१७ माघ, २०८१
शीतलपाटीन्युज डटकम।
लन्डन।गैरआवासीय नेपाली संघ (एनआरएनए) इंग्ल्यान्ड राज्य समन्वय परिषदले हालै कार्यभार सम्हाल्न बेलायत आएका महामहिम राजदूत चन्द्र कुमार घिमिरेलाई स्वागत गरेको छ। बुधबार परिषदका अध्यक्ष शम्भुप्रसाद अर्यालको नेतृत्वमा लन्डनस्थित दूतावास पुगेर राजदूत घिमिरेलाई स्वागत गरेकोको हो।
सो अवसरमा राजदूत घिमिरेसंग बेलायतवासी नेपाली समुदायका चासो र सरोकार रहने विभिन्न विषयमा अन्तरक्रिया समेत गरिएको परिषद अध्यक्ष शम्भुप्रसाद अर्यालले शीतलपाटीन्युज डटकमलाई समाचारको जानकारी दिनु भएको हो।
परिषदका अध्यक्ष अर्यालले बेलायतमा अध्ययनरत नेपाली विद्यार्थीका समस्या,समान पेन्सनका भूतपूर्व गोर्खा मुद्धा, नेपाल र बेलायतबीचको व्यापार सम्बन्ध बिस्तार, बेलायतमा नेपाली कला र साहित्यको प्रवर्द्धनजस्ता विषयहरुमा पनि राजदूतसंग छलफल गरेको कुरा जनाउनु भयको छ।
त्यस अवसरमा महामहिम राजदूत घिमिरेले बेलायतस्थित नेपाली समुदाय सम्बन्धी सरोकारका विषयहरुबारे जानकारी गराएकोमा परिषद अध्यक्ष अर्याललाई धन्यवाद दिदै नेपाली राजदूतावासबाट आवश्यक समन्वय र सहयोगका लागि महामहिम राजदुत घिमीरेले प्रतिवद्धता व्यक्त गर्नु भयो।
सो स्वागतका अवसरमा बेलायतस्थित विभिन्न संघसंस्थाका प्रतिनिधिहरु नयाँ राजदूतको स्वागतका लागि नेपाली राजदूतावास पुगेका थिए। मिडल्यान्डको कोभेन्ट्रीवासी सामाजिक अभियन्ता गोविन्द सापकोटा,बेक्सली नेपाली समाजका पूर्व अध्यक्ष आनन्द धरेल,शान्ति नेपाली समाज बेलायतका अध्यक्ष रामप्रसाद न्यौपाने,नटिङहम नेपाली समाजका महासचिव रेशम खड्का,मीना न्यौपाने लगायतको सहभागिता थियो।
नेपाली राजदुताबास लण्डनमा एनआरएनए इंग्ल्यान्ड राज्य परिषद सचिव अञ्जु कुंवरले सञ्चालन गरेको कार्यक्रममा दूतावासका प्रथम सचिव उद्धव न्यौपाने पनि उपस्थित रहेको थियो।