१० माघ, २०८१
सुरेश कोइराला,
बुटबल।लुम्बिनी प्रदेश प्रहरीले पुस महिनामा मात्र ४ करोड ७७ लाख ९२ हजार ९ सय ५५ रुपियाँ जरिवाना संकलन गरेको छ। लुम्बिनी प्रदेश प्रहरी प्रमुख, प्रहरी नायव महानिरीक्षक (डीआईजी) दानबहादुर कार्कीले बुधबार आयोजित पत्रकार सम्मेलनमा पुस महिनामा लुम्बिनी प्रदेशका १२ जिल्लाबाट ४ करोडभन्दा बढी रकम जरिवाना संकलन भएको जानकारी दिएका छन्।
डीआईजी कार्कीका अनुसार, लुम्बिनी प्रदेशका जिल्लाहरूमा भएको बेथिति, अनियमितता र लापरबाहीलाई नियन्त्रण गर्ने क्रममा ठूलो रकम जरिवानाबाट राजश्व संकलन गर्न सफल भएका छन्। साथै साउनदेखि पुस मसान्तसम्म ८ करोड ६७ लाख ७६ हजार ९ सय ९४ रुपियाँ जरिवाना संकलन भएको उल्लेख गरे।
पुस महिनामा लुम्बिनी प्रदेशका १२ जिल्लामा फैसला कार्यान्वयनका क्रममा ४ सय ८४ जना फरार व्यक्तिहरू पक्राउ परेका छन्। सबैभन्दा बढी फरार व्यक्तिहरू कपिलवस्तु जिल्लाबाट पक्राउ परेका छन्, जहाँ ११२ जना फरार प्रतिवादी पक्राउ परेका छन्। अर्घाखाँची र रोल्पा जिल्लामा भने सबैभन्दा कम फरार प्रतिवादी पक्राउ परेका छन्।
साउनदेखि पुस महिनासम्म कुल १ हजार ५ सय १९ जना फरार व्यक्तिहरू पक्राउ परेका छन्। पुस महिनामा पक्राउ परेका प्रतिवादीमध्ये जबरजस्ती करणीमा १६, चेक अनादरमा ५०,बालविवाहमा ७,सवारी ज्यान सम्बन्धी मुद्दामा ३९,लागुऔषध ४३, बैंकिङ कसूरमा २१,कुटपिटमा ४९,चोरी र डाँकामा ४९,कर्तव्य ज्यानमा ११ र अन्य मुद्दामा १९९ जना रहेका छन्।