२ चैत्र, २०८१
शीतलपाटीन्युज डटकम।
लन्डन । समाजसेवी एवं सफल व्यवसायी कमल गुरुङले बेलायतको बेजिङस्टोकमा ‘‘बेजिङस्टोक ओरिएन्टल मार्ट” सञ्चालनमा ल्याएका छन्। तमु धीं यूकेको उपाध्यक्ष समेत रहेका गुरुङले दोस्रो ओरेन्टियल मार्ट शनिबारदेखि सञ्चालनमा ल्याएका हो। बेसिङस्टोक शहरको केन्द्रमा रहेको द मल्समा खुलेको पसलको भव्य समारोहबीच उद्घाटन गरियो। सुरुमा मार्टका निर्देशक गुरुङले सबैलाई स्वागत गर्दै पसलको बारेमा जानकारी गराएका थिए।
मेयर काउन्सिलर डान पुट्टीले पसलको तारिफ गर्दै उदघाटन समारोहमा शुभकामना दिएका थिए। त्यसपछि सो उदघाटनका अवसरमा ड्रागन नृत्य देखाइएको थियो। मेयर, सांसद लुक मर्फी,तमु धीं यूकेका अध्यक्ष जुमकाजी गुरुङ र सञ्चालक गुरुङले संयुक्त रूपमा मार्टको उद्घाटन गरेका थिए। त्यसपछि सबैलाई मार्टमा उपलब्ध हुने सामग्रीहरूको अवलोकन गराइएको थियो । मार्ट सुरु भएको अवसर पारेर पहिलो एक हप्तासम्मका लागि हरेक सामान खरिदमा १० प्रतिशत छुटको प्रबन्ध गरीएको छ।
कार्यक्रममा एनआरएनए यूकेका अध्यक्ष हितकाजी गुरुङ,पूर्वअध्यक्ष सूर्य गुरुङ, पुनम गुरुङ,तमु धीं यूकेका पूर्वअध्यक्षहरू कमल गुरुङ, रामचन्द्र गुरुङ,सहारा यूकेका पुर्व अध्यक्ष कुमार गुरुङ, बेजिङस्टोक नेपाली समाज यूकेका अध्यक्ष ओम गुरुङ, बेजिङस्टोक गुरुङ समाज यूकेका अध्यक्ष दुर्गा गुरुङ, पूर्वअध्यक्ष कमल गुरुङ लगायत संघसंस्थाका अध्यक्ष प्रतिनिधिहरु,आफन्त एवं शुभचिन्तकहरुको उपस्थिती रहेको थियो।
उपस्थित सबैले नयाँ व्यवसाय सुरु गरेकोमा बधाईसहित शुभकामना दिएका थिए। अन्त्यमा सबैजना खाना खाएर छुटेका थिए। मार्टमा खाद्यान्नका उत्कृष्ट र स्वादिष्ट उत्पादन तथा ताजा तरकारीहरू सुपथ मूल्यमा खरिद गर्न सकिने जनाइएको छ।
फोटो- गोर्खामिडीया।