२५ फाल्गुन, २०८१
शीतलपाटीन्युज डटकम।
काठमाडौं। राजावादीको प्रदर्शनले काठमाडौं उपत्यकाको सवारी आवागमन अस्तव्यस्त बन्न थालेको छ। पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतका लागि विभिन्न ठाउँबाट निस्किरहेका जुलुसले उपत्यकाको सवारी आवागमन अस्तव्यस्त बनिरहेको काठमाडौं उपत्यका प्रहरी कार्यालय प्रवक्ता एसपी सञ्जयबहादुर राउतले जानकारी दिए।
एसपी राउतका अनुसार,अहिले त्रिभुवन विमानस्थल आसपासका सडकमा अत्यधिक जाम छ। “विमानस्थल प्रवेशद्वार गोल्डेन गेटबाटै सडक एकतर्फी गरिएको छ। सिनामंगल, गौशाला,कोटेश्वर, तीनकुनेलगायत सडकबाट राजावादीहरूको चलहपहल सुरु भएकाले सडक व्यस्त देखिन थालेको छ।
ट्राफिक प्रहरीले आवश्यकता अनुसार सवारी डाइभर्सन गर्ने भएकाले वैकल्पिक मार्गको प्रयोग गरे छिटो गन्तव्यमा पुग्न सकिने ट्राफिक प्रहरीले जनाएको छ।
पूर्वराजाको स्वागतमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालसहित विभिन्न संघसस्थाहरूले काठमाडौंका विभिन्न स्थानबाट र्यालीसहित प्रदर्शन गरिरहेका छन्।