३ चैत्र, २०८१
GNNNEWS-
लण्डन ! नेप्लिज नर्सिङ एसोसिएसन (एनएनए) युकेले गत शनिबार (१५ मार्च २०२५) मा ह्यारो फुटबल क्लब, ह्यारोमा वार्षिक सम्मेलन सफलतापूर्वक सम्पन्न गरेको छ। उक्त कार्यक्रममा ६० जना भन्दा बढी स्वास्थ्यकर्मी, नर्सिङ नेतृत्वकर्ता र सम्मानित संस्थाका प्रतिनिधिहरू सहभागी भए।
सम्मेलनमा नेटवर्किङ, ज्ञान आदान-प्रदान र नर्सिङ क्षेत्रमा व्यावसायिक वृद्धि तथा अवसरहरूबारे छलफल गरिएको थियो। एनएनएयुकेकी महासचिव श्रीजा डंगोलको संचालनमा सम्पन्न भएको कार्यक्रममा संस्थाकी उपाध्यक्ष इन्दिरा बस्यालले स्वागत मन्तव्य राख्दै नर्सिङ पेसामा व्यावसायिक विकास, सहकार्य र समुदाय समर्थनको महत्त्वबारे मन्तव्य बारे प्रष्ट पारेकी थिइन् ।
कार्यक्रममा विभिन्न विशिष्ट वक्ताहरूले प्रस्तुति र छलफल प्रस्तुत गरेका थिए । साउथ एण्ड वेस्ट हर्ट्स एण्ड केयर पार्टनरशिप, वाटफोर्ड जनरल हस्पिटलको भर्चुअल हस्पिटलको लिड नर्सका रूपमा कार्यरत कल्पना गिरी घिमिरेले भर्चुअल हस्पिटल ब्रिटेन सरकारकै पहलमा आएको नविन धारणाको रूपमा आएको बताइन् । भर्चुअल हस्पिटलको महत्व दर्शाउंदै उनले यो अवधारणाले बिरामीहरूको अनावश्यक अस्पताल भर्ना घटाउनुका साथै प्रभावकारी तथा पहुँचयोग्य बिरामी हेरचाह सुनिश्चित गर्दै आईरहेको समेत उल्लेख गरिन्। उनले परम्परागत वार्डजस्तै बेड र हेरचाह सुविधा भए पनि भर्चुअल हस्पिटल बढी प्रभावकारी रहेको जनाउंदै उपलब्ध सिमित ठाउँको उच्चतम प्रयोग गरेर सेवा दिईरहेको जानकारी गराइन्। यसै सन्दर्भमा उनीसंगै काम गरिरहेका दुई स्वास्थ कर्मचारीले भर्चुअल हस्पिटलमा काम गर्दाको सकारात्मक अनुभव पनि सुनाए।
हडर्सफिल्ड विश्वविद्यालयकी रिडर तथा नर्सिङ सहप्राध्यापक डा. बिभा सिम्खडाले निरन्तर व्यावसायिक विकास (सीपीडी) को महत्त्वबारे चर्चा गरिन् । उनले नर्सहरूलाई सीपीडी प्रमाणहरू दस्तावेज गर्न सुझाव दिँदै विभागीय व्यवस्थापकमार्फत उपलब्ध सीपीडी सम्बन्धि अध्ययनका लागि लागि एक हजार पाउण्डको सरकारी शिक्षण कोष उपलब्ध रहेको समेत जानकारी दिइन् ।
रोयल कलेज अफ नर्सिङमा क्रिटिकल केयर परामर्शदाता नर्स तथा व्यावसायिक नेतृत्व विकासकमा सहयोग गर्दै आईरहेका सुमन श्रेष्ठले सेप्सिसको प्रारम्भिक पहिचान र व्यवस्थापनको महत्त्वबारे बताए। विश्वव्यापी सेप्सिस तथ्यांक प्रस्तुत गर्दै उनले कानुनी संरक्षणका लागि मात्र नभई बिरामी सुरक्षा र हेरचाहको निरन्तरताका लागि समेत नर्सिङ दस्तावेज आवश्यक रहेको बताउंदै बिरामीलाई दिएका सेवाहरू अध्यावधिक राख्नु पर्ने बताए। उनले नर्सहरूलाई रोयल कलेज अफ नर्सिङ (आरसीएन) मार्फत वृत्ति विकासको मार्गदर्शन खोज्न समेत सुझाव दिए।
नर्सिङ एण्ड मिडवाइफरी काउन्सिल (एनएमसी) का क्षेत्रीय सम्पर्क अधिकृत डेभिड टेलरले नर्सिङ पुन:प्रमाणीकरणको महत्त्वबारे प्रकाश पारे । उनले नर्सहरूलाई सीप अद्यावधिक गर्न र व्यावसायिक मापदण्ड कायम राख्न प्रोत्साहित गर्दै हालैका सार्वजनिक सर्वेक्षणले यूकेमा नर्सहरू सबैभन्दा विश्वसनीय पेसामध्ये एक रहेको बताए । नर्थवेस्ट लन्डन इन्टिग्रेटेड केयर बोर्डकी म्याटरनिटी कम्युनिटी नर्स तथा लिङ्क परियोजना व्यवस्थापक सृजना कोइरालाले हेल्थकेयर असिस्टेन्ट (एचसीए) बाट म्याट्रोनसम्मको आफ्नो व्यक्तिगत यात्राको कथा सुनाइन् । उनले व्यावसायिक मार्गदर्शनले आत्म-संशय हटाउन र आफ्नो करियरमा प्रगतिमा गर्न सहयोग गरेको बताइन् ।
