२० बैशाख, २०८२
शीतलपाटीन्युज डटकम।
लन्डन।बेलायतका लागि २३ औ नेपाली राजदूत चन्द्रकुमार घिमिरेले राजा चार्ल्स तृतीयसमक्ष ओहोदाको प्रमाणपत्र पेश गरेको खुशीयालीमा शुक्रबार दूतावासमा रिसेप्सन कार्यक्रम सम्पन्न गरियो। महामहिम राजदुत घिमीरेको प्रमुख आथित्यतामा भएको सो कार्यक्रम दूतावासका उपनियोग प्रमुख विपिन दुवाडीले सञ्चालन गर्नु भएको थियो।
कार्यक्रममा स्वागत मन्तव्य दिदै क्रममा राजदूत घिमिरेले राजा चार्ल्ससंग भएको कुराकानी उल्लेख गर्दै राजा चार्ल्समा नेपाल र नेपाली जनताप्रति माया,सद्भाव रहेको पाएको बताउनु भएको थियो। उहाले आफूसंगको वार्तामा राजाले नेपाल भ्रमणका अविष्मरणीय क्षण स्मरण गर्दै नेपालको सहयोगमा बेलायतको साथ सधैं रहिरहने प्रतिवद्धता दोहोरयाएको जनाउनु भयो। बिहीबार बकिङ्घम दरबारमा एक औपचारिक समारोहबीच राजा चार्ल्स तृतीयसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेपछि राजाले नेपालको विकास प्राथमिकता र यसको प्रगतिका लागि समर्थन समेत जनाएको राजदूतले सुनाउनु भयो।
राजा चार्ल्सले सन् १८१६ मा स्थापित बेलायत नेपालबीच २०९ वर्ष लामो कूटनीतिक सम्बन्ध स्मरण गर्दै नेपाल र बेलायतबीचको दुई शताब्दीभन्दा लामो अटल मित्रतामा जोड दिंदै नेपालको सामाजिक–आर्थिक विकास पहलहरूमा बेलायतको निरन्तर सहयोगका लागि कृतज्ञता व्यक्त गरेको राजदुत घिमीरेले सुनाउनु भयो।
कार्यक्रमका अतिथी असिस्टेन्ट मार्सल अफ द डिप्लोम्याटिक कर्प्स एलनोर म्याक्यूले राजदूत घिमिरेलाई बधाई दिंदै बेलायत नेपालको प्रमुख विकास साझेदार रहेको र बेलायती सहयोग निरन्तर रहने प्रतिवद्धता व्यक्त गरेकि थिईन। उनले राजाले गरेको नेपाल भ्रमण र उनको नेपाल प्रेमबारे पनि बताएकी थिइन्। उनले बेलायती सेनामा गोर्खाहरुको योगदानको समेत प्रशंसा गरिन्।
उक्त रिसेप्सन समारोहमा बेलायत भ्रमणमा रहेका बेला नेपालका प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, बेलायतस्थित विभिन्न मुलुकका राजदूत,हाइ कमिसनर,बेलायत सरकारका उच्चपदस्थ अधिकारीहरु, नेपाली समुदायका गन्यमान्य व्यक्तित्वहरु, बेलायतस्थित पत्रकारहरु लगायतको उपस्थिति थियो।
(नेपालीलिंकबाट)