५ जेष्ठ, २०८२
पुर्ण गुरुड्ग,
लण्डन। बुद्धिष्ट कम्युनिटी सेन्टर (बीसीसी) युकेले धार्मिक पूजापाठ सहित २५६९ औं बुद्ध जयन्ती मनाएको छ। गत मे १२ सोमबारका दिन अल्डरसटस्थित एम्पायर हलमा काठमाण्डौं बौद्धस्थित सेचेन गुम्बाका श्रद्धेय दोर्जिन लामा निमा लुङ्गरिग रिन्पोछेको बिशेष उपस्थितिमा धार्मिक प्रवचनका साथ मनाईएको हो।
स्थानीय रस्मोर बोरो काउन्सिलका मेयर, काउन्सिलर, विभिन्न धार्मिक, सामाजिक एवं परोपकारी संघसंस्थाका प्रतिनिधि, समाजसेवी, उद्यमी, व्यापारीलगायत भक्तजनहरुको सहभागिता रहेको कार्यक्रममा दोर्जिन लुङ्गरिक रिन्पोछेले व्हाईट तारा लङ्ग लाईफ इम्वापरमेन्टको बिशेषता र महत्वबारे प्रवचन दिएका थिए । सो प्रचवनलाई श्रद्धेय लामा सेन प्राईसले अंग्रेजीमा र खेन्पो छेवाङ्गले नेपालीमा अनुवाद गरेको थिए। सो प्रवचन पश्चात श्रद्धेय दोर्जिन रिन्पोछेले उपस्थित भक्तजनहरुलाई आयुको अभिषेक (वाङ्ग) प्रदान गरिएको थियो।
दीप प्रज्ज्वलन संगसंगै शुभमंगल पाठबाट शुरु भएको कार्यक्रममा स्थानीय रसमोर बरो काउन्सिलका मेयर मारा मकुनुराले शुभकामना मन्तब्य दिएकी थिईन् । त्यस्तै, बीसीसी युकेका कार्यवाहक अध्यक्ष एवं बुद्ध जयन्ती समारोह आयोजक समितिका संयोजक रोबिन गुरुङले बीसीसी युकेको निमन्त्रणामा बुद्ध जयन्ती मनाउन आएका श्रद्धेय दोर्जिन रिन्पोछे, स्थानीय मेयर, धर्मगुरुहरुलगायत सम्पूर्ण आगन्तुकहरुलाई स्वागत गरेका थिए। साथै, बीसीसी युकेका उपाध्यक्ष मेजर हितमान गुरुङले दोर्जिन रिन्पोछेबारे जानकारी गराएका थिए। संगसंगै, बीसीसी युकेका उपाध्यक्ष क्याप्टेन देब घलेले बीसीसी युकेको बारेमा छोटो जानकारी दिदै हाल संचालन भैरहेका बीसीसी युके गुम्बाका परियोजनाहरुबारे जानकारी दिएका थिए।
कार्यक्रममा बीसीसी युके र बीसीसी युके आमाहरुकोतर्फबाट प्रवचनका लागि श्रद्धेय गुरु समक्ष मण्डला अर्पण गरेका थिए । त्यस्तै, बीसीसी युकेका प्रमुख सल्लाहकार मेजर खुशीमान गुरुङ र आमा प्रमुख जगना गुरुङलगायत आमाहरुले गुरुहरु संगसंगै प्रज्ञापरामिताको सुत्र पाठ वाचन गरेका थिए। कार्यक्रममा दोर्जिन रिन्पोछे,खेन्पो सेनाङ्ग, खेन्पो छेवाङ्ग,लोपेन भिमनाथ,लामा गुप्ती गुरुङ, धर्म गुरु सेन प्राईज, लामा दिनेश गुरुङ, सानो लामालगायत धर्म गुरुहरुको बिशेष सहभागिता रहेको थियो ।
दुई चरणमा सम्पन्न भएको उक्त बुद्ध जयन्ती कार्यक्रमको पहिलो चरणमा बीसीसी युकेको अल्डरसटस्थित गुम्बामा बिहान ९ बजे देखि ११ बजेसम्म गुम्बाका प्रमुख लामा खेन्पो सेनाङ्ग, लोपेन भिमनाथ योन्जनलगायत धर्म गुरुहरुले बुद्ध साधना पूजा गरेका थिए । सो अवसरमा एचक्युबीजी आर्म फोर्सेस्का मेजर अनिल गुरुङले गुम्बा परिसरभित्र लुंदा लगाएका थिए।
निःशुल्क खाना र चियापनको समेत व्यवस्था गरिएको उक्त बुद्ध जयन्ती कार्यक्रमलाई विभिन्न संघसंस्था र व्यक्तिहरुले भोजन तथा दीप प्रज्ज्वलनका लागि नगद तथा जिन्सी सामाग्री प्रदान गरेका थिए । त्यस्तै, आमा उपप्रमुख शारदा गुरुङले श्रद्धेय दोर्जिन लुङ्गरिग रिन्पोछेलगायत विशिष्ट पाहुनाहरु, धर्म गुरुहरु, उद्यमी, व्यापारी एवं दाताहरु, कार्यसमिति, आमाहरु, भोलिन्टीयरलगायत सबै सहभागी पाहुनाहरुलाई धन्यवाद ज्ञापन गरेकी थिईन् । बीसीसी युकेका कार्यवाहक अध्यक्ष रोबिन गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रमलाई बीसीसी युकेका महासचिव मेजर कुमार गुरुङ एमभिओले औपचारिक कार्यक्रमको संचालन गरेका थिए।