एनएचएस ट्रस्टमा क्लिनिकल फेसिलिटेटरका रुपमा कार्यरत बर्षा बेलवासेले स्वास्थ्य सेवामा नेतृत्वको महत्त्वबारे प्रष्ट पारिन् । नेतृत्व विशिष्ट पदमा सीमित नभएको उल्लेख गर्दै उनले हेल्थकेयर असिस्टेन्ट (एचसीए) हरूलाई नेतृत्व गुण प्रदर्शन गर्न र विभागमा सक्रिय भूमिका निर्वाह गर्न प्रोत्साहित गरिन् । "तिम्रो प्रदर्शनले तिमीलाई नेतृत्व गर्न अनुमति दिन्छ," भन्ने भनाई सुनाउंदै उनले आत्म-मूल्यांकन गरी 'ट्राफिक लाइट प्रणाली' जस्ता अवधारणामा आफुलाई हरियो वा रातो कुन तहमा रहेको महसुस गरी अघि बढ्न सुझाव दिइन्।
किङ्स हस्पिटल एनएचएस फाउन्डेशन ट्रस्टमा एक्युट स्पेसियालिटी मेडिसिनका लागि सहायक नर्सिङ निर्देशक/वरिष्ठ प्रमुख मिस विनिस थोमसले स्वास्थ्य सेवामा नस्लवादको चुनौतीबारे चर्चा गरिन् । नस्लीय भेदभावले मानसिक तनाव र मुटुरोगजस्ता शारीरिक स्वास्थ्य समस्या बढाएको अनुसन्धानले देखाएको बताउंदै प्लेसमेन्टमा काम दिंदा पनि महत्त्वपूर्ण जिम्मेवारी नदिएर कार्यस्थलमा भेदभाव हुने गरेको बताइन्।
कार्यक्रमका प्रमुख अतिथि रूपमा यूकेका लागी नेपाली राजदूत चन्द्रकुमार घिमिरेले यूकेमा नेपाली नर्सहरूको योगदानको प्रशंसा गर्दै नेपाली स्वास्थ्यकर्मीलाई शिक्षा र सशक्तिकरणमा दूतावासको प्रतिबद्धता रहेको दोहोराए। उनले वक्ताहरूलाई कदरस्वरूप प्रेमको चिनो प्रदान गरे।
कार्यक्रममा एनएनए युकेका पूर्व अध्यक्ष बिनोद विकास सिम्खडा र संस्थापक अध्यक्ष अजिता सिम्खडाले सुरुवाती दिन सम्झिदै पहिलो बैठकमा १३ नर्स मात्र थिए रहेको बताइन् । उनले संघको प्रगति र नेपालको स्वास्थ्य अवस्थासँग तुलना गर्दै नेपालको प्रसूति वार्डमा नर्सहरूले एक दिनमा ३३ बिरामी हेरचाह गर्ने गरेकोमा यूकेमा उन्नत स्वास्थ्य प्रणाली रहेकाले त्यस्तो कार्य बोझ नरहेको बताइन्।
ओईटी प्रशिक्षक तथा क्लिनिकल प्राक्टिस शिक्षक अञ्जना सापकोटाले एनएनएयुकेले स्थापना कालदेखि निःशुल्क स्वास्थ्य शिविर, सम्मेलन, शैक्षिक पहल, अनुसन्धान पत्र प्रस्तुतिका साथै ओईटी, सीबीटी, ओएससीई परीक्षा तयारी कार्यक्रम संचालन गरेको जनाइन् । मानसिक स्वास्थ्य वेबिनार, हाइकिङ र यूकेमा निदान नभएको रोगबाट निधन भएकी नर्स पढ्दै गरेकी कमला गुरुङका लागि कोष सङ्कलन अभियान संचालन गरिएको उनले जानकारी दिइन्।
रोयल कलेज अफ नर्सिङ (आरसीएन) का बिजोय सेबास्टियनले नर्सहरूको अधिकार र आरसीएनले गरिरहेको समर्थनबारे जानकारी दिए। आरसीएन केवल युनियन नभई निःशुल्क परामर्श, व्यावसायिक पाठ्यक्रम र करियरसम्बन्धी सुझाव दिने संस्था भएको बताइन्।
एनएनएयुकेकी अध्यक्ष रश्मिता दर्लामीले सहभागीहरुको मूल्यवान अन्तर्दृष्टि र नेपाली नर्सहरूप्रतिको अटल समर्थनको प्रशंसा गर्दै यो कार्यक्रमले व्यावसायिक विकास, नेतृत्व र करियर अवसरमा महत्त्वपूर्ण सुझाव सल्लाह दिएको बताइन्। एनएनएयुकेले यूकेमा नेपाली नर्सहरूलाई सशक्त बनाउन र व्यावसायिक समुदाय सुदृढ गर्न निरन्तर योगदान दिइरहेको जनाइन् । उनले नेपाली दूतावास, अतिथि वक्ता, आरसीएन र एनएमसी प्रतिनिधिहरूलाई धन्यवाद पनि दिइन्।
उक्त कार्यक्रमको प्रायोजन एचटीआर केयर एण्ड रिक्रुटमेन्ट, ए-स्टार फाइनान्सियल सोलुसन्स र अन्य सामाजिक संस्थाहरूले गरेका थिए।