२२ माघ, २०८१
शीतलपाटीन्युज डटकम।
काठमाडौं। सरकारले अघि बढाएको नेपाल प्रहरीको विधेयकविरुद्ध नेपाल प्रहरीका पूर्व प्रहरी महानिरीक्षकहरु नै संगठित भएर विरोधमा उत्रिएका छन्। उनीहरुले मंगलबार संयुक्त वक्तव्य निकाल्ने भएका छन्।
स्रोतका अनुसार विधेयकको विषयमा एक चरणमा छलफल भइसकेको छ । मंगलबार प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरसहित उच्च अधिकारीसँग छलफल गरेर आधिकारिक धारणा सार्वजनिक गर्न लागिएको छ।गत साता संसदमा दर्ता गरिएको विधेयकमा प्रहरीलाई गृहको शाखा जस्तो बनाउने प्रावधान राखिएको र यसले संगठनलाई कमजोर बनाउने भन्दै पूर्वप्रहरी महानिरीक्षकहरुले आपत्ति जनाइरहेका छन्।
विधेयकमा प्रहरीको नियन्त्रण र परिचालन गृह मन्त्रालयले गर्ने उल्लेख छ। यो प्रावधानले गृह मन्त्रालयको अधिकृतले प्रहरीलाई चलाउने जोखिम रहेको प्रहरीको बुझाई छ ।जिल्लामा पनि सिडिओलाई शक्तिशाली बनाउने प्रावधान विधेयकमा छ। बहालवाला प्रहरी पनि विधेयकप्रति रुष्ट छन्। तर, बोल्न नमिल्ने भएकाले उनीहरु चुप छन्। जस कारण पूर्वप्रहरी महानिरीक्षक तथा पूर्वप्रहरी संगठनले त्यसको विरोध गर्न लागेका छन्।
त्यस्तै, विधेयकमा सशस्त्र प्रहरीलाई प्रहरीको अनुसन्धानको अधिकार दिन लागिएको भनेर समेत आलोचना सुरु भएको छ।जस कारण विधेयक विवादमा परेको छ। विवादमा परेसँगै तत्काल यो पारित हुने सम्भावना देखिएको छैन।विधेयकमा ३० वर्षे सेवाहद हटाउनेदेखि तल्लो तहका प्रहरीलाई १६ वर्षमै पेन्सन दिने प्रावधान समावेश छन्। कतिपय राम्रा विषय भएपनि केही विवादास्पद प्रावधान समावेश गरिएपछि विधेयकप्रति प्रहरीभित्र चर्को असन्तुष्टि देखिएको छ।
(जनप्रहारबाट )