३० फाल्गुन, २०८१
शीतलपाटीन्युज डटकम।
लन्डन। नेपाली ब्रिटिस नागरीक बेलायतको डाटफोर्ड काउन्सिलका पूर्व काउन्सिलर डा.बच्चु कैलाश कैनी आगामी मे १ मा हुने केन्ट काउन्टी काउन्सिल निर्वाचनमा डाटफोर्ड वेस्ट डिभिजनबाट लेबर पार्टीको उम्मेदवार हुने भएको समाचार छ।
बेलायतमा काउन्टी काउन्सिल भनेको स्थानीय निकायको सबैभन्दा माथिल्लो तह हो। करिब १६ लाख दश हजार जनसंख्या भएको केन्ट काउन्टी काउन्सिलमा डाटफोर्डसहित १२ जिल्ला छन्। ७२ डिभिजन रहेको केन्ट काउन्टी काउन्सिलमा डार्टफोर्ड काउन्सिल भित्र ६ वटा डिभिजन छन्। यी मध्ये डा. कैनी डार्टफोर्ड वेस्ट डिभिजनबाट लेबर पार्टीको आन्तरिक प्रतिस्पर्धाबाट उम्मेदवार चुनिएका हुन्। डार्टफोर्ड वेस्ट डिभिजनमा करिव १७ हजार मतदाता छन्।
सन् २०१३ देखि लेबर पार्टीमा सक्रिय डा कैनी हाल लेबर पार्टी डाटफोर्ड जिल्ला समितिको कार्यकारी सदस्य र पार्टीको बिएएमई (अश्वेत र अल्पसंख्यक जातीय समुदाय) इन्चार्जको रुपमा कार्यरत छन्। तनहूँमा जन्मेका डा.कैनी र उनको परिवार पञ्चायत कालमा नेपालको प्रजातान्त्रिक आन्दोलनमा समेत सक्रिय थियो।
साथै यो पटकको पदमा उन्मेदवार भएका डा. कैनी बेलायतको दुई स्थानीय तह जिल्ला र काउन्टी तथा संसदीय गरी तीनै स्तरको निर्वाचनमा बेलायतमा उम्मेदवार हुने अवसर पाएका नेपालीहरुबाट पहिलो बनेका छन्। सन् २०१७ को संसदीय निर्वाचनमा उपविजेता भएका डा कैनीले यस पटक कन्ट्री काउन्सीलर उम्मेदवार भएका छन। बेलायतमा हरेक वर्ष मई महिनाकोपहिलो बिहिबार स्थानीय निर्वाचन हुन्छ र बेलायतमा निर्वाचित स्थानीय जनप्रतिनिधिको पदावधि चार वर्षको हुन्छ।
निर्वाचनका लागि उम्मेद्वारी दर्ता गर्ने मिति अप्रिल २ तारिख ४ बजेसम्म रहेको बुझीएको छ। डा कैनीले निर्वाचनमा आफुले जितेमा निम्न मुख्य एजेन्डाहरुमा काम गर्ने जनाएका छन। जस्मा स्थानीय पूर्वाधार सुधार,स्वास्थ्य र सामाजिक हेरचाह सेवाहरूलाई सुदृढ गर्ने, युवाहरूका लागि शिक्षा र अवसरहरू बढाउने,यातायात सेवाहरु सुदृढ,सामाजिक न्याय प्रवर्द्धन,सबैका लागि अवसरहरू सुनिश्चित गर्ने, स्थानीय व्यवसायहरूलाई समर्थन,डाटफोर्डमा आर्थिक विकासलाई अगाडि बढाउने आदि रहेको उनको मेनुफेस्टोमा जनाएका छन।
(नेपाली लिङ्कबाट)