिएको छ।”राम्रो आँखाको ज्योति,राम्रो जीवनका लागि” नारासहित अल्डरसटस्थित एम्पायर हलमा हुदै छ। उक्त डिनर नाईट कार्यक्रमको टिकटदर ४५ पाउन्ड तोकिएको छ।
शिविरका लागि संघसंस्था र व्यक्तिहरूले सहयोग गर्न सक्नेछन्। यस पटक तमु धीं यूके आमा समूह,चार भन्ज्याङ तमु समाज यूके,पर्वत वेल्फेयर सोसाइटी युके लगायत संस्थाले सहयोग गर्ने जनाइसकेका छन् ।
कार्यक्रममा उपस्थित भएर परोपकारी काममा लागि सहयोग गरिदिन डा.विशालले संघसंस्था तथा व्यक्तिहरूलाई अनुरोध गरेका छन्।
सो च्यारीटी डिनर नाइटका अवसरमा खानासँगै राफल ड्र जस्ता मनोरञ्जनात्मक कार्यक्रम पनि हुनेछन्। डिनर नाइटका लागि तमु धीं यूकेले दुई वटा टेबल बुक गरिसकेको छ। अन्य संघसंस्थाले पनि टेबल बुक गरिरहेको उनले जानकारी दिएका छन।
आँखा शिविरलाई सफल बनाउन आवश्यक तयारीका लागि कुस्मा नगरपालिकाका मेयरसहित अन्य व्यक्ति तथा संघसंस्थासँग कुरा भइरहेको डा.विशालले बताए। शिविरका लागि कुस्मामा हिमालयन आँखा अस्पतालबाट र सर्लाहीका लागि भरतपुर आँखा अस्पतालबाट चिकित्सकको टोली खटिनेछन्।
सोसाइटी अफ नेप्लिज प्रोफेसनल्स यूकेका अध्यक्ष डा.ओम प्रसाद गौतम र नेपाल नेत्र ज्योति संघका अध्धक्ष डा. चेतराज पन्तले आँखा शिविरमा सुरुआतदेखि नै सहयोग गर्दै आएको डा. विशालले जानकारी दिए ।
डा. विशालले यसअघि सन् २०२३ फेब्रुअरीमा शिविरको पहिलो संस्करण सञ्चालन गरेका थिए। स्याङ्जाको पुतलीबजार नगरपालिकामा भएको शिविर सफल भएकाले नै दोस्रो संस्करण गर्न लागिएको उनको भनाइ छ। सो बेला नगरपालिकालाई मोतीयाबिन्दु मुक्त क्षेत्र बनाउने अभियान अन्तर्गत भएको शिविरबाट ४ हजार ४७० जनाले सेवा लिएका थिए। ९४ जना बिरामीको मोतिया बिन्दुको शल्यक्रिया गरिएको थियो